लकडाउनमा लागेको बजार बन्द गराउन जाँदा धनुषामा प्रहरीका असइ र हवल्दार कुटिएका छन्। धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुर स्थित लवकुश चोकमा लागेको बजारमा शुक्रबार अपराहन्न ५ बजे बटेश्वर प्रहरी चौकीका असइ शंकर यादव र हवल्दार नागेन्द्र यादव कुटिएका हुन्।
बजार बन्द गर्न प्रहरीले गरेको आग्रह नमानेपछि ठेलामा जलेवी र समोसा बेच्ने एक युवकमाथि प्रहरीले हात छाडेका थिए। त्यसपछि युवकले समेत प्रहरीमाथि हातपात गर्न थालेपछि त्यहाँ उपस्थित झण्डै एकसय जनाको भीडबाट केही व्यक्तिहरु समेत प्रहरीमाथि जाइलागेका थिए।
शुक्रबार दिउँसो परेको असिना पानीको क्रममा चित्रपुर टोलमा धेरैको घरको छानो फुटेपछि बटेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र महतोले भएको क्षति विषयमा बुझ्न प्रहरीलाई बोलाएका थिए। त्यसै क्रममा लवकुश बजारमा पुगेपछि बन्द गराउने क्रममा प्रहरी कुटिएका हुन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार बजार बन्द गराउने क्रममा सुरुमा एकजना महिलासँग पनि प्रहरीको भनाभान भएको थियो।
असइ यादवले घटना मिडियामा नल्याइदिन आग्रह गरे। त्यहाँ पुगेर उनी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई घटनाबारे बताएपछि प्रहरी निरीक्षक पप्पु नायक सहितको टोली अनुसन्धानका लागि पुगेको थियो।
प्रहरीमाथि कुटपिट भएलगतै जम्मा भएका सयौं स्थानीयहरु घर फर्केका थिए। यता प्रहरी निरिक्षक नायकले केही घटना नै नभएको दाबी गरे। जिल्ला प्रहरी कार्यालय धनुषाले पनि घटनाको विषयमा अनभिज्ञता प्रकट गरेको छ।
प्रतिक्रिया