सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको एक प्राविधिक टोलीले महाकाली अस्पतालमा खरिद गरिएका स्वास्थ्य उपकरण तथा सामाग्रीको निरीक्षण गरेको छ।
काठमाडौंको आरजी सप्लायर्स प्रालिले महाकाली अस्पतालको लागि भनेर पुरानो भेन्टिलेटर पठाए पछि सुदूरपश्चिम प्रदेश सरकारको प्रावधिक टोलीले निरीक्षण गरेको हो। सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले अस्पतालका लागि खरिद गरिएका उपकरण तथा सामाग्रीहरुमा ‘खोट नै खोट’ औल्याउँदै अस्पताललाई प्रतिवेदन बुझाएको छ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि छुट्याएको बजेटबाट अस्पतालको आइसीयू सञ्चालनका लागि भेन्टिलेटर, बल्ड ग्यास एनालाइजर, डिफिब्रिलेटर तथा मोनिटर किनेको थियो। सुदूरपश्चिम प्रदेशले निरीक्षण गर्दै दश वटा कैफियत औँल्याएको हो।
सामाजिक विकास मन्त्रालयका बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौत नेतृत्वको टोलीले भेन्टिलेटर २०१५ डिसेम्बरमा बनेको, ट्रलीबाट ह्विल्ससम्म खिया लागेको, अक्सिजन पाइपमा खिया लागेको, देब्रे पट्टीको भागमा ७/८ सेन्टिमिटर कालो दाग, एक घन्टा ब्याकअप दिने ब्याट्री नभएको, डिस्प्ले र नोभ फोहर अवस्थामा रहेको, सफ्टवेयर अनुरुप फिलिप्स कम्पनीको भेन्टिलेटर दुई घन्टा चलेको, क्यालिब्रेसन नगरेको र स्पेसिफिकेसन अनुरुप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको प्रतिवेदनमा उल्लेख छ।
महाकाली अस्पतालले चैत्र १६ गते सूचना जारी गर्दै भेन्टिलेटर सहित पाँच उपकरण आपुर्तिका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको थियो। चैत्र २७ गते आरजी सप्लायर्सले ५३ लाख रुपैयाँमा एक थान भेन्टिलेटर, मनिटर लगायतका उपकरण आपुर्तिका लागि ठेक्का पाएको थियो। सोही कम्पनीले चैत्र अन्तिम साता अस्पतालमा भेन्टिलेटर पु¥याएको थियो। भेन्टिलेटर अस्पतालमा जडान गर्ने क्रममा पुरानो तथा प्रयोग गरिएको भेटिएको थियो।
महाकाली अस्पताल : ‘खरिद सम्झौताविना पुरानो भेन्टिलेटर ल्याइयो’
नयाँका लागि टेन्डर खुलाइएको महाकाली अस्पतालमा पुरानो भेन्टिलेटर !
प्रतिक्रिया