ad ad

समाज


ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमण पुष्टि

ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमण पुष्टि

वाशुदेव मिश्र
साउन २१, २०७७ बुधबार १४:२४,

गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार गण्डकीमा १० जनामा कोरोना संक्रमण देखिएको जानकारी दियो। पोखरा क्षयरोग केन्द्रमा गरिएको परीक्षणबाट एकैपटक १० जनामा संक्रमण देखिएको खबरले आम मानिसमा समुदायमा कोरोना फैलिएको हो कि भन्ने आशंका बढायो।

आम मानिसको आशंका केही हदसम्म तब सत्य भयो, जब पोखरामा ड्युटीमा रहेका एक प्रहरीको पीसीआर रिपोर्ट नै पोजेटिभ देखियो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार नदीपुरको बिटमा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएसँगै नदीपुर बिटमा कार्यरत ३ जनालाई नै आइसोलेसनमा राखिएको छ। ड्युटीमा खटिएका प्रहरीमा कसरी संक्रमण देखियो भन्ने एकीन नभएको प्रवक्ता हमालले बताए। उनका अनुसार सामान्य ज्वरो देखिएपछि उनको स्वाब संकलन गरिएको थियो।

‘अहिले उनलाई अस्पताल पठाइएको छ’, प्रवक्ता हमालले भने, ‘उनी कहाँ गए, कसरी संक्रमित भए र उनको सम्पर्कमा को–को आए भन्ने खोजी भइरहेको छ।’

प्रवक्ता हमालका अनुसार ड्युटीमै भएका प्रहरीमा संक्रमण देखिएपछि बुधबार जिल्ला प्रहरी कार्यालय कास्की मातहत् कार्यरत जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ती प्रहरीको १११ कार्यरत प्रहरीको स्वाब संकलन गरिएको छ।

‘हामी मातहतका जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय रामबजार, बैदाम, बगर, छोरेपाटन,डाँडाकोनाक, मजुवासहित सबै ठाउँमा कार्यरतको स्वाब लिइएको हो’, उनले भने, ‘अब उनको  (संक्रमित प्रहरी) को सम्पर्कमा आएको भए अरु सचेत हुनुपर्छ, हुनसक्छ कुनैबेला म पनि चेकिङको बेला उसको सम्पर्कमा पुगेको हुनसक्छु, ऊ नै यहाँ (जिल्ला प्रहरी कार्यालय) आएको पनि हुनसक्छ।’

उनले आफू भने स्वस्थ रहेको बताए। पोखराको नदीपुरमा पोखरा महानगरले सञ्चालनमा ल्याएको महिला क्वारेण्टिन छ। प्रहरी स्रोतका अनुसार क्वारेण्टिनमा जाने क्रममा नै उनी संक्रमणमा परेको आशंका गरिएको छ।

यसअघि छिमेकी जिल्ला स्याङ्जामा प्रहरी प्रमुख एसपीसहित ३८ जना प्रहरीमा संक्रमण देखिएको थियो। प्रहरीमा संक्रमण देखिएको कास्कीमा भने यो पहिलो घटना हो। कास्कीमा डाक्टर र नर्समा संक्रमण देखिँदा उनीहरुका परिवार पनि संक्रमित भएको रेकर्ड भने रहेको छ।

यता हालसम्म गण्डकीमा १५५५ जनालाई संक्रमण देखिएको छ। पोखरा महानगरमा बुधबार १० जनामा संक्रमण देखिँदा बागलुङको गलकोट र जैमिनीका १/१ जनामा संक्रमण देखियो। पोखरा महानगरपालिकामा नै संक्रमण बढेसँगै त्रास पनि बढेको छ।

यद्यपि, गण्डकी स्वास्थ्य निर्देशनलायले संक्रमितहरु सबैलाई आइसोलेसनमा लगिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .