ad ad

राजनीति


नेपालले दिनसक्ने सम्मान नै हो, राष्ट्रपति र म नै विमानस्थल जाँदैछौंः प्रधानमन्त्री

नेपालले दिनसक्ने सम्मान नै हो, राष्ट्रपति र म नै विमानस्थल जाँदैछौंः प्रधानमन्त्री

सागर न्यौपाने
असोज २५, २०७६ शनिबार ८:५४,

चीनका राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित सिंगो मन्त्रीपरिषद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएका छन्।

भारतको चेन्नईबाट विशेष विमानमा काठमाडौंका लागि उडेका राष्ट्रपति सी अपरान्ह ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। सीलाई स्वागत गर्न सबै मन्त्रीहरू पौने ४ बजे विमानस्थलमा पुग्ने तयारीमा छन्।

‘हामी सबै मन्त्री पौने ४ बजे विमानस्थल पुग्नेछौं, राष्ट्रपति र प्रधानमन्त्री सी ओर्लनु केही समयअघि आउनुहुन्छ’, एक मन्त्रीले नेपालखबरसँग भने।

ती मन्त्रीका अनुसार राष्ट्रपति सीको नेपाल भ्रमणका सबै तयारी प्रधानमन्त्रीको सिधा निर्देशन र अनुगमनमा भएको छ। प्रधानमन्त्री ओलीले सुरक्षा तयारीदेखि स्वागतको तयारीसम्म आफैंले अनुगमन गरेका छन्। शनिबार बिहान ओलीले सी हिंड्ने सडक र स्वागतद्वारहरूको अनुगमन गरेका थिए।

२३ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपतिलाई स्वागत गर्न विशेष तयारी गरिएको छ। विमानस्थलमा पनि उच्च सम्मान दिने तयारी छ।

अर्का एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले बिहिबार मन्त्रीपरिषद बैठकमा नेपालले चीनलाई दिनसक्ने अन्य कुरा नभएकाले उच्च सम्मान दिने बताएका थिए।

‘चीनका राष्ट्रपतिलाई दिने सम्मान नै हो, त्योबाहेक हामीले दिनसक्ने केही छैन’, मन्त्रीपरिषदमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘त्यसैले राष्ट्रपति र म दुबै स्वागत गर्न विमानस्थल जाँदैछौं।’

राष्ट्रपति र प्रधानमन्त्री नै स्वागत गर्न जाने भएपछि मन्त्रीहरू जाने नै भए। साथै प्रधानन्यायधीश र सबैधानिक अंगका प्रमुखहरु पनि सीलाइृ स्वागत गर्न विमानस्थल पुग्दैछन्।

राष्ट्रपति सीको स्वागतका लागि राष्ट्रसेवक कर्मचारी माइतीघर मण्डलादेखि बानेश्वरसम्म लामबद्ध भएर बसेका छन्। सीको स्वागत र विदाइमा माइतीघरदेखि बानेश्वरसम्म बस्न शुक्रबार नै आधिकारिक ट्रेड युनियन मार्फत कर्मचारीलाई आग्रह गरिएको थियो।

दुई दिने नेपाल भ्रमणमा शनिबार अपरान्ह काठमाडौं आइपुग्ने राष्ट्रपति सीले आज नै राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

साँझ सवा ७ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीलाई होटल सोल्टीमै पुगेर भेटवार्ता गर्नेछन्। त्यसपछि राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रोभोजमा सी सहभागी बन्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .