झापाको कचनकवल गाउँपालिकाले छोरी-बुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर दिने घोषणा गरेको छ।
निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराइएको अध्यक्ष सञ्जार आलमले जानकारी दिए।
‘शिक्षा विकासको मेरुदण्ड हो’, आलमले भने, ‘महिलालाई सक्षम एवं आत्मनिर्भर बनाउने उद्देश्यले स्नातकसम्मको निःशुल्क अध्ययनको व्यवस्था मिलाएका हौँ।’
गाउँपालिकाले यसअघि नै कक्षा–१२ सम्म सबैलाई निःशुल्क शिक्षाको व्यवस्था गरिसकेको छ। आर्थिक अवस्था कमजोर भएकै कारण कोही शिक्षाको अवसरबाट वञ्चित हुनु नपरोस् भनेर निःशुल्क शिक्षा अभियान सञ्चालन गरिएको आलमले बताए।
‘सम्पन्न र हुनेखानेका छोराछोरी अन्यत्रै गएर पनि बढ्छन्/ पढिरहेका छन्’, उनले भने, ‘आर्थिक अवस्था कमजोर भएरै शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न गाउँपालिका लागि परेको छ।’
गाउँपालिकाले २०० भन्दा बढी छोरीबुहारीलाई मासिक ८५० का दरले अध्ययन खर्च दिँदै आएको गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीले बताइन्। ‘महिला सशक्तीकरणमा विशेष योजना बनाएर काम गरिरहेका छौँ’, उनले भनिन्, ‘महिलालाई आत्मनिर्भर र स्वावलम्बी बनाउन कुनै कसर बाँकी राखिने छैन।’
त्यस्तै, कचनकलवका सात वडाका आठ विद्यालयमा नमूना बाल कक्षा (स्मार्ट कक्षा) सञ्चालन भइरहेको छ। सांसद विकास कोष र गाउँपालिकाको लगानीमा नमूना बालकक्षा सञ्चालन गरिएको हो।
कचलकवलमा सामुदायिकतर्फ सात मावि, सात आधारभूत र १३ प्राविमा सात हजार ३९० विद्यार्थी छन्। १३ निजी विद्यालयमा तीन हजार विद्यार्थी अध्ययनरत छन्।
प्रतिक्रिया