ad ad

समाज


नरभक्षी बाघ नियन्त्रण गरी जावलाखेलमा ल्याइयो

नरभक्षी बाघ नियन्त्रण गरी जावलाखेलमा ल्याइयो

नेपालखबर
बैशाख १०, २०८० आइतबार २१:४९, काठमाडौँ

कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आज साँझ सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा आज साँझ ५ः३० बजे उक्त बाघलाई सदर चिडियाखाना, जावलाखेलमा ल्याइपुर्याइएको चिडियाखाना प्रशासनले जनाएको छ। उद्धार गरी सदर चिडियाखानामा ल्याइपुर्याएको सो बाघलाई बाघ खोरको होल्डिङ कोठामा राखिएको छ।

यही वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा बिहान करिब १० बजेको समयमा स्थानीय छ÷सात महिला घाँस काटिरहेको समयमा ४२ वर्षीया गंगादेवी चन्दलाई उक्त बाघले एक्कासि आक्रमण गरेको थियो।

अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्ती सहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भएका थिए।

सो दिनको उद्धार कार्यका क्रममा राति अबेर ११ः३० बजेसम्म चले पनि रातको समय र सिमसार क्षेत्रको दलदले जमिनमा उद्धार गर्नुपर्ने कठिनाइका कारण सम्भव हुन नसके पनि पुनः वैशाख ९ गते बिहान ६ बजे चार वटा हात्तीसहित उद्धार कार्य पुनः सुचारु गरिएको थियो। उक्त दिनको खोजी कार्यमा बिहान ७ः५५ बजे शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक र प्राविधिक तथा कोषका प्राविधिकसहितको टोलीले डार्ट गरी बाघलाई नियन्त्रणमा लिन सफल भएको थियो।

साथै, बाघको आक्रमणमा परी ज्यान गुमाउनुभएकी चन्दको मृत शरीर समेत पहिचान गरी पोष्टमार्टमका लागि सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको थियो। उद्धार गरिएको पोथी बाघ अन्दाजी पाँच वर्ष उमेरको रहेको र घटना भएको क्षेत्र नजिकको भारतीय वन क्षेत्रमा विगत एक महिनाको अवधिमा थप दुई जना (एक जना नेपालीसहित) को बाघका कारण ज्यान गएको पाइएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्रमा ३६ वटा वयस्क पाटेबाघ रहेको अनुमान गरिएको छ। यहाँको तराई क्षेत्रमा अवस्थित लालझाडी मोहना, बसन्ता र ब्रह्मदेव जैविक मार्ग क्षेत्रमा समेत निरन्तररूपमा बाघको विचरण र सीमापार समेत आवगमन हुने गरेको छ। नेपाल र भारत दुवै देशमा फैलिएको तराई भूपरिधि क्षेत्रमा बाघको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएअनुरूप मानव–बाघबीच द्वन्द्वका घटनाहरूमा समेत वृद्धि हुँदै गएको पाइएको छ।

नेपाल सरकारले सन् २०१० मा अन्तर्राष्ट्रिय मञ्चमा सन् २०२२ भित्र बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष लिएबमोजिम नै सन् २००९ मा १२१ वटा वयस्क बाघ नेपालमा रहेको अनुमान गरिएकोमा हाल सो सङ्ख्या ३५५ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .