बाँकेको नरैनापुर गाउँपालिकामा सेना परिचालन गरिने भएको छ। त्यहाँ कोरोना संक्रमणको स्थिति नियन्त्रण बाहिर जान नदिन आइतबार राति ८ बजेबाट सेना परिचालन गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले आफूलाई स्थानीयबाट असहयोग भएकाले सेना गुहार्नुपरेको बताएका छन्। अध्यक्ष साहले शनिबार सेना, स्वास्थ्यकर्मी लगायतको सहयोग माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएका थिए।
जिल्ला सुरक्षा समितिको आइतबारको बैठकले स्वास्थ्यकर्मीको टोली पनि पठाउने निर्णय गरेको छ।
‘संख्या निश्चित गर्न बैठक बसिरहेका छौं, क्वारेन्टिन र आइसोलेसन तयार गर्नका लागि सेना र स्वास्थ्यकर्मी पठाउने निर्णय भएको छ,’ प्रजिअ खड्काले नेपालखबरसँग भने।
यसअघि त्यहाँ संक्रमितलाई क्वारेन्टिनबाट अस्पताल लैजान समेत समस्या भएको थियो। कोरोना संक्रमितलाई उपचारमा लैजान स्थानीयले अवरोध गरेका थिए। प्रतिपक्षी दलले भ्रामक कुरा गरेर स्थानीयलाई उचालेको अध्यक्ष साहको गुनासो छ।
‘वडाध्यक्षहरु मोबाइल स्विच अफ गरेर बस्छन्, प्रतिपक्षी दलले कोरोना होइन थाकेर आएका मात्रै हुन् भनेर स्थानीयलाई भ्रम छरेको छ,’ अध्यक्ष साहले भने, ‘बिरामी उठाउने अवस्था छैन, हामीलाई कसैले पत्याउन छाडे, सेना गुहार्नुको विकल्प मसँग रहेन।’
नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ। संक्रमणका कारण एक जनाको ज्यान गइसकेको छ। मृतक तथा सबै संक्रमित भारतबाट आएका हुन्।
यस्तै भारतबाट थप एक सय जना सिमानामा आएको गाउँपालिकाले जनाएको छ। उनीहरु आए राख्नलाई क्वारेन्टिन समेत नभएको गाउँपालिका अध्यक्ष साह बताउँछन्।
अहिले सात सय बढी क्वारेन्टिनमा रहेको साहले बताए।
प्रमुख जिल्ला अधिकारी खड्काले भने सेना आइतबार राति जाने र निषेधाआज्ञा जारी गरेर त्यहाँको स्थितिलाई सहज बनाउने बताए।
सीमानामा आइपुगेका कसैलाई पनि नरैनापुरमा प्रवेश गर्न नदिने प्रजिअ खड्काले बताए।
यसअघि संक्रमण देखिएकालाई नेपालगन्ज, दाङ लगायतका अस्पतालमा लगिएको छ।
प्रतिक्रिया