ad ad

समाज


एसईई नतिजा आफ्नै विद्यालयमा छ, बोर्डले प्रमाणित मात्रै गर्छ

एसईई नतिजा आफ्नै विद्यालयमा छ, बोर्डले प्रमाणित मात्रै गर्छ

उजिर कार्की
भदौ १, २०७७ सोमबार १२:३०,

चैत ६ गतेबाट सुरु हुने एसईई परीक्षाका लागि अधिकांश विद्यार्थी परीक्षा केन्द्र पुगिसकेका थिए। तर ५ गते साँझ उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथाम उच्चस्तरीय समन्वय समितिले एसईई परीक्षा स्थगित गर्ने निर्णय गर्‍यो।

परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरु भोलिपल्ट घर फर्किए। त्यसपछि एसईई हुने नहुने अनिश्चितता लामो समयसम्म रह्यो। अन्ततः सम्बन्धित विद्यालयले नै मूल्यांकन गर्ने र अंक दिने गरी परीक्षा बोर्डले मापदण्ड पठायो।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ। यस पटक हुँदै नभएको परीक्षाको नतिजा कसरी सार्वजनिक गरिन्छ भन्ने प्रश्न धेरैको मनमा छ।

पयसपटक बोर्डले बनाएको मापदण्डका आधारमा यसपटक सम्बन्धित विद्यालयले नै विद्यार्थीलाई अंक प्रदान गरेको छ। सो मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्ने मात्रै हो।

विद्यार्थीको नतिजा सम्बन्धित विद्यालयमै उपलब्ध छ। प्रमाणित भइसकेपछि मात्रै विद्यालयले सार्वजनिक गर्नेछन्। कक्षा १० मा देशभर ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी छन्।

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले कक्षा ११ पढ्नका लागि निकालिएको नतिजा मात्रै भएकाले यसलाई ठूलो रुपमा लिन नहुने बताए।

सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको ३ सदस्यीय मूल्यांकन समितिले आन्तरिक मूल्यांकनका आधारमा कक्षा १० का विद्यार्थीको नतिजा तयार गरिसकेको छ। विद्यालयले पठाएको सोही नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्ने छ।

मूल्यांकनका लागि राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड तय गरेको थियो। विद्यालयका प्रधानाध्यापक सहित सम्बन्धित कक्षा शिक्षक र नियुक्तिका आधारमा जेष्ठ शिक्षक रहने गरी मूल्यांकन समिति गठन गरेर नतिजा तयार गरिएको थियो। विद्यार्थीको विवरण झुठा ठहरेमा वा गलत विवरण पेस गरेको पाइए मूल्यांकन समिति नै जवाफदेही हुने गरी कार्यविधि बनाईएको थियो ।

माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका पछिल्लो पटकको परीक्षाको अंकलाई विषयगत पूर्णाङ्क अन्तरगत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने कार्यविधिमा उल्लेख व्यवस्था छ। विद्यार्थीको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनु पर्ने व्यवस्था गरिएको छ।

विद्यालयले यी मापदण्ड पूरा गरेर आफ्नो विद्यालयको कोड एक्सेल फरम्याटमा विद्यार्थीको प्राप्ताङ्क लेखी मूल्याँकन समितिबाट प्रमाणित गराई असार २० भित्र बुझाएका थिए।

नतिजा प्रकाशन पश्चात पुनर्योग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडवृद्धि परीक्षा यस वर्ष सञ्चालन हुने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .