ad ad

समाज


मिर्गौला बेच्ने सन्तोषको बयान: १० लाख दिन्छौँ, काम खोजिदिन्छौँ भनेपछि मानेँ

मिर्गौला बेच्ने सन्तोषको बयान: १० लाख दिन्छौँ, काम खोजिदिन्छौँ भनेपछि मानेँ

उजिर कार्की
साउन २१, २०७७ बुधबार १३:३२,

प्रहरी र डाक्टरसमेतको मिलेमतोमा नक्कली नातासम्बन्ध कायम गरी पुरानाे मेडिकल कलेज चितवनमा अवैध रुपमा मिर्गौला प्रत्यारोपण गरिएको भन्दै हाल मुद्दा चलिरहेको छ। मिर्गौला दिने खोटाङका सन्तोष राईले गिरफ्तारीपछि पैसाको लोभमा आफूले मिर्गौला बेचेको बयान प्रहरीसमक्ष दिएका छन्।

सरकारी वकिलको कार्यालय ललितपुरले सो घटनामा २० जनालाई अभियुक्त बनाउँदै मुद्दा दर्ता गरेको छ। यीमध्ये ११ जनालाई प्रमुख अभियुक्त र ९ जनालाई मतियारको रुपमा मुद्दा लगाइएको छ।

जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएसँगै अदालतले बयान लिने काम सुरु गर्नेछ। अवैध मिर्गौला प्रत्यारोपण प्रकरणमा १३ जना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले १२ जनालाई पक्राउ गरेको थियो।

ललितपुरका ५० वर्षीय पुरुषलाई राईले १० लाख रुपैयाँमा आफ्नो मिर्गौला बिक्री गरेका थिए। तर पूरै रकम नपाएपछि उनी आफैँले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए।

यस्तो छ उनले प्रहरीसमक्ष दिएको बयानः
२०७५ सालतिर फेसबुकमार्फत भोजपुरकी रेश्मा नाम गरेकी महिलासंग चिनजान भयो। फेसबुकमा उनीसँग दुःखसुखका कुराकानी हुन्थ्यो। त्यही क्रममा उनले २०७५ सालको चैत महिनातिर १ जना पुरुषलाई मिर्गौला चाहिएको छ, तपाईंले दिने भए राम्रो पैसा दिन्छ भनिन्।

मेरो आर्थिक अवस्था समेत राम्रो छैन। म गाडी चलाउँछु। पैसा भए एउटा पुरानो कार किनी आफू पनि चलाउने र होटलमा भाडामा लगाउने मनसाय थियो। त्यसैले पैसाको लोभमा परी मैले रेश्मालाई मिर्गौला कहाँ र कसरी दिनुपर्ने हो भनेर चासो राखेँ।

उनले सम्बन्धित मानिसलाई भेटाइदिउँला भनिन्। २०७६ सालको वैशाख पहिलो हप्तातिर मलाई रेश्माले काठमाडौँ कोटेश्वरमा एउटा कफी सपमा बोलाइन्। उनीले मिर्गौला लिने व्यक्तिलाई पनि ल्याएर मसँग भेट गराइन्।

जमुनाराज भण्डारीले मेरो दाजुको मिर्गौलाले काम गर्न छाडेको छ, उहाँलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने छ। एउटा मिर्गौला भएपनि केही फरक पर्दैन। धेरै मानिसहरुले मिर्गौला झिकेका छन्। तपाईंको मिर्गौला झिकी मेरो दाजुलाई प्रत्यारोपण गरौँ। प्रत्यारोपणपछि तपाईंलाई नगद चार लाख ५० हजार दिऊँला भनिन्।

मैले हुँदैन भनेपछि उनले ठिकै छ म तपाईंलाई ८ लाख रुपैयाँ दिऊँला भनिन्। उनले मिर्गौला प्रत्यारोपण भइसकेपछि तपाईंले सक्ने अनुसारको काममा पनि लगाइदिन्छु भनेकी थिइन्।

उनीहरुले तपाईंलाई कसैले मिर्गौला कसलाई दिन लागेको भनेर सोधेमा मेरो आफ्नै मामालाई दिन लागेको हो भन्नु भनेका थिए। तपाईंले आफ्नै नामबाट मिर्गौला दिन नमिल्ने भएकोले रिजनवीर जोशीको नामबाट मिर्गौला दिनुपर्छ पनि भने।

तपाईं कुनै सरकारी कार्यालयमा जानु पर्दैन, मिर्गौला प्रत्यारोपणका लागि कागजातहरु बनाउने जिम्मा हाम्रो भयो। तपाईंलाई कसैले नाम थर सोध्यो भने रिजनवीर जोशी हो भन्नू, आमाको नाम गीतादेवी बतास जोशी र बुबाको नाम पूर्णवीर हो भन्नू भनेर पनि सिकाएका थिए।

मेरो आर्थिक अवस्था अत्यन्त नाजुक भएको कारण रकम प्राप्त हुने लोभमा परी मैले रकम पाउने भए हुन्छ भनेँ। त्यो दिन जमुनाले मेरो फोन नम्बर लिएर गएकी थिइन्।

त्यसपछि मलाई लगातार फोन गरी ५/६ दिन पछि काम हुन्छ, मिर्गौला प्रत्यारोपण अगाडि तपाईंको र मेरो दाजुबीचको रगत परीक्षण गर्नुपर्छ, दिन मिल्ने रहेछ भने सीधै पुरानो मेडिकल कलेज चितवन जाने हो भनिन्।

त्यसपछि जमुना राजभण्डारीसँग वैशाख १५ गते नोबेल अस्पताल पुरानो बानेश्वरमा गएँ। त्यहाँ मेरो रगत परिक्षण गरियो। रिपोर्ट आइसकेपछि पुनः काठमाडौँ मेडिकल कलेज सिनामंगलमा लगेर थप जाँच गरे।

अनि ललितपुरमा रहेको आरोग्य स्वास्थ्य केन्द्र र महाराजगञ्ज एरियाको अस्पतालमा लगी मेरो भिडियो एक्सरे, रगत, पिसाब, दिसा लगायतका सम्पूर्ण जाँच गरे। अन्तिममा मिर्गौला दिन मिल्ने भनेर रिपोर्ट आयो।

त्यसपछि तत्कालका लागि खर्च भन्दै १० हजार रुपैयाँ मलाई दिए र चितवन जान तयार भएर बस्नू भने। यो कुरा कसैलाई नगर्नू, हल्ला भयो भने प्रहरीले तपाईं हामीलाई पक्राउ गर्छ भनेका थिए। मैले सो कुरा आफ्नो परिवारलाई समेत भनिनँ। उनीहरुले भने अनुसार नै तयारी अवस्थामा बसेँ।

२०७६ जेठ २० गते जमुना राजभण्डारीले फोन सम्पर्क गरी आज काठमाडौँबाट चितवन जानुपर्छ, तपाई कहाँ हुनु हुन्छ भनेर सोधिन्।

म कलंकीमा छु भनेँ। हामी सबै जना गाडीमा आउदै छौँ तयार हुन भनिन्।

मिर्गौला लिने व्यक्ति, उनकी श्रीमती, छोरा, बहिनी जमुना राजभण्डारी, गीतादेवी बतास जोशी र पूर्णवीर जोशीसँगै म पनि पुरानो मेडिकल कलेज चितवनमा पुग्यौं।

मलाई क्याबिनमा भर्ना गरी मिर्गौला प्रत्यारोपणपूर्व गरिने भिडियो एक्सरे, रगत, पिसाब, दिसा लगायतका जाँच गरे र सात दिनसम्म राखे।

२०७६ जेठ २६ गते मिर्गौला प्रत्यारोपण समितिमा रहेका पुरानो मेडिकल कलेज चितवनका कर्मचारी, जिल्ला प्रशासन कार्यालय चितवनका डाक्टरहरु, कानुनी सल्लाहकार, अस्पतालका कर्मचारीहरु आए।

मिर्गौला लिने व्यक्तिले पेस गरेको कागजातहरु हेरी तपाईं को नाम के हो भनेर उनीहरुले सोधे। मैले जमुना राजभण्डारीले सिकाएअनुसार मेरो नाम रिजनवीर जोशी हो, मेरो बुबाको नाम पूर्णवीर जोशी र आमाको नाम गीतादेवी बतास जोशी हो भने। मलाई थप केही सोधपुछ गरेनन्। म आफ्नै बेडमा बसिरहेँ। २०७६ जेठ २७ गते मेरो शल्यक्रिया हुने भयो। तर, मलाई अत्याधिक डर लाग्यो र मैले मिर्गौला दिन्नँ भनेँ।

जमुना राजभण्डारीले सबै प्रक्रिया पूरा भइसक्यो, अब तपाईंले त्यसो नभन्नु, बरु म तपाईंलाई २ लाख रुपैयाँ थपेर १० लाख रुपैयाँ दिन्छु भनिन्।

उनको आश्वासनपछि २०७६ जेठ २७ गते दिनको ११ बजेको समयमा मेरो मिर्गौला झिकियो।

उनीहरुले केही समयको लागि फोन अफ गरी बस्नू, बाहिरतिर कहींकतै ननिस्कनु र आफ्नो मिर्गौला निकालेको कुरा कोही कसैलाई नभन्नु भनेका थिए। नत्र तिमीलाई प्रहरीले पक्रेर जेलमा राख्छ भनेकोले मलाई डर लाग्यो। मोबाइल पनि बन्द गरेर बसेँ।

करिब १ हप्तापछि अस्पतालबाट डिस्चार्ज भएँ। तर, मेरो घाउ पूरै निको भएको थिएन। काठमाडौँस्थित डेरा जान गाह्रो हुने भएपछि उनीहरुले नै मलाई चितवनको एउटा होटलमा ३ दिनसम्म राखे।

मिर्गौला लिने व्यक्ति, उनकी श्रीमती, अर्का एक व्यक्ति र म त्यहीँ बसेका थियौँ। मैले मिर्गौला दिए बापतको पैसा दिएका थिएनन्। त्यसपछि मैले जमुना राजभण्डारीसँग फेसबुक म्यासेन्जर र फोन सम्पर्क गरी पैसा चाहियो भनेँ।

एनआईसी एसिया बैंकको शाखा कार्यालय गोल्फुटारमा रहेको मेरो खातामा विभिन्न मितिमा गरी ८ लाख ६७ हजार रुपैयाँ दिए। उनीहरुले भने अनुसार १ लाख ३३ हजार रुपैयाँ भने मैले पाउन बाँकी थियो।

यो पनि: २८ लाख खर्चेर नक्कली भान्जा खडा गरी यसरी गरियो अवैध मिर्गौला प्रत्यारोपण

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .