सुतिरहेका बेला घरमाथिबाट खसेको पहिरोले पुर्दा दार्जिलिङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
दार्जिलिङस्थित रिम्बिक लोधो क्षेत्रको तामाङ गाउँमा आज (शनिबार) बिहान करिब ४ बजे खसेको पहिरोमा परी स्थानीय ३० वर्षीय निमा तामाङ (पति), २७ वर्षीया चन्द्र तामाङ (पत्नी) र ५ वर्षे छोरो नियाल तामाङको मृत्यु भएकाे हो।
निमाकी छोरी सन्ध्या तामाङ भने केही दिनअघि नजिकैको फेञ्चेटारस्थित मामा घर गएकीले बाँच्न सफल भएकी छन्।
स्थानीयका अनुसार पहिरो लगभग १४ फुट माथिबाट झरेको हो।
तामाङ परिवार गहिरो निद्रामा रहेका बेला पहिरो खसेको स्थानीयले बताएका छन्।
तामाङ परिवारले तानेको खानेपानीको पाइप खुलै छाडिएका कारण रातभर माटो गलेर पहिरो गएको स्थानीयको भनाइ छ।
स्थानीयले पहिरोमा पुरिएका तीनै जनाको शव निकालेका छन्।
पोस्टमार्टमका लागि तीनै शव दार्जिलिङ सदर अस्पताल पठाइएको छ।
प्रतिक्रिया