ad ad

समाज


कपडा सोध्दै पसल पुगेका ‘ग्राहक’ले जब छोराका ‘हत्यारा’ भेटाइदिए

कपडा सोध्दै पसल पुगेका ‘ग्राहक’ले जब छोराका ‘हत्यारा’ भेटाइदिए

उजिर कार्की
साउन ४, २०७७ आइतबार १४:५,

भारतीय नागरिक वासुदेव गुप्ताको न्युरोडमा कपडा पसल छ। आइतबार बिहानै कपडा सोध्न अपरिचित ग्राहक पुगे।

वासुदेवका जेठा छोरा पसलमै थिए। तर ती ग्राहकले वासुदेवलाई नै खोजे। छोराले ‘बुबा तपाई नै आउनु अरे,’ भन्दै फोन गरेर वासुदेवलाई बोलाए।

लकडाउनले पसल खासै चलेको छैन। पसल नचले पनि उनीहरु ग्राहक कुर्दै बस्न थालेको १५ दिन जति भयो। व्यापारमा सुक्खा लागेका बेला ग्राहकले खोजेको भनेपछि उनी तुरुन्तै पसल आइपुगे।

छोरासँग कपडाको कुरा गर्ने ग्राहकले उनीसँग भने अर्कै एउटा पुरानो प्रसंग कोट्याउन थाले। जसले वासुदेवलाई केही शान्ति मिल्यो।

वासुदेवका कान्छा छोरा रोहितको १३ वर्ष पहिले काठमाडौंमा हत्या भएको थियो। हत्या वासुदेवकै सालाले गरेका थिए।

छोराका हत्यारा पक्राउ गरेको खबर वासुदेवलाई सुनाउन उनकै पसल पुगेका थिए प्रहरी। वासुदेवलाई नदेखेपछि कपडा किन्ने निउँ पारेर भेट्न खोजेका थिए।

प्रहरीले वासुदेवका छोराको हत्यामा संलग्न राजेश गुप्तालाई पक्राउ गरेको सुनाए। वासुदेवले सोधे, ‘अहिले कहाँ छ त त्यो?’

‘हाम्रो कार्यालयमा छ, आज १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछौं,’ ती प्रहरीले भने। यो खबर सुनाएर प्रहरी फर्किए।

कार्यालय खुल्नासाथ जेठा छोरालाई लिएर वासुदेव प्रहरी कार्यालय बानेश्वर पुगे। वासुदेवकै आग्रहमा अपराध महाशाखाले साला भेनाको भेट गरायो।

वासुदेवले सालालाई सोधे, ‘किन मारिस भान्जालाई?’

राजेशबाट केहि जवाफ आएन।

‘दुई लाखको लागि मेरो छोरो मार्नुपर्थ्याे?’ वासुदेवले फेरि सोधे। यसको पनि जवाफ दिएनन्।

प्रहरीले एउटा कोठामा राजेशलाई पत्रकारमाझ सार्वजनिक गरिरहेको थियो। अर्का छोरासँगै अर्को कोठामा बसेका वासुदेव भन्दै थिए, ‘अब म मर्दा पनि सजिलै सास जान्छ।’

शारिरिकरुपमा कमजोर अवस्थामा रहेका उनमा निकै छटपटी भाव झल्किन्थ्यो। मनमा अनेक कुरा खेलिरहेको जस्तो अस्थिर देखिन्थे।

प्रहरीले उनीसँगै केही सोधिरहेका थिएनन्। तर उनी आफैं व्यक्त गरिरहेका थिए, ‘सबैभन्दा ट्यालेन्ट थियो, सरकारी स्कुल पढे पनि छोरा मध्यको चलाख त्यही थियो। यति दिनकै लागि आएको रहेछ, लेखन्तै यसको यत्ति थियो।’

उनले चित्त बुझाउने बाटो खोजिरहेका थिए।

साला–भेनालाई केही समय आमने सामने राखेपछि प्रहरीले राजेशलाई हिरासतमा लग्यो। वासुदेवका बाबुछोरा फेरि प्रहरीको मुद्दा फाँटमा पसे।

केहीबेर घोत्लिएका वासुदेवले फेरि भने, ‘त्यतिबेलै यसको साथमा ४० हजारजति पैसा थियो। तर मैले आफ्नै सालाले यस्तो निर्मम अपराध गरेहोला भन्ने सोच्नै सकिन।’

राजेश आफैं पनि व्यापार गर्थे। जुवातास खेल्थे। उनको साथमा यति रकम हुनुलाई वासुदेवले स्वभाविकरुपमा लिए।

त्यसमाथी छोराको अपहरणपछि वासुदेवको होस्हवास नै उडेको थियो। खोजी गर्नेदेखि अपहरणकारीलाई फिरौती बुझाउनेसम्मका काम राजेशले नै गरेका थिए। फेरि त्यो साँझ अपहरणकारीले फिरौती रकम पनि उनैलाई दिनु भनेका थिए।

‘त्यस्तो आपतमा यो हद आफ्नै सालाबाट हुन्छ भनेर कसले सोच्न सक्छ र!’

त्यतिबेला राजेश अपराधी पत्ता लगाउन ढिलो गरेको भन्दै प्रहरीलाई पनि थर्काउँथे। यो सब वासुदेवले देखिरहेका थिए।

अपरिचित व्यक्तिले फोन गरेर फिरौती राजेशसँगै पठाउन भन्यो। पैसा बुझाएर छोरो लिएर आउला भनेको राति सालो मात्र फर्किए। तर, राजेशले फिरौती दिए पनि उनीहरुले भान्जालाई छाडेनन्, ट्याक्सिमा लिएर भागे भने।

यस्तो थियो घटना
२०६४ असोज २४ गते जादु सिकाउने भन्दै राजेशको पसलमा काम गर्ने धादिङका विष्णु सुनुवारले ११ वर्षीय रोहितलाई लिएर गए। आफ्नै कोठामा राजेश र विष्णुले त्यही साँझ उनको हत्या गरे।

हत्या गरिसकेपछि विष्णुले अपहरणकारी भएर वासुदेवलाई फोन गरेर छोरा छुटाउने हो भने २ लाख रुपैयाँ फिरौती बुझाउन भने। फिरौती राजेशलाई दिएर पठाइदिनु भनेका थिए।

वासुदेवले राजेशलाई २ लाख रुपैयाँ दिएर पठाए। तर राजेश छोरो लिएर फर्किएनन्। राजेश बालकलाई अपहरणमुक्त गराउन वासुदेवसँगै हिँडिरहेका थिए। राजेशकै संलग्नतामा बालकको हत्या भइसकेको परिवारलाई भने पत्तै थिएन।

२७ गते कमलादीमा फोहोरको छेउमा बालकको शव फेला पर्‍यो।

त्यही वर्ष मंसिरमा प्रहरीले विष्णुलाई पक्राउ गर्‍यो। तर छठ मनाउन भनेर घर गएका राजेश भारतबाट फर्किएनन्।

पछि विष्णुको वयानका क्रममा राजेशकै योजना र संलग्नतामा अपहरण गरी हत्या गरेको खुलासा भएको हो।

विष्णुले आफुलाई राजेशले ३५ हजार दिएको र बाँकी पैसा आफैं राखेको बयान दिए। राजेश भने त्यसपछि फरार थिए। राजेशका बुबाको ६ महिनापछि मृत्यु भयो।

ससुराको मृत्युमा भारत गए पनि वासुदेवले राजेशसँग भेट्न पाएनन्। राजेशका परिवारले आफु त्यहाँ रहुन्जेल उनलाई भगाएको वासुदेवले बताए।

भारत मुजफ्फरपुर नगर थाना आखाडाघाटका राजेश भान्जाको हत्यापछि उतै बस्दै आएका थिए।

यता प्रहरीले भने रोहित हत्याकाण्डका मुख्य अभियुक्त राजेशको खोजी जारी राखेको थियो।

प्रहरीले अन्ततः १३ वर्षपछि राजेशलाई पक्राउ गरेर शनिबार नेपाल ल्याएको हो। ४५ वर्षीय राजेशलाई प्रहरी अपराध महाशाखाले आइतबार अदालतमा पेश गरी म्याद थप गरी अनुसन्धान सुरु गरेको गरेको एसपी इश्वर कार्कीले बताए।

उनका अनुसार सोही हत्याकाण्डमा यसअघि नै पक्राउ परेका विष्णु सुनुवारलाई अदालतले जन्म कैदको फैसला गरिसकेको छ।

याे पनि:
अपहरणपछि भान्जाको हत्या : फिरौती आफै लिए, प्रहरीमा उजुरी दिएर भागे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .