ad ad

कारोबार


कृषि विकाससहित ३ बैंकको नाफामा उछाल, १० वटाको घट्यो

कृषि विकाससहित ३ बैंकको नाफामा उछाल, १० वटाको घट्यो

नेपालखबर
साउन २१, २०८१ सोमबार १२:९, काठमाडौँ

आर्थिक सुस्तताका बीच ऋण उठाउनै नसकेका वाणिज्य बैंकहरुको नाफामा आर्थिक वर्ष २०८०/८१ मा उल्लेख्य गिरावट आएको छ। 

वाणिज्य बैंकहरुले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार १० वाणिज्य बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको हो। 

आधा वाणिज्य बैंकको नाफा अधिकतम ८० प्रतिशतसम्मले घट्दा सरकारी स्वामित्वको कृषि विकास बैंकको नाफामा भने १७६ प्रतिशतले बढेको देखिएको छ। 

असार मसान्तसम्मको वित्तीय विवरणअनुसार एनआईसी एसिया, सिटिजन्स बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा सिद्धार्थ बैंकको नाफामा कमी आएको हो। 

वित्तीय विवरणअनुसार एनआईसी एसिया बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा ६८.९१ प्रतिशतले कमी आएको छ भने नेपाल बैंकको नाफा ६१.८० प्रतिशतले घटेको छ। 

अघिल्लो वर्ष एनआईसी एसिया बैंकको नाफा ४ अर्ब ४४ करोड रहेकोमा गत वर्ष घटेर १ अर्ब ३१ करोड रुपैयाँमा सीमित भएको छ। यस्तै अघिल्लो वर्ष  ३ अर्ब ४३ करोड रुपैयाँ रहेको नेपाल बैंकको नाफा गत वर्ष १ अर्ब ६५ करोड रुपैयाँमा खुम्चिएको छ।  

यस्तै अघिल्लो वर्ष ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको एनएमबी बैंकले गत वर्ष २ अर्ब ३३ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ। अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा २७.९७ प्रतिशतले कमी आएको हो। 

यता सिटिजन्स बैंकको अवस्था पनि उस्तै छ। अघिल्लो वर्ष १ अर्ब ८६ करोड रुपैयाँ कमाएको सिटिजन्स बैंकले यो वर्ष १ अर्ब ३४ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ।  

असार मसान्तसम्म माछापुच्छ्रे बैंकको नाफामा पनि २७.४९ प्रतिशतले नै कमी आएको छ। अघिल्लो वर्ष १ अर्ब ६२ करोड रुपैयाँले नाफा कमाएको माछापुच्छ्रेले यो वर्ष १ अर्ब २५ करोड रुपैयाँ मात्रै नाफा कमाएको हो। 

योबाहेक ग्लोबल आईएमई, सानिमा, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्डको भने १० प्रतिशतभन्दा थोरैले नाफामा कमी देखिएको छ। ग्लोबल आईएमईको १०.१३ प्रतिशतले नााफामा कमी आउँदा सानिमाको ८.५९, राष्ट्रिय वाणिज्य बैंकको ५.४८ प्रतिशत, सिद्धार्थ बैंकको ४.७८ प्रतिशत र स्टान्डर्ड चार्टर्ड बैंकको नाफामा ४.५१ प्रतिशतले कमी आएको छ। 

यस्तै नाफा कमाउनेमा भने १० बैंक छन्। जसमा प्रभु बैंक, कृषि विकास बैंक सबैभन्दा अगाडि छ। प्रभु बैंकले अघिल्लो वर्ष २८ करोड नाफा कमाएकोमा गत असारसम्म ४ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ। 

कृषि विकास बैंकले भने गत असार मसान्तसम्मको कुल ३ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब ३२ करोड रुपैयाँ मात्रै थियो। 

यस्तै प्राइम बैंकको पनि यस वर्ष उल्लेख्य नाफा बढेको छ। अघिल्लो आवमा १ अर्ब २ करोड नाफा गरेको बैंकले यो वर्ष ३ अर्ब ७७ करोड रुपैयाँ नाफा कमाएको हो। 

योबाहेक कुमारी बैंकले पनि नाफामा उल्लेख्य वृद्धि गरेको छ। गत आर्थिक वर्षमा कुमारी बैंकले २ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको यस्तो नाफा ५१ करोड रुपैयाँ मात्र थियो। योबाहेक हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, लक्ष्मी सनराइज, नबिल र एभरेष्ट बैंकको नाफामा भने सामान्य वृद्धि भएको छ। 

समग्रमा यो वर्ष एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घट्दा प्रभु बैंकको नाफा सबैभन्दा धेरैले बढेको हो। अघिल्लो वर्षको तुलनामा गत वर्षको नाफामा १० बैंकले सुधार गर्दा बाँकी १० बैंकले पनि कम नाफा गरेका हुन्। 

बैंकको तेस्रो त्रैमासिक रिपोर्टमा नाफा घटेको भन्दै नेपाल राष्ट्र बैंकले नाफा बढाउने गरी मौद्रिक उपकरण ल्याएको छ। साउन महिनामा पाकेको ब्याज आम्दानीलाई गत आवकै आम्दानीको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको थियो। 

तर साउन २१ गतेभित्र अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्नुपर्ने नियमबमोजिम बैंकहरुले उक्त ब्याज नजोडी वित्तीय विवरण सार्वजनिक गरेका हुन्। लेखा परीक्षणपछि भने नाफा बढ्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .