लकडाउन अवधिभर हृदयघात, मिर्गौलालगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेस सेवा सञ्चालनमा ल्याएको छ।
महानगरको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले दुई दिनमै ४६ जना बढीलाई सेवा दिएको एम्बुलेन्स चालक संघ काठमाडौंका अध्यक्ष गणेश सापकोटाले जानकारी दिए।
बालाजुबाट बिरामी लिएर अस्पताल जाने तयारीमा रहेका अध्यक्ष सापकोटाले बिहीबार मात्रै पनि बिहान १२ बजेसम्म चार जनालाई सेवा दिएको जानकारी दिए।
‘म अहिले बालाजुबाट बिरामी लिएर अस्पताल जाँदैछु,’ उनले भने, ‘यसअघि जमल, मैतिदेवीलगायतका स्थानबाट पनि बिरामीलाई अस्पतालसम्म पु¥याएको थिए्ँ।’’ उनले डाइलासिस गर्नुपर्ने बिरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका बिरामीलाई प्राथमिकतामा राखेर सेवा दिने गरेको बताए।
‘हाम्रो कार्यक्षेत्र महानगरपालिका भित्र मात्रै हो। तर, महानगरपालिका क्षेत्र बाहिर र उपत्यका बाहिरबाट पनि हामीलाई बिरामीहरुले सम्पर्क गर्ने गर्नुभएको छ,’ अध्यक्ष सापकोटाले भने, ‘दैनिक पचास बढीका त्यस्ता फोन आउने गरेका छन्। तर, हामीले महानगरपालिका क्षेत्र भित्रका बिरामीलाई नै बढी प्राथमिकता दिएका छौँ। त्यस्ता बिरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इाइलासिस सेन्टरलगायतमा लैजाने गरेका छौँ।’ उनले सेवा लिनको संख्या बढ्दै गएको जानकारी दिए।
सापकोटाले सेवा लिने विरामीको नाम, ठेगाना सबै संकलन गरेको भन्दै सेवाग्राहीले सेवा प्रभावकारी भएको भन्दै खुशी व्यक्त गरेको जानकारी दिउ। ‘सम्पर्कमा आएका त्यस्ता बिरामीलाई हामीले सकेसम्म सेवा दिँदै आएका छौँ,’ उनले भने, ‘यस्तो विपद्का बेला हामीले विरामीको सेवालाई सर्वोपरी ठानेर काम गरिरहेका छौँ।’
महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) सँग सम्झौता गरी लकडाउन अवधिभर २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएको थियो। सोही सम्झौता अनुसार पाँच ओटा एम्बुलेन्सले लकडाउनको समयमा हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई आकस्मिक सेवा दिइरहेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।
आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको प्रमुख शाक्यले जानकारी दिए।
लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता बिरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए काठमाडौँ महानगरपालिकाले हटलाइन नम्वर ११८० मा सम्पर्क गर्न पनि उनले आग्रह गरे।
सम्झौतामा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दा रोगको प्रकृति हेरी प्राथमिकताका आधारमा सेवा प्रदान गर्नुपर्ने उल्लेख गरेको भन्दै प्रशासन विभाग प्रमुख नमराज ढकालले हृदयघात, मृगौला रोगीलगायतलाई आकस्मिक सेवाका लागि पहिलो प्राथमिकता दिने गरेको बताए। ‘सम्झौता अवधिभर निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधन ५ ओटामा २४ घण्टा नै सवारी चालकसहित सवारी साधन प्राविधिक रुपमा दुरुस्त राखिएको छ,’ उनले भने, ‘चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पाट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरगायतका स्थानबाट एम्बुलेन्सले सेवा दिइरहेका छन्।’
काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा उनीहरुलाई सेवा दिनका लागि काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवालाई यस अघि नै तयारी अवस्थामा राखेको छ। उक्त सेवा लिनका लागि १०२ नं. मा सम्पर्क गर्न सकिने छ।
प्रतिक्रिया