ad ad

समाज


चीनमा फेरि जाग्न थाल्यो कोरोना, बढ्याे चिन्ता

चीनमा फेरि जाग्न थाल्यो कोरोना, बढ्याे चिन्ता

नेपालखबर
साउन १३, २०७७ मंगलबार १५:५७,

चीनमा फेरि कोरोना संक्रमण फैलिन थालेको छ। कोरोना महामारी नियन्त्रण भएको भनिएको लामो समयपछि पुनः संक्रमित देखिन थालेपछि चीन सरकार चिन्तित बनेको छ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो समय चीनको उत्तरपूर्वी तटीय सहर डालियानमा देखापरेको कोरोना संक्रमण फैलिँदै अहिले देशका ५ प्रान्तको ९ सहरमा पुगिसकेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार कोरोना संक्रमण फेरि जाग्न थालेपछि लकडाउनजस्ता प्रतिबन्ध पुनः सुरु गर्नुपर्ने देखिएको चिनियाँ अधिकारीले बताएका छन् ।

गत वर्ष (सन् २०१९) अन्तिमतिर चीनमा सुरु भएको कोरोना संक्रमण लकडाउनलगायत प्रतिबन्ध लगाइएपछि नियन्त्रणमा आएको थियो।

तर केही दिनयता चीनका विभिन्न स्थानमा कोरोना संक्रमण पुनः देखापर्न थालेको हो।

मंगलबार मात्रै चीनमा ६८ जना नयाँ संक्रमित भेटिएका हुन्। यो संख्या अप्रिलयताकै ठूलो भएको चिनियाँ अधिकारीले जनाएका छन्।

त्यसमा पनि ५७ संक्रमित सिन्जियाङ प्रान्तका मात्र हुन्। यस्तै लियोनिङ प्रान्तको पोर्ट सिटी डालियानमा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो हप्ता चीनस्थित सामुद्रिक खाना प्रशोधन गर्ने एक कारखानामा धेरै जनामा कोरोना संक्रमण भएको छ। डालियान सहरमा मात्रै नयाँ संक्रमित ४४ जना भइसकेका छन्।

जहाँ एक जना लक्षणबिनै संक्रमित भएको पाइएपछि स्थानीय अधिकारीले बाहिरबाट आउने मानिसको कडा निगरानी गर्न थालेका छन् ।

मंगलबार बेइजिङमा पनि एक जना संक्रमित फेला परेका छन्। उनले डालियानकै एक जना लक्षण नभएका संक्रमितसँग सम्पर्क गरेका थिए। डालियानमा मंगलबार पुष्टि भएका १२ संक्रमितमा कोरोनाका कुनै लक्षण थिएनन्।

चीनमा अहिले पनि ३ सय ९१ कोरोना संक्रमित अस्पतालमा छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .