ad ad

समाज


चौरजहारी हत्याकाण्ड: जाजरकोट पुग्यो गृहको छानबिन समिति, केन्द्रीय प्रहरी टोली रुकुम पश्चिममा

चौरजहारी हत्याकाण्ड: जाजरकोट पुग्यो गृहको छानबिन समिति, केन्द्रीय प्रहरी टोली रुकुम पश्चिममा

उजिर कार्की
जेठ १६, २०७७ शुक्रबार ११:५५,

रुकुम हत्याकाण्डको छानबिन गर्न सरकारले गठन गरेको समिति जाजरकोट पुगेको छ। बिहीबार राति जाजरकोट पुगेको सहसचिव नेतृत्वको छानबिन समितिले शुक्रबारबाट घटनाका बारेमा सोधपुछ सुरु गरेको छ।

समितिले शुक्रबार तीन जना मृतकका परिवारसँग सोधपुछ गरेको छ। जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढा र सन्दीप विकको परिवारलाई भेटेर घटनाका बारेमा जानकारी लिएको जाजरकोट प्रहरीले जानकारी दियो।

यस्तै समितिले शुक्रबार नै बाँचेर फर्किएका १२ जनासँग पनि सोधपुछ थाल्ने तयारी गरेको छ।

मंगलबार घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव रहेको समिति गठन गरिएको थियो। गृह मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक ओमबहादुर खड्का, उपसचिव बशिष्ट घिमिरे र उपसचिव माधव ढकाल सम्मिलित छानबिन समिति गठन गरेको छ ।

समितिले पीडितका परिवारसँग पहिलो चरणमा भेट गरेर सोधपुछ सुरु गरेको हो।

उता घटना भएको स्थान रुकुम पश्चिममा पनि प्रहरीको विशेष टोली पुगेको छ। संघीय प्रहरी इकाई कार्यालय कर्णालीबाट एसएसपी पोषराज पोख्रेलको नेतृत्वमा ८ जनाको टोली रुकुम पश्चिम पुगेको हो। टोलीमा ५ जना अनुसन्धानमा विशेष दखल रहेका प्रहरी छन्।

टोलीले घटना अनुसन्धानमा रुकुम पश्चिम प्रहरीको टोलीलाई विज्ञका रुपमा सहयोग गर्नेछ।

जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहितको टोली भागी विवाहका लागि गत शनिबार रुकुम पश्चिमस्थित चौरजहारी ८ सोती पुगेको बेला उनीहरुमाथि स्थानीयले आक्रमण गरेका थिए। उनीहरुको कुटपिट र नदीले बगाएर ५ जनाको ज्यान गएको छ। भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन्।

उनी नदीमै बेपत्ता भएको आशंकासहित सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरिरहेको छ।

पीडित परिवारले चौरजहारी ८ का वडाध्यक्षसहित २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। १८ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

उनीहरुलाई १० दिन म्याद थप गरेर अनुसन्धान गरिरहेको रुकुम पश्चिम प्रहरीले जानकारी दियो।

मृतक पाँचै जनाको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ। बिहीबार फेला परेका एक जनाको शव शुक्रबार परिवारको जिम्मा लगाइएको हो।

जाजरकोटका दलित समुदायका नवराज विक साथीहरुसहित रुकुम पश्चिमकी ठकुरी परिवारकी प्रेमिका लिन शनिबार साँझ सोती पुगेका थिए।

उनीहरुको नृशंस हत्याले देशव्यापी आक्रोश सिर्जना गरेको छ।

भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव घटनाका भएकै दिन नदीमा शव फेला परेको थियो।

बुधबार दिउँसो भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र बिहीबार सन्दीप विकको शव फेला परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .