झापामा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
झापा गाउँपालिका–४ खैरबारीका २५ वर्षीय सरिफूल आलमलाई सोमबार साँझ नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै खुकुरी प्रहार गर्न खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाको डीएसपी कृष्णकुमार चन्दले बताए।
गोली प्रहारबाट सरिफूल आलम घाइते भएका छन्। उनको बायाँ खुट्टाको तिघ्रा र पिँडुलामा दुई राउन्ड गोली लागेको छ।
आलमलाई उपचारको लागि प्रहरीले भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगेको पनि चन्दले बताए।
झापा गाउँपालिका–३ कामाटोलीस्थित अक्कलबहादुर विश्वकर्माको घरको तेस्रो तल्लामा लागु औषध कारोबार भइरहेको गोप्य सूचना प्राप्त गरेपछि प्रहरी सोमबार साँझ त्यहाँ पुगेको थियो।
आलमको साथबाट ११६.६० ग्राम ब्राउनसुगर, दाउ र खुकुरी बरामद गरेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया