सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, माध्यमिक तह शिक्षक श्याम प्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहसमेत ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
रुपनी गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
सो सम्बन्धी उजुरीमाथि अनुसन्धान हुँदा उल्लेखित व्यक्तिहरुको मिलेमतोमा लागत अनुमान नै तयार नगरी नगराई ९ लाख ११ हजार ९२५ रकम पर्ने जस्मिन हाईजिन प्रोड्रक्ट प्रालि, मोरङद्वारा उत्पादित ‘सेफ्टी लेखिएको स्यानिटरी प्याडलाई १७ सत्र लाख ८५ हजार ९२८ रुपैयाँमा खरिद बिक्री गरी गराई ८ लाख ७४ हजार ३ रुपैयाँ बराबरको रकम अस्वाभाविक रुपमा बढी मूल्य तिरी आफूहरुलाई लाभ पुर्याउने र गाउँपालिकालाई हानिनोक्सानी पुर्याउने कार्य गरेको खुलेको छ।
उनीहरुविरुद्ध ८ लाख ७४ हजार ३ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन मागदाबीसहित आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
Shares
प्रतिक्रिया