अहिले स्मार्टफोनबाट गर्ने कामको सूची लामो भइसकेको छ। अनगिन्ती कामहरु मोबाइलबाटै गर्ने चलन सुरु भएको छ।
फोन गर्न, मेसेज पठाउन, फोटो खिच्न, अडियो भिडियो रेकर्ड गर्न, इमेल पठाउन, समाचार पढ्न, सामाजिक सञ्जाल लगायत इन्टरनेट चलाउन, समय हेर्न, वा अन्य यस्तै थुप्रै काम एउटै मोबाइल सेटबाट गर्न सकिने भएको छ।
केहि वैज्ञानिकले स्मार्ट फोनबाट अर्को एउटा महत्वपूर्ण काम गर्न सकिने बिधिको विकास गरेका छन्।
उनीहरुले कुनै वस्तुमा झाडापखला गराउने दुई प्रकारका परजीवीका अण्डा (सिस्ट)हरु छन् की छैनन् भनी स्मार्टफोनबाटै पत्ता लगाउन सकिने प्रबिधिको विकास गरेका हुन्।
ललितपुर बागडोलस्थित काठमाडौ इन्स्टिच्युट अफ एप्लाइड साइन्सेसका अनुसन्धानकर्ताहरुले झाडापखाला गराउने दुई वटा सुक्ष्म परजीवीका अण्डाहरु पत्ता लगाउने माइक्रोस्कोपिक सिस्टमको विकास गरेका छन्।
डा. भानु न्यौपाने र डा. वसन्त गिरीको नेतृत्वको टोलीले स्मार्टफोन माइक्रोस्कोप विकास गरेका हुन्। सर्वव्यापी बन्दै गएको मोवाइल फोनलाई वैज्ञानिक प्रयोगमा कसरी ल्याउने भन्ने विषयमै उनीहरुको अनुसन्धान केन्द्रित छ।
‘यो परजीवी पत्ता लगाउने अन्य बिधि नभएको होइन तर त्यसका लागि सुविधासम्पन्न ल्याब र दक्ष जनशक्ति चाहिन्छ। त्यसैले अहिले अभ्यासमा रहेको प्रक्रिया महंगो छ’ न्यौपानेले नेपालखबरसँग भने, ‘हामीले विकास गरेको स्मार्टफोन माइक्रोस्कोप सरल र सस्तो छ।’
अमेरिकाबाट विद्यावारिधी गरेर फर्केका न्यौपाने त्रिभुवन विश्वविद्यालयमा रसायनशास्त्रका सहायक प्राध्यापक छन्। उनीहरुले विकास गरेको स्मार्टफोन माइक्रोस्कोपको १५ डलरसम्म पर्ने बताएका छन्। त्यो माइक्रोस्कोपलाई स्मार्टफोनमा जोडेपछि कुनै वस्तुमा त्यो परजीवीका अण्डा छन् कि छैनन् भनी पत्तालगाउन सकिन्छ।
यो प्रबिधि प्रयोगमा आएपछि कुनै वस्तु परीक्षणका लागि ल्याबसम्म लग्नु नपर्ने बरु मोबाइलमा जडित सो माइक्रोस्कोपबाट त्यहि वस्तु भएको ठाउँमैं पत्ता लगाउन सकिने उनीहरुको भनाइ छ। त्यसैगरी यसले दुर्गममा पनि स्वास्थ्य सेवालाई सहज बनाउनेछ। जस्तै कुनै दुर्गम जिल्लामा कार्यरत् स्वास्थ्यकर्मीले स्मार्टफोनमा जडित सो माइक्रोस्कोपबाट त्यहिँ नै कुनै वस्तुमा सो परजीवी भए नभएको परीक्षण गर्न र सोहिअनुसार औषधिउपचार गर्न सक्नेछन्।
‘दुर्गम क्षेत्रमा पनि यसको प्रयोग गर्न सकिन्छ। हामीले विकास गरेको सिस्टम प्रयोग गरेर तरकारी, फलफुल र पानीमा झाडा पखाला गराउने ती दुई प्रकारका परजीवी छन कि छैन भनेर पत्ता लगाउन सकिन्छ,’ गिरीले भने, ‘झाडापखाला नियन्त्रणका लागि सस्तो र विश्वसनीय मात्रै नभएर सीमित स्रोत साधन भएको स्थानमा पनि सजिलै प्रयोग गर्नसकिने बिधिको आवश्यकता यसले पुरा गर्ने विश्वास छ।’
क्राइप्टोस्पोरिडियम र जिआरडिया नामका दुई सुक्ष्म परजीवीलाई विश्वभर झाडापखलाको प्रमुख कारण मानिन्छ।
न्यौपाने र गिरीको नेतृत्वमा विकास गरिएको सो सिस्टमबारे अमेरिकाबाट प्रकाशित हुने प्लस नेगलेक्टेड ट्रपिकल डिजिज जर्नलमा लेख प्रकाशित गरिएको छ। यो अनुसन्धानमा रेटिना श्रेष्ठ, रोजिना दुवाल, संजीव वाग्ले र समिक्षा पोखरेलको पनि सहभागिता थियो।
‘यो अनुसन्धानमा ब्याचलर गर्दै गरेकोदेखि पोस्ट डकसम्मका अनुसन्धानकर्ताको संलग्नता थियो,’ गिरीले भने।
विश्व स्वास्थ्य सगठनकाअनुसार विश्वमा प्रत्येक वर्ष १ अर्ब ५० करोड मानिसमा झाडापखलाको समस्या परेको पाइन्छ।
विकासोन्मुख देशहरुमा ५ वर्षभन्दा कम उमेरका ३५ लाख बालबालिकाको मृत्यु हुने गरेको छ। जसमा ७० प्रतिशतभन्दा बढी झाडापखालाका घटना जैविक प्रदुषणका कारण भएको पाइन्छ।
त्यसरी झाडापखाला हुन नदिन र मृत्युलाई रोक्नका लागि खाद्यान्न तथा पानीमा झाडापखाला गराउने परजीवीका अण्डा (फुल)हरु छन् की छैनन् भनेर पत्ता लगाउने काम महत्वपूर्ण हुन्छ।
झाडापखाला गराउने परजीवीका अण्डाहरु शरीरमा प्रवेश गरेपछि तिनले जीवन पाउँछन र मानिसलाई बिरामी बनाउँछन्।
तर यस्तो अण्डाहरु आँखाले देख्न नसकिने निकै साना हुन्छन्। ती फुलहरुको आकार ४–५ माइक्रोमिटर हुन्छ। मानिसको रौँको चौडाईको व्यास औसतमा ७५ माइक्रोमिटरको हुन्छ। एक मिटर बराबर एक हजार मिलिमिटर हुन्छ भने एक मिलिमिटर बराबर एक हजार माइक्रोमिटर हुन्छ।
अनुसन्धानको क्रममा स्मार्टफोन माइक्रोस्कोपबाट काठमाडौको बजारमा किनेका विभिन्न सात प्रकारका तरकारीको १९७ नमूना र बिष्णुमति खोलाबाट पानीका १८ वटा नमूना संकलन गरिएको थिए। तिनमा परीक्षण गर्दा ४२ प्रतिशत तरकारीमा र ३९ प्रतिशत पानीमा क्राइप्टोस्पोरिडियमको अण्डाहरु भेटिएको थियो।
त्यसैगरी ३१ प्रतिशत तरकारी र ३३ प्रतिशत पानीमा जिआरडियाका अण्डाहरु भेटिएको थियो।
‘हामीले गरेको अध्ययनलाई उच्चस्तरको ल्याबमा पनि परीक्षण गराएका थियौं,’ गिरीले भने, ‘दुवैमा आएको नतिजा मिलेको छ।
हामीले जर्नलमा पनि यो कुरा उल्लेख गरेका छौं। काठमाडौको तरकारी राम्रोसँग नपकाइ खाने हो भने झाडापखालाको संभावना धेरै छ। काँचो वस्तु खाँदा त झन् बढि जोखिम हुन्छ त्यसैले सलाद खानेले विशेष ध्यान दिनुपर्छ।’
अनुसन्धानमा संलग्नले आफुहरुले विकास गरेको माइक्रोस्कोपिक सिस्टमको पेटेन्ट दर्ता गर्ने जनाएका छन्।
‘यसका लागि २० देखि ३० हजार अमेरिकी डलर लाग्छ,’ गिरीले भने, ‘स्मार्टफोनलाई वैज्ञानिक अनुसन्धानको विषयमा कस्तो कस्तो गरी प्रयोग गर्न सकिन्छ भनेर हाम्रो संस्थाले अनुसन्धान गर्दै जानेछ।’
गिरीले अहिले बनाएको स्मार्टफोन माइक्रोस्कोपको प्रयोग म्यानुअल्ली (एकएक गरी) गरिदै आएको बताए। ‘अहिलेसम्म परजीवीको पहिचान र गणना गर्नका लागि म्यानुअल्ली गर्दै आएका छौं,’ गिरीले भने, ‘नामी (नेपाल एप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट)का विशेष खनालसँगको सहकार्यमा मेसिनले परजीवीको पहिचान र गणना गर्ने स्मार्टफोन सिस्टमको विकास गर्न काम भैरहेको छ।’
गिरीले स्मार्टफोन माइक्रोस्कपले काम गर्ने प्रक्रिया झनै चाँडो र बढी विश्वसनीय हुने विश्वास व्यक्त गरे।
अर्का अनुसन्धानकर्ता न्यौपानेले आफूले बनाएको प्रविधिको व्यावसायिक प्रयोग गर्नका लागि आवश्यक प्रक्रिया अघि बढ्ने बताए।
‘यो सिस्टमको विकास गर्ने महत्वपूर्ण काम सकिएको छ। त्यसबाट धेरै विकल्पहरु खुला भएका छन्। हामी आफै व्यावसायिक रुपमा यसलाई लैजाने की अन्यसँग सहकार्य गरेर जाने भन्ने विषयमा अब काम सुरु हुनेछ,’ न्यौपानेले भने।
‘मोवाइलमा क्यामेरा आएपछि फोटो खिच्नका लागि क्यामेरा बोक्नुपर्ने झन्झटबाट मुक्त भएको थियो। त्यसरी नै माइक्रोस्कोप पनि त्यस्तो होस् भन्ने चाहन्छौं,’ गिरीले भने, ‘दुर्गम क्षेत्र र विद्यालयहरुमा पनि यसको प्रयोग होस भन्ने चाहन्छौं।’
प्रतिक्रिया