ad ad

समाज


कोरोना सन्त्रासः गण्डकी तयार अवस्थामा, ५ जनाको परीक्षण, २ को रिपोर्ट नेगेटिभ

कोरोना सन्त्रासः गण्डकी तयार अवस्थामा, ५ जनाको परीक्षण, २ को रिपोर्ट नेगेटिभ

वाशुदेव मिश्र
चैत १, २०७६ शनिबार १६:४५,

अन्यत्रजस्तै पर्यटकीय नगर पोखरा र आसपासका क्षेत्रमा पनि कोरोना सन्त्रास फैलिँदाे छ। सामान्य ज्वरो आउँदा पनि कोरोना भाइरस (कोभिड–१९) नै पो हो कि भन्ने आशंकाले सबैलाई पिराेल्न थालेकाे छ।

गण्डकी प्रदेशभित्र ज्वरो र रुघाखोकी लागेकामध्ये ५ जनामा कोरोना संक्रमणको आशंकामा उनीहरुको स्वास्थ्य परिक्षणका लागि ल्याब टेस्ट गर्न स्याम्पल लगिएपछि त्रास झनै फैलियो।

मनिपाल शिक्षण अस्पताल, म्याग्दी, फिस्टेल अस्पताल, सिभिक अस्पताल र लायन्स सामुदायिक अस्पताल लेखनाथमा भेटिएकाको थप परिक्षण गरियो।

दुईजनाको परिक्षण रिपोर्ट नेगेटिभ आयो। अर्थात उनीहरुमा कोरोना संक्रमण देखिएन। बाँकी ३ जनाको रिपोर्ट आउन बाँकी रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यता, गण्डकी स्वास्थ्य निर्देशनालयले चिनियाँ कामदारहरु रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी गरिरहेको छ। गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार त्यहाँ कार्यरत कुनैपनि कामदारमा संक्रमण देखिएको छैन।

‘त्यहाँ कुनै समस्या छैन। उहाँहरु बिरामी भएको भन्ने कुरामा सत्यता छैन,’ उनले शनिबार पत्रकार सम्मेनलमा भने, ‘चिन्ता नगरौँ, त्यहाँको अवस्था सामान्य छ।’

उनका अनुसार स्वास्थ्यकर्मीहरुले ४ पटकसम्म त्यहाँको अवस्था बुझेका थिए। उनका अनुसार ती विदेशी कामदारहरु १४ दिन चीनमै क्वारेण्टाइनमा बसेर फर्केका हुन।

त्यहाँ भएका ७१ जनालाई उनीहरुकै सुरक्षाका लागि ‘व्यक्तिगत क्वारेण्टाइन’ मा राखिएको हो। विदेशी कामदार भएकाले उनीहरुको सोझै परीक्षण गर्ने अधिकार आफूहरुसँग नभएको पनि उनले जनाए।

८० आइसोलेसन वार्ड, ९ हेल्थ डेस्क 
गण्डकी सरकारले यसअघि नै यहाँका विभिन्न अस्पतालमा ८० वटा आइसोलेसन वार्ड तयार पारिसकेको उनले जानकारी दिए। सरकारले स्थानीय तहमध्ये ९ वटालाई तत्काल हेल्थ डेस्क स्थापनाको निर्देशन पनि दिएको छ।

नवलपुरको त्रिवेणी, दाउन्ने र गैँडाकोट, मुग्लीन र आँबुखैरेनी तनहूँ, आरुघाट र गोरखाबजार, बुर्तिवाङ, स्याङजाको गल्याङमा हेल्थ डेस्क बनाउन आग्रह गरिएको छ। भारतबाट आउने पर्यटकलाई लक्षित गरी निगरानी गर्न हेल्थडेस्क बनाउन लागिएको हो।

हाल पोखरा विमानस्थल र मुस्ताङको लोमान्थाङमा हेल्थ डेस्कमार्फत ज्वरो नापजाँच र आवश्यक सुझाव दिइएको छ। पोखरा महानगरपालिकाले पनि विभिन्न ठाउँमा हेल्थडेस्क स्थापनाको तयारी गरिरहेको छ।

५० बेडभन्दा बढीका सबै सरकारी तथा निजी अस्पतालमा आफ्नै बजेट र श्रोतमा कम्तिमा ५ बेडको आइसोलेसन वार्ड स्थापना गर्न र १० थान पीपीई (पर्सनल प्रोटेक्सन इक्युपमेण्ट) तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

ल्यावका कर्मचारीलाई आवश्यक तालिम र भेन्टिलेटर चालू अवस्थामा राख्न पनि सरकारले निर्देशन दिएको छ।

मनिपाल शिक्षण अस्पतालमा १५ बेड, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियल अस्पतालमा ३०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० र जीपी कोइराला श्वासप्रश्वास अस्पतालमा ३० बेडको आइसोलेसन वार्ड तयार गरिएको हो।

पोखरामा क्वारेन्टाइन होमका लागि स्वास्थ्य तालिम केन्द्रलाई तोकिएको छ भने शिक्षा, वन, कृषि, भेटेरिनरी केन्द्रहरुलाई तयार अवस्थामा राख्न आग्रह गरिएको छ।

लायन्स क्लव सिसुवा सामुदायिक अस्पताललाई ५० बेडको डेडिकेटेड आइसोलेसन अस्पतालको रुपमा प्रयोग गर्ने योजना छ।
प्रदेश सरकारले तत्कालका लागि ५ सय थान पीपीई, ५ सय थान इन्फ्रारेड थर्माेमिटर, २० हजार थान मास्क, १ सय लिटर सेनिटाइजर र डिसइन्फेक्टेड लगायतका सामाग्री उपलब्ध गराईदिन संघ सरकारसँग माग गरेको छ।

काेराेनासँग लड्न १ अर्ब
यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाविरुद्धको अभियान युद्ध नै भएकाले सबै मिलेर लड्न आम नागरिकसँग आग्रह गरेका छन। उनले त्रास फैलाउने काम नगर्न सबैलाई सचेत पनि गराए। 

कोरोनाविरुद्धको अभियानको लागि १ अर्ब रूपैयाँ छुट्याइएको बताउँदै उनले पर्यटनसहित आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न विशेष प्याकेजको लागि संघ सरकार लाग्नुपर्ने बताए।

पत्रकार सम्मेलनमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बजारमा कुनै पनि कुराको अभाव नभएको जिकिर गरे। उनका अनुसार गण्डकीमा ३ दिनका लागि चाहिने पेट्रोल र १२ दिन पुग्ने डिजेल स्टक छ भने दाल चामल प्रसस्तै छ।

१२ समिति
कोरोना संक्रमण रोक्न र त्यसको उपचारको तयारीका लागि गण्डकी प्रदेशमा मात्रै १२ वटा समिति गठन भएका छन। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा २६ सदस्यीय उच्चस्तरीय निर्देशक समिति बनेको छ भने प्रमुख सचिव हरि बस्यालको संयोजकत्वमा १८ सदस्यीय प्रदेश समन्वय समिति गठन भएको छ।

डाक्टर भन्छन, पर्याप्त सुरक्षा सामग्री छैनन
विश्व स्वास्थ्य संगठनमाआवद्ध डाक्टर राजिव लालचन भन्छन, ‘गण्डकीमा कोरोना फैलिइहाल्यो भने हामीसँग स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्री (पिपिइ), एम्बुलेन्स, क्वारेण्टाइन र विरामी जाँच्ने प्रयोगशाला पर्याप्त छैन।’

उनका अनुसार स्वास्थ्य निर्देशनालय गण्डकीमा करिब ४५ थान सुरक्षा सामग्री मात्रै छन। सबै जिल्लामा बाँड्नु पर्यो भने त्यो सामाग्री हात्तिको मुखमा जिरा नै हुन्छ।

बिरामी बोक्न छुट्टै एम्बुलेन्स र एम्बुलेन्स चालकलाई पनि सुरक्षा सामग्री चाहिन्छ। मुख्य कुरा त, अहिले सामान्य ज्वरो आएकाको रगतलगायतको नमूना परीक्षण लिँदा पनि जाँच गर्न काठमाण्डौ पठाउनुपर्ने बाध्यता छ। ल्याब नभएकाले यो समस्या आएको हो।

यो समस्या गण्डकीको मात्रै हैन। गण्डकी प्रदेश सरकारले कोरोना भाइरसविरुद्धको अभियानको लागि १ अर्ब ४० करोड छ्ट्याएको त छ। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा प्रमुख गोकुल शर्माका अनुसार आवश्यक सामान र एम्बुलेन्सको व्यवस्था गर्ने पनि त्यही बजेटबाट हो। तर, यो काम कहिले हुन्छ भन्न सकिन्न।

डाक्टर लालचनले थपे, ‘नोवेल कोरोना (कोभिड–१९) नेपालमा नदेखिएकाले ‘सचेत रहौँ, नआत्तिऔँ।’ उनले कोरोनाजस्तै मौसमी भाइरस सन २००२ मै देखिएको जनाउँदै यसको ओखती नभएको पनि प्रष्ट पारे।

‘कुनैपनि एण्टिबायोटिकले भाइरलमा काम गर्दैन, दम, मधुमेह, मुटुरोग भएका बिरामीमा यो छिटो फैलनसक्छ’, उनले भने, ‘संक्रमण फैलिएपछि एण्टिबायोटिक प्रयोग गर्ने हो, अहिले भने साबुन–पानीले हात धुने, मास्क लगाउने, सेनेटाइजर प्रयोग गर्ने नै हो।’ उनले लसुनजस्ता चिजबिजमा रोग प्रतिरोधात्मक क्षमता भएपनि यसले कोरोना रोक्छ भन्ने प्रमाणित नभएको बताए।

रक्सीबारे उनको उत्तर थियो, ‘अहिले बजारमा पाइने सेनेटाइजरमा रक्सीको मात्रा त हुन्छ तर रक्सीले ठीक पार्छ भन्ने होइन।’

उनका अनुसार होङ्सी सिमेण्ट तथा अन्य चिनियाँहरु संलग्न परियोजनामा पनि निगरानी बढाउने योजना बनाएको छ। डाक्टर लालचनले कोरोनालाई अहिले चल्तिमा रहेका सामाजिक सञ्जालले ‘इन्फोडेमिक’ बनाएको आरोप पनि लगाए।

यता, केही दिनअघि जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा उद्योग वाणिज्य संघ तथा औषधि व्यवसायी संघ, गण्डकीले आयोजना गरेको ‘औषधि तथा दैनिक उपभोग्य बस्तुको अभाव र हुनसक्ने महंगी विषयक छलफलमा बोल्दै औषधि व्यवसायीहरुले भने कोरोनाको पोखरामा चेकजाँच नै नभएको र स्वास्थ्यकर्मीको ज्यानको पनि सुरक्षा नभएको गुनासो गरे। उनीहरुले सामान्य ज्वरो आएका बिरामीहरुलाई पनि काठमाण्डौ पठाउन थालिएको जानकारी पनि दिए।

कास्कीमा रहेका औषधि व्यवसायीले गण्डकी प्रदेशमा ३ महिनालाई पुग्ने औषधि बाँकी रहेकोले औषधि अभाव नहुने भने प्रष्ट पारे। उनीहरुले हल्ला गरिएजस्तो कुनै पनि व्यवसायीहरुले औषधिमा बढी मूल्य नलिएको जिकिर गरे।

‘हामीले अरु समयको भन्दा बढी ओखती नदिन थोक तथा खुद्रा व्यवसायीहरुलाई अनुरोध गरेका छौँ’, नेपाल औषधि थोक व्यवसायी समिति गण्डकीका अध्यक्ष रुद्र मल्लले भने, ‘यतिबेला केही औषधिहरु भन्सारमा रोकिएको छ तर डर मान्नुपर्ने अवस्था छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .