ad ad

समाज


दुई ट्रयाक्टर अवैध काठसहित पाँच पक्राउ

दुई ट्रयाक्टर अवैध काठसहित पाँच पक्राउ

नेपालखबर
जेठ १६, २०७७ शुक्रबार १२:१८,

गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँच जना पक्राउ परेका छन्। ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्रयाक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको डिभिजिन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए।

पक्राउ पर्नेमा सोही ठाउँका ट्रयाक्टर धनी सरोज श्रेष्ठ, ट्रयाक्टरका चालक रमेश कुमाल, सहचालक नवराज परियार, दीपेन्द्र कुमाल तथा कैलालीको धनगढी उपमहानगरपालिका–८ का हरि विष्ट रहेका उनले बताए।

इजाजतबिना नै काठ लैजाँदै गरेको थाहा पाएपछि स्थानीयवासीले अमलाभन्ज्याङस्थित प्रहरी चौकीलाई जानकारी गराएका थिए। स्थानीयवासी र प्रहरीले काठ बोकेको ट्र्याक्टरसहित उनीहरुलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयलाई बुझाएको हो। नियन्त्रणमा लिइएका दुई ट्रयाक्टरमा सालको नौ थान (३.७५ क्यूफिट) र बरको ३२७ थान (८८.८८ क्यूफिट) चिरान काठ रहेको पाइएको प्रमुख पौड्यालको भनाइ छ।

‘स्थानीयवासीले जानकारी गराएलगत्तै घटनास्थलमा पुगेर काठसहित संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं’, उनले भने, ‘चार जनालाई घटनास्थलबाट र अन्य एक जनालाई बिहीबार धनगढी उपमहानगरपालिका–८ बाट पक्राउ गरिएको हो।’

पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्दै जाँदा उक्त काठ जिल्ला प्रहरी कार्यालयको भवन निर्माणका लागि ल्याइएको खुल्न आएपछि भवन निर्माणको जिम्मा पाएको रोयल कन्स्ट्रक्शन प्रालिका विष्टलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .