ad ad

समाज


माथिल्लो मनाङमा अविरल वर्षाले अवरुद्ध भएको यातायात सुचारु

माथिल्लो मनाङमा अविरल वर्षाले अवरुद्ध भएको यातायात सुचारु

फाइल फाेटाे


नेपालखबर
असार २२, २०७८ मंगलबार १८:१९,

माथिल्लो मनाङमा यातायात सुचारु भएको छ। यही असारको पहिलो हप्ता आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो।

बाढीपहिराेले क्षति पुर्‍याएको सडक मर्मत गरिएपछि माथिल्लो मनाङमा यातायात सञ्चालनमा आएको ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ढकालले जानकारी दिए। उनका अनुसार प्राविधिक टोली सहितको अनुगमनपश्चात यातायात सञ्चालन भएको छ। 

मनाङ समाज र पूर्वसांसद पोल्देन छोपाङका सहयोगमा यातायात सञ्चालनमा ल्याइएको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए। 

‘गाउँपालिकाभित्र मात्रै सवारी सञ्चालनमा ल्याइएको छ, सामान ढुवानी गर्न भने सहज भएको छ,’ उनले भने।  

खाङ्सारसम्म सामग्री ल्याउन लैजान सहज भएको उनले बताए।  

जिल्लाको तल्लो भागमा सडक सञ्जाल पूर्णरुपमा अवरुद्ध भएको छ।  माथिल्लो मनाङमा सडक सञ्जालमा कम क्षति भएकाले सवारी चलाउन लागिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। तल्लो भागमा भने सञ्चालन गर्न सक्ने अवस्था नरहेको लामिछानेले बताए।

‘खाङ्सारदेखि माथिल्लो पिसाङसम्म आवतजावत गर्न मिल्छ भने त्यहाँबाट तल्लो भागमा सवारी चल्न सक्दैन,’ उनले भने।

भ्राताङको भीर भने बम ब्लाष्टिङ गरेर मात्रै बाटो बनाउनुपर्ने अवस्था रहेको उनले बताए। 

‘नेपाली सेनासँग सहकार्य गरी बम ब्लाष्टिङ गरेर सडक सञ्जाल निर्माण गर्नुपर्नेछ, बनाउने तयारी गरिरहेका छौं,’ उनले भने। 

जिल्लामा सडक सञ्जाल सहज बनाउने प्रयासमा रहेपनि धेरै ठाउँमा निसान समेत मेटिएकाले सकस भएको छ। सदरमुकाम चामेसम्म पुग्ने अवस्था भने छैन। माथिल्लो पिसाङ र तल्लो पिसाङको पुल मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएपछि विच्छेद भएको छ।

लमजुङदेखि मनाङलाई सडक सञ्जालसँग जोड्नका लागि सडक डिभिजन प्राधिकरणले शुरुआत गरिसकेको छ। अहिले जिल्लाबाट अन्यत्र जान जंगलको बाटो भएर हिड्नुपर्ने अवस्था छ। जिल्लाको तल्लो भागका एक गाउँबाट अर्को गाउँ जानका लागि गोरेटो बाटो समेत छैन। मर्स्याङ्दी नदीमा बहाव केही कम भएपनि नदीले कटान भने रोकिएको छैन। यसले गर्दा केही गोरेटो बाटो बनाएपनि नदीले बगाएको छ। 

नियमित खोप सेवा रोकियो 
जिल्लामा बाढी पहिरोका कारण बालबालिकालाई लगाइने नियमित खोप सेवा कार्यक्रम प्रभावित भएको छ। बाढीपहिरोले जिल्लामा आवागमन रोकिएपछि बालबालिकालाई नियमित खोप लगाउन स्वास्थ्य संस्थामा लैजान नसकिएको अवस्था छ। बालबालिकालाई लगाइने खोप अहिले जिल्लाका चार स्थानीय तहमा प्रभावित भएको जनस्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले जानकारी दिए। 

उनले भने, ‘नियमित खोप बालबालिकाहरुका लागि अत्यावश्यक सेवा अन्तर्गत पर्दछ। बाढीपहिरोले मानवीय स्वास्थ्यमा ठूलो असर पारेको छ। एक ठाउँबाट अर्को ठाउँमा जान सकिरहेको छैन। स्वास्थ्यकर्मी पनि बाढी पहिरोका चपेटामा परेका छन्।’

बाढीपहिरोका कारण बच्चालाई खोप लगाउनका लागि स्वास्थ्य संस्था जान सकेका छैनन्। खोपका अभावमा बालबालिकामा रोगहरूसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने प्रमुख आचार्य बताउनु हुन्छ।

उनका अनुसार जिल्लामा अहिले दादुरा–रुबेला तथा कोभिड–१९ विरुद्ध लगाइने खोप रोकिएको छ। आगामी साउनदेखि बाढीपहिरोले प्रभावित गाउँपालिकामा खोप कार्यक्रम शुरु गर्ने तयारी भएको उनले जानकारी दिए। प्रत्येक वर्ष जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई  १२ प्रकारका खोप निःशुल्क लगाउने गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .