ad ad

समाज


नयाँ आईजीपी थापाको टेबलमा आयो १४७ योजना, सिधै कार्यान्वयनमा जाने

 नयाँ आईजीपी थापाको टेबलमा आयो १४७ योजना, सिधै कार्यान्वयनमा जाने

उजिर कार्की
साउन ९, २०७७ शुक्रबार १२:८,

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीका लागि १ सय ४७ कार्ययोजना तयार गरेका छन्।

उनले आफ्नो योजनामा सामूहिक निर्णय र प्रणालीलाई प्राथमिकता दिँदै कार्ययोजना तयार गरेको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ। उनले नेपाल प्रहरीले कार्ययोजना बनाउनका लागि ९ सदस्यीय टोली बनाएका थिए।

टोलीले महानिरीक्षक थापालाई नेपाल प्रहरीले गर्नुपर्ने काम र प्राथमिकता तयार गरेर बुझाएको छ। यसअघिका महानिरीक्षकले आफ्नो कार्यकालका प्राथमिकता सार्वजनिक गर्ने भएपनि नवनियुक्त आईजीपी थापाले भने आफ्नो नभएर नेपाल प्रहरीको कार्ययोजना बनाएका छन्।

यसअघिका आईजीपी ठाकुर ज्ञवालीले आफ्ना कार्ययोजना सार्वजनिक गरेनन्। उनी ५ महिनाका लागि मात्रै आईजीपी थिए। उनको छोटो कार्यकाल लकडाउन व्यवस्थापनमै बित्यो। यसबाहेक प्रायः आईजीपीले आफ्ना योजना सार्वजनिक गर्छन्। तर महानिरीक्षक थापाले आफ्नो कार्यकालमा संगठनले गर्ने योजना बनाएका छन्।

उनले टोलीलाई भनेका छन्, ‘महानिरीक्षकको होइन, नेपाल प्रहरीको कार्ययोजना बनाउनुस्। सबै काम मैले गर्ने होइन, सिंगो प्रहरीले गर्ने हो।’

सो टोलीले महानिरीक्षकको कार्ययोजना भनेर एक पटक आईजीपीलाई बुझाएको थियो। तर, आईजीपी थापाले त्यसलाई सच्याउन निर्देशन दिएका थिए।
‘पूरा गर्नै नसकिने योजना नबनाउनू, जे पूरा गर्न सकिन्छ, त्यो मात्रै बनाउनू, त्यसको पनि टाइमलाइन र श्रोत साधानको व्यवस्था कसरी गर्ने, स्पष्ट हुनुपर्छ,’ उनले निर्देशन दिएका थिए।

त्यसपछि कार्यदलले मुख्य १४ विषयमा १ सय ४७ कार्ययोजना बनाएको हो। श्रोतका अनुसार आईजीपी थापाले यो योजनामाथि अहिले मातहतका निकायसँग छलफल गरिरहेका छन्। योजना बनाउनुपहिले नै उनले एआईजी र डीआईजीहरुसँग यसबारे सल्लाह गरेका थिए।

‘व्यक्ति कतिन्जेल रहन्छ टुंगो हुँदैन, संगठन जीवन्त रहन्छ, हामीले संगठनको नीति नियम अनुसार काम गर्ने हो, त्यसैले सबैको भलो गर्छ,’ आईजीपी थापाले नेपालखबरसँग भने।

आईजीपी थापा अरुझैँ चर्चामा रहन नरुचाउने स्वभावको रहेको प्रहरी अधिकारीहरु बताउँछन्।

‘उहाँले कार्ययोजना सार्वजनिक गर्नु हुन्न, सीधै कार्यन्वयनमा पठाउनुहुन्छ,’ एक उच्च अधिकारीले भने, ‘उहाँ अहिले संगठन चुस्त बनाउन गम्भीर भएर काम गरिरहनुभएको छ।’

यसअघि महानिरीक्षक सर्वेन्द्र खनालले संगठनलाई नमुना बनाउन भन्दै १० प्राथमिकता सार्वजनिक गरेका थिए। तर त्यसो भएन। खनाल विवादित आईजीपका रुपमा बिदा भए।

वर्तमान आईजीपी थापाले यसअघिका ५ आईजीपीसँग सचिवालयमा रहेर काम गरिसकेका छन्। त्यसैले उनलाई राम्रो अनुभव रहेको प्रहरी अधिकारीहरु बताउँछन्।

लकडाउन खुलेपछि बढेको सुरक्षा चुनौती सामना गर्ने योजना आईजीपी थापाले बनाएका छन्। त्यस्तै, प्रहरी समायोजनमा जाँदैछ, त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने पनि उनको योजनामा समेटिएको छ।

कार्ययोजना कार्यन्वयनका लागि सहजीकरण गर्न उनले ८ जनाको विशेष टिम बनाउँदैछन्। जसले नियमित प्रगतिको अनुगमन गर्नेछ र थापालाई रिपोर्टिङ गर्नेछन्।

यस्तो टिममा छुट्टै व्यक्ति रहनेछैनन्। अन्यत्र पनि जिम्मेवारी पाएका र विषयमा विशेष दखल भएका प्रहरी अधिकृतहरु उनको यो टिममा अटाउने छन्। जसले महानिरीक्षकका हरेक काममा सहजीकरण गर्नेछन्।

कार्ययोजना तयार गर्ने एक सदस्य भन्छन्, ‘कार्ययोजना सधैं एउटै हुँदैन, समय अनुसार परिवर्तन गर्नुपर्ने हुन्छ। त्यो टिमले कार्यन्वयनको लागि सहजीकरण गर्छ र समयमा काम भए नभएको फलोअप गरिरहन्छ।’

आईजीपी थापाको नियुक्ति विवादरहित भएकाले अब प्रहरीमा थिति बस्ने अपेक्षा धेरैले गरेका छन्। उनले संगठनलाई एउटा प्रणालीमा चलाएन सके भने त्यसले संगठनको आत्मबल बढाउनेछ।

नेपाल प्रहरीका दुई अतिरिक्त महाननिरीक्षक (एआईजी) बढुवासँगै लयमा देखिएका आईजीपी थापाको कार्यकाल सकरात्मक बाटोमा अगाडि बढेको छ।

प्रहरी बदनाम बनाउने मुद्दा बिट मार्न अग्रसरता
नेपाल प्रहरीले गर्ने हरेक राम्रा कामलाई एउटा असफल अनुसन्धानले झस्काइरहन्छ। कन्चनपुरकी निर्मला पन्तको हत्या प्रहरण टुंगोमा नपुग्दा दुईवर्षदेखि प्रहरीमाथि प्रश्न उठ्दै आएको छ।

आईजीपी थापाले सो मुद्दालाई टुंग्याउने तयारी थालेका छन्। उनले यो मुद्दालाई किनारा लगाउन निर्देशन दिइसकेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी सहकुल थापासँग छलफल गरेर थापाले मुद्दा टुंगोमा पु¥याउन निर्देशन दिइसकेका छन्।

प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको यो मुद्दामा थप सहयोगका लागि सीआईबीले टोली पठाउँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .