ad ad

राजनीति


सुदूरपश्चिममा कांग्रेस-एमालेले टुंग्याए भागबण्डा, को-को बन्दैछन् मन्त्री?

सुदूरपश्चिममा कांग्रेस-एमालेले टुंग्याए भागबण्डा, को-को बन्दैछन् मन्त्री?

गोकुल जोशी
साउन २१, २०८१ सोमबार ११:५०, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका कमलबहादुर शाहले आज  पद तथा गोपनीयताको शपथ लिँदै छन्। 

सोमबार दिउँसो साढे ३ बजे मुख्यमन्त्री शाहलाई शपथ खुवाउने गरी प्रदेश प्रमुखको कार्यालयले तयारी अगाडि बढाएको छ। 

नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त शाहले सोमबार नै मन्त्रिमण्डल विस्तार गर्ने तयारी पनि गरेका छन्।

उनी अहिले गठबन्धनको अर्को घटक नेकपा एमालेसँग मन्त्रालय भागबण्डाका विषयमा छलफलमा व्यस्त छन्। सुदूरपश्चिममा मुख्यमन्त्रीसहित ७ मन्त्रालय छन्।

नागरिक उन्मुक्तिलाई पनि समेटेर सरकारलाई पूर्णता दिने तयारी छ। नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालयको संख्या भागबण्डा टुंगो लागे पनि मन्त्रालय यकिन भइसकेको छैन। 

मुख्यमन्त्री पाएको नेपाली कांग्रेसले थप २ मन्त्रालय पाउने छ। ३ मन्त्रालय भाग परेको नेकपा एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा सशक्त दाबी गरिरहेको छ। 

नेपाली कांग्रेसले पनि यी दुवै मन्त्रालयमध्ये एक मन्त्रालय आफूले राख्न चाहेको छ। आन्तरिक मामिला तथा कानून, सामाजिक विकास र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमध्ये एक मन्त्रालय कांग्रेस र एमालेले साटफेर गर्ने गरी छलफल चलिरहेको एक नेताले जानकारी दिए।
 
नागरिक उन्मुक्तिलाई कृषि मन्त्रालय दिने तयारी छ। नागरिक उन्मुक्तिले लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने सम्भावना छ। 

सत्ता सहयात्री दलहरु मन्त्रीको नाम टुंगो लगाउन अन्तिम गृहकार्यमा लागेका छन्। नेकपा एमालेले यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा सामेल तीनै मन्त्रीलाई फेरि मौका दिने सम्भावना छ।

एमालेबाट सुरेन्द्र बहादुर पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई पहिलो प्राथमिकतामा राखिएको छ। एमालेबाट पुरानो मन्त्रीको सेट फेरिए सन्तोष कुमारी शर्माले मौका पाउने सम्भावना पनि उत्तिकै छ। 

नेपाली कांग्रेसमा मन्त्रीको आँकाक्षी धेरै छन्। दिउँसो १ बजे बस्ने कांग्रेस संसदीय दलले मन्त्रीको नाम टुंगो लगाउने छ।

कांग्रेसबाट बहादुर सिंह थापा, गीता चौधरी, प्रकाश बम, बेलबहादुर राना, मेघराज खड्का, विक्रम धामी, जुना कुमारी दानी र दिवानसिंह विष्ट मन्त्रीको दौडमा छन्।

यस बाहेक पूर्वमन्त्रीद्वय प्रकाश देउवा र शिवराज भट्ट पनि मन्त्री बन्न दोस्रो मौकाको प्रतीक्षामा छन्।

मुख्यमन्त्रीको आँकाक्षी रहेका दिवान सिंह विष्ट र प्रकाश देउवाले मन्त्री नबन्ने बताएका छन्। मुख्यमन्त्रीको दौडमा रहेका कञ्चनपुरका बहादुर सिंह थापा मन्त्रीको प्राथमिक रोजाइमा छन्। 

मुख्यमन्त्रीका अन्य ३ आँकाक्षीलाई थाती राखेर कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलका नेता रहेका शाहलाई दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीमा अघि सार्न निर्देश दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .