ad ad

समाज


आत्महत्या दुरुत्साहन गर्नेलाई छोडेको भन्दै प्रहरी कार्यालयमा तोडफोड

आत्महत्या दुरुत्साहन गर्नेलाई छोडेको भन्दै प्रहरी कार्यालयमा तोडफोड

गोकुल जोशी
फागुन ८, २०७६ बिहिबार ९:४१,

कञ्चनपुरको महाकाली नगरपालिका र ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा बिहीवार स्थानीयले तोडफोड गरेका छन्।

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेकालाई छोडेको भन्दै आक्रोशित स्थानीयले प्रहरी कार्यालय र नगरपालिका घेराउ गर्दै ढुंगामुढा गरेका छन्।

छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी महाकाली नगरपालिका–६ की सुशीला थापालाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा छोडेको भन्दै स्थानीयहरुले प्रहरी कार्यालय घेराउका साथै तोडफोड गरेका हुन्। नगरपालिकाको कुर्सी, झ्यालका सिसा र सोलार प्यानल तोडफोड गरिएको महाकाली नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए।

ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रमुख प्रहरी निरीक्षक लालबहादुर बमले स्थानीयहरुले गरेको ढुंगामुढाबाट कार्यालयको साइन बोर्डमा क्षति पुगेको बताए। उनका अनुसार छोरालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेकी थापा अदालतबाट धरौटीमा छुटेकी थिइन्। थापा बुधवार धरौटीमा रिहा भएकी थिइन्।

महाकाली नगरपालिका–६ का २१ वर्षीय शंकर थापा आफ्नै घर नजिकै घाँस राख्न बनाएको झुपडीमा झुण्डिएको अवस्थामा भेटिएका थिए। सुशीलाले बारम्बार मानसिक तनाव दिएपछि उनले आत्महत्या गरेको भन्दै मृतकका मामाले ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए।

सो विषयमा प्रहरी कार्यालय अगाडि स्थानीयले प्रदर्शन गरिरहेका छन्। ‘कार्यालय घेराउ गरेको खबर आएको छ, हामीले त्यहाँ टोली पठाएका छौँ’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक सुरज कार्कीले नेपालखबरसँग भने, ‘क्षतिको एकिन विवरण आएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .