ad ad

समाज


लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु

लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु

प्रकाश न्यौपाने
कात्तिक २८, २०७६ बिहिबार ९:२९,

बुद्धजन्मस्थल लुम्बिनीमा दोस्रोपटक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ। अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा प्रदेश पाँच सरकार, शाही थाइ मन्दिर र लुम्बिनी विकास कोषको सहकार्यमा अन्तर्राष्ट्रिय जगत्मा बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले लुम्बिनी उद्यानमा पहिलो दोस्रोपटक अन्तर्राष्ट्रिय सामूहिक त्रिपिटक वाचन सुरु भएको हो। आजबाट सुरु भएको पाठ तीन दिनसम्म चल्ने छ।

कार्यक्रममा भगवान बुद्धद्वारा देशित उपदेश त्रिपिटकको सामूहिक रुपमा तीन दिनसम्म पाठ गरिने छ। विगत १६ वर्षदेखि भारतको बोधगयामा हुँदै आएको पाठ अघिल्लो वर्षबाट बुद्ध जन्मस्थल लुम्बिनी सुरु गरिएको आयोजक संस्था अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए। ‘हामीले दोस्रोपल्ट त्रिपिटक पाठ बुद्धजन्मस्थलमा सुरु गर्न सफल भयौं। यस्ता आध्यत्मिक गतिविधिले लुम्बिनीको थप प्रचार हुने हाम्रो विश्वास छ’, अध्यक्ष मैत्री महास्थवीरले भने, ‘यो पर्यटक विकासको कोसेढुंगा पनि हो।’

IMG20191114090549

त्रिपिटकमा नेपाल, भारत, श्रीलंका, म्यानमार, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापानलगायत २५ देशका बौद्ध भिक्षु, लामा, भिक्षुणी, अनागारिकाहरू सहभागी छन्। अध्यक्ष महास्थवीरकाअनुसार सामूहिक वाचनमा विभिन्न देशका गरी करिब एक हजार सहभागी छन्। नेपालमा योभन्दा पहिला अमृतानन्द भन्तेले कल्पना गरेअनुसारको संगायना देशना २०४५ सालमा भएको थियो। त्यसयता यस किसिमका कार्यक्रम हुन सकेको थिएन। गत वर्षबाट मात्रै त्रिपिटक वाचन सुरु भएपछि लुम्बिनीको महिमा थप उचाईमा पुगेको छ।

तीन दिनको कार्यक्रममा थाइ भिक्षुहरूको नेतृत्वमा पाठ हुनेछ भने नेपाली भिक्षुहरूको नेतृत्वको सत्र पनि हुने छ। त्यस्तै क्रमशः बर्मा, श्रीलंका र कम्बोडियाका भिक्षुहरूको नेतृत्वमा एक÷एक घण्टा पाठ हुने छ। अन्तिम दिन मायादेवी मन्दिरको वरिपरी मैनबत्तीसहितको शान्ति पदयात्रा तथा द्वीप प्रज्वलन कार्यक्रम गरिने आयोजकले जनाएका छन्। यसका साथै आज र भोलि गरी दुई दिन नेपालकै प्रतिष्ठित बौद्ध विद्वानहरूबाट धर्म देशना पनि हुने कार्यक्रम छ। संस्कृति विद्हरुले त्रिपिटक पाठपछि अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको महत्वा थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

त्रिपिटक बारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्व भएका कारण नेपालमै लगातार त्रिपिटक वाचन सुरु गर्नुपर्ने जानाकार बताउँछन्। ‘धेरै नेपालीहरुले त सम्पूर्ण त्रिपिटक देखेका पनि थिएनन्। अघिल्लो वर्षबाट हामीले सुरु गर्यौं। पवित्र ठाउँमा पवित्र ग्रन्थ पाठ भएपछि धेरैले बुझेका छन् र देखेका छन्। यो सबै नेपालीहरूको लागि गर्व गर्ने कुरा हो’, मैत्री महास्थवीरले भने। विशेषगरी त्रिपिटकमा नेपालमा थेरवाद भिक्षु अनागारिकाहरूले कपिलवस्तुमै भगवान बुद्धले शुद्धोदन महाराजलाई देशना गरेको बिसन्तर जातक तथा शाक्य र कोलीयहरूको युद्ध हुनलाग्दा कपिलवस्तुमै देशना गरेका महासमय सुत्र पाठ गरिने छ। जसका लागि देवनागरीमा तथा थाइ लिपिमा उक्त ग्रन्थको पुस्तक प्रकाशित गरिएको छ।

IMG20191114095854

लुम्बिनीबारे जानाकारहरुले यस्ता आध्यात्मिक गतिविधिहरु लुम्बिनीमा गरिरहनु पर्ने बताउँछन्। प्रत्येक वर्ष त्रिपिटक पाठ गर्न सके पनि अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको गरिमा बढ्ने र पर्यटन क्षेत्र फस्ट्याउने व्यवसायी बताउँछन्। लुम्बिनी उद्यानमा आयोजना गरिएको त्रिपिटक पाठले पर्यटन क्षेत्रमा थप आयाम थपेको आयोजकको विश्वास छ ।

त्रिपिटकको उद्घाटन गर्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी विश्व शान्तिको मुहान भएको बताए। ‘लुम्बिनी विश्व शान्तिको केन्द्र हो। यहाँको विश्वजगत्मा विलक्षण महत्व छ’, उनले भने। पोखरेलले त्रिपिटक वाचनले विश्व जगत्मा शान्ति, सद्भाव र भातृत्वको सन्देश जाने बताए। मुख्यमन्त्री पोखरेलले लुम्बिनीसँगै तिलौराकोट र रामग्राम, देवदहको विकासका लागि प्रदेश सरकार लागि परेको जनाए। थाइल्णडका पूर्वस्वास्थ्यमन्त्री पुनिङ सुधारतले लुम्बिनीको विकासमा आफूहरु सधै हातेमालो गर्ने बताइन्। उनले यस किसिमका त्रिपिटक वाचनले लुम्बिनीको महत्व अझै बढ्ने जनाइन्। त्रिपिटक पाठ सुरु हुनु अघि पवित्र उद्यान क्षेत्रमा -याली निकालिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .