नेपालले चीन वुहानस्थित कोरोना प्रभावित क्षेत्रबाट उद्धार गर्ने नेपालीहरुको लागि शनिबार दिउँसो ४ बजेर ४५ मिनेटमा उडानका लागि प्रस्ताव गरेको छ।
बुधबार नेपालले चिनियाँ पक्षलाई उद्धार उडानका लागि विस्तृत विवरण पठाउँदै त्यससम्बन्धी दिउँसो पौने ५ बजे (चिनियाँ समयअनुसार साँझ ७ बजे) समय प्रस्ताव गरेको हो। चीनले उद्धार उडानका लागि तीन दिनअघि नै बिस्तृत विवरण पठाउन नेपाललाई आग्रह गरेको थियो। सोही अनुसार नेपाली पक्षले बुधबार चीन सरकारलाई विवरण पठाएको हो।
बेइजिङस्थित नेपाली राजदूतवासका उप–प्रमुख सुशील लम्सालले चिनियाँ पक्षले अहिलेसम्म यस विषयमा निर्णय दिइनसकेको बताए। चीनमा कोरोना भाइरसको महामारी फैलिएको हुबेइ प्रान्तमा रहेका १ सय ८७ जना नेपालीले उद्धारका लागि आग्रह गरेका उपप्रमुख लम्सालले बताए।
‘अहिलेको अवस्थामा चीनले उद्धारका लागि गरिएको उडानहरु राति अबेर गर्दै आएको छ। चिनियाँ पक्षबाट केही ढिलो गरी उडानका लागि अनुमति प्राप्त हुने संभावना रहेको छ,’ लम्सालले नेपालखबरसँग भने, ‘हामीले चीनलाई उडानका विस्तृत विवरण प्रस्तुत गरेका छौं। चिनियाँ पक्षले शनिबार रातिकै समय दिने सम्भावना छ।’
नेपाल सरकारले चीनमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको वाइडबडी विमान पठाउने तयारी गरेको छ। लम्सालले नेपालबाट उद्धार टोलीमा चालक दलका १५ र चार जनाको चिकित्सक टोली रहने बताए।
प्रतिक्रिया