बारामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार घटना स्थलमा आठजना र बाँकी सात जनाको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा अन्य १७ जना गंभीर घाइते भएका छ्न्। उनीहरूको हेटौंडास्थित हेटौंडा सरकारी अस्पताल, मकवानपुर सहकारी अस्पताल र चुरेहिल अस्पतालमा उपचार भैरहेको छ।
मृत्यु हुनेमा ९ जना पुरुष र ६ महिला छन्। अहिलेसम्म मृतक कसैको पनि सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका बरिष्ठ सई टीका बरालले जानकारी दिए।
मृत्यु हुने यात्रु बारा र पर्साका भएको अनुमान प्रहरीले गरेको छ।
जितपुर सिमरा उपमहानगरपालिका २२ अमलेखगन्जस्थित ३ नम्बर पुलको ओरालोमा अनियन्त्रित भएर बस सडकबाट तल खस्दा दुर्घटनामा परेको हो।
चितवनको नारायणगढबाट वीरगन्ज तर्फ गइरहेको बागमती प्रदेशको ०६–००१ ख ०११० नम्बरको बस ओरालो सडकमा दुर्घटनामा परेको हो।
चिन्ताजनक अबस्थाका केही बिरामीलाई थप उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया