ad ad

समाज


राहत वितरणमा विभेद गरेको भन्दै जनप्रतिनिधि घेराउ

राहत वितरणमा विभेद गरेको भन्दै जनप्रतिनिधि घेराउ

शैलेन्द्र महतो
चैत २८, २०७६ शुक्रबार १०:३४,

धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ लक्ष्मीनिबासमा राहत वितरणमा विवाद भएको छ। जनप्रतिनिधि तथा राजनीतिक दलले विभेदपूर्ण तरिकाले राहत वितरण गरेको भन्दै स्थानीयले अवरोध गरेपछि विवाद भएको हो।

शुक्रबार दिउँसो चित्रपुरमा धनीमानी तथा पक्की घर भएका परिवारहरुलाई समेत राहत उपलब्ध गराएको र गरिब विपन्नलाई छोडेको भन्दै आक्रोशित स्थानीयले राहत बोकेको ट्याक्टरलाई घेरेपछि केहिबेर त्यहाँ तनाब उत्पन्न भएको थियो। आक्रोशित स्थानीयले जनप्रतिनिधहरुलाई गाली गलाैज गरेका थिए।

जनप्रतिनिधिले राजनीति तथा भोटबैंकको लागि आफ्ना आसेपासे धनीलाई राहत वितरण गरेको र विपन्न परिवारलाई छुटाएको भन्दै स्थानीय घुरन महतोले आक्रोश पोखे।

‘२/३ विघा जग्गा भएका व्यक्तिहरुलाई समेत राहत उपलब्ध गराएको छ। तर २ कठ्ठा मात्र घडेरी भएका गरिब विपन्नलाई राहतबाट बञ्चित गराएका छन्। यो कहाँको न्याय हो?’ उनले आक्रोशित हुँदै भने ‘राहत विपन्नको लागि आएको हो की धनीको लागि? यो सरासर जनप्रतिनिधको बदमासी हो।’

यस्तै स्थानीय रामाबहादुर महतोले धनीहरुलाई राहत वितरण गर्दै हिँडेपछि आफूहरुले अवरोध गरेको बताए। ‘नेताहरुलाई साेध्दा भन्छन् कांग्रेसले गर्यो, का‌ंग्रेसका नेताले भन्छन् , नेकपाका नेताले यस्तो गर्यो। राहत विपन्न जनताको लागि आएको हो। फेरि यसमा पार्टी पोल्टिक्स कसरी भयो?’ उनले प्रश्न गर्दै भने।

स्थानीयहरुले राहत वितरण अवरोध गरेपछि तनाव उत्पन्न हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साम्य पारेको थियो। केहिबेरको लागि राहत वितरण समेत स्थगित भएको थियो। कार्यालयमा पुनः सर्वदलीय बैठक बसेर छुटेकाहरुलाई पनि राहत उपलब्ध गराउने निर्णय गरेपछि वितरण सुरु भएको हो।

यता वडा नं. १ का वडाध्यक्ष शैलेन्द्रकुमार महतोले राहत वितरणको लागि गरेको नामावली संकलनको क्रममा केही तलमाथि भएकोले विवाद सृजना भएको बताए। ‘हामी भनिरहेका छौं। नामावली संकलनमा केही तलमाथि भएको छ। छुटेकाहरुलाई नामावली संकलन गरेर फेरि राहत उपलब्ध गराउँछौं। तर पनि केही व्यक्तिहरु जवरजस्ती विवाद गरेर अवरोध गर्न खेजेका छन्’ उनले भने ‘ राहत वितरणमा कुनै अनियमितता भएको छैन।’

यता विवादकाे विषयमा गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले पहिलेदेखि नै वडाध्यक्षहरु र राजनीतिकदलहरुसँग विपन्न परिवारहरुलाई मात्र समेट्न आग्रह गर्दासमेत तलमाथि गरेकाले यस्तो अवस्था सृजना भएको बताए।

rahat-bibad1.jpg

विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनमा ज्यालादारीमा काम गर्ने मजदुर तथा विपन्न परिवारलाई स्थानीय तहहरुले राहत वितरण गरिरहेको छ।

प्रदेश २ सरकारले गाउँपालिकालाई राहत वितरणको लागि उपलब्ध गराएको १० लाख र गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट समेत गरी बटेश्वर गाउँपालिकाले शुक्रबारदेखि राहत वितरण सुरु गरेको छ।

गाउँपालिकाले चारजनासम्मको विपन्न तथा ज्यालादारी गर्ने प्रति परिवारलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा किलो खाने तेल र एउटा साबुन उपलब्ध गराइरहेको छ भने चारजनाभन्दा बढी सदस्य संख्या रहेको परिवारलाई १५ किलो चामल १–१ किलो नुन र दाल, आधा किलो खाने तेल र साबुन उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .