ad ad

राजनीति


सी भ्रमणमा ‘विरोध गर्न पाउँ’ भन्दै जिल्ला प्रशासनमा निवेदन

सी भ्रमणमा ‘विरोध गर्न पाउँ’ भन्दै जिल्ला प्रशासनमा निवेदन

चन्द्रलाल गिरी
असोज २३, २०७६ बिहिबार १३:३५,

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समय नजिकिँदै गर्दा नयाँ र अनौठो लाग्ने विरोधका शैलीहरु देखिन थालेका छन्।

यसअघि नेपालमा चीनबाट उच्च भ्रमण हुँदा तिब्बती शरणार्थीले मात्रै विरोध गर्दै आएकामा अब मधेसी युवा र मानवअधिकार संगठन समेत थपिएका छन्।

राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आइपुग्दै छन्। सी असोज २५ गते भारतको चेन्नईबाट सोझै काठमाडौं आउने र २६ गते आइतबार बेइजिङ फर्कने कार्यक्रम छ।

सी भ्रमणको समयमा चिनियाँ भीसा काउन्सिल कार्यालय हात्तिसार अगाडि शान्तिपूर्ण विरोध कार्यक्रम गर्न पाउँ भन्दै मानवअधिकार तथा शान्ति समाजको युवा संगठनले बिहिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएको छ।

banner3

बुधबार राति बिजुलीबजारस्थित धोवी खोलाको पुल र तिनकुनेमा सी भ्रमणको स्वागतमा टाँगिएका ब्यानर च्यातिएको भोलिपल्ट विरोधका लागि निवेदन परेको हो।

मानवअधिकार तथा शान्ति समाजको युवा संगठनका केन्द्रीय संयोजक बिपी पौडेलले विरोध प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गराएका छन्।

‘उत्तर कोरियाको परमाणु अस्त्र निशस्त्रीकरणमा चीनले रहस्यात्मक भूमिका खेलेको, जलवायु परिवर्तन गर्नमा बढी कार्वन उत्पादन गरेको र लिपुलेकबाट नाका खोल्ने सम्बन्धमा नेपालको सहमतिबिना भारतसँग सम्झौता गरेको कारणले चीनको विरोध गर्नुपर्ने’ उक्त निवेदनमा दाबी गरिएको छ।

banner2

मधेसी युवा किन विरोधमा?
यता अर्कोतिर मधेसी युवाहरु पनि सी भ्रमणको समयमा विभिन्न स्वरुपका विरोध–प्रदर्शन गर्न लागि परेका छन्। प्रदर्शन गर्ने र ब्यानर च्यात्ने मात्र होइन, सामाजिक संजालमा समेत मधेसी युवाहरुले सी भ्रमणको विरोध गर्न थालेका छन्।

नेपाल फाउन्डेसनका अध्यक्ष विकास ठाकुरले फेसबुक र ट्विटरमार्फत सीको भ्रमणबाट सत्तारुढ दल नेकपालाई मात्र फाइदा हुने जिकिर गर्दै नेपाली चेलीलाई चीनमा लोभ देखाएर यौन शोषण भइरहेको, चिनियाँ नागरिकहरुले नेपालमा एटीएम हयाकिङ गरी बैंक लुटेको आरोप लगाएका छन्।

उनले फेसबुक पेजमा आफू नेपाली काँग्रेस पार्टीमा सक्रिय भएको परिचयमा खुलाएका छन्। ठाकुरको भारतीय जनता पार्टी (भाजपा) का नेता भगवत सिंह कोसियारी र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ लगायतसँग सम्पर्क रहेको देखिन्छ।

banner5

विकासले फेसबुक र ट्विटरमा स्टाटस लेखेको एक दिन अघि बुधबार राति सीलाई स्वागत गर्न काठमाडौंमा राखिएका ब्यानर च्यातिएको आरोपमा रौतहट घर भई हाल काठमाडौंको पूरानो बानेश्वरमा बस्ने ३० वर्षीय राजकुमार ठाकुर पक्राउ परेका छन्।

पुरानो वानेश्वरमा ‘एरोना ब्युटी सैलुन’ चलाइरहेका ठाकुरको राजनीतिक पृष्ठभूमि भने खुल्न सकेको छैन। ठाकुरसँगै उदयपुर घर भएका ३६ वर्षीय गोपाल सार्की पनि पक्राउ परेका थिए। उनीहरु दुवैलाई प्रहरी वृत्त बानेश्वरमा अनुसन्धानका लागि राखिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले मादक पदार्थ सेवन गरेर ब्यानर च्यातेको देखिए पनि सी भ्रमणको विरोध गर्ने योजना अनुसार नै यस्तो गरिएको विभिन्न घटनाबाट देखिन्छ।

अघिल्लो महिना सी भ्रमणको तयारीका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यीविरुद्ध पनि समाजवादी पार्टी नेपालकी नेतृ सुनिता साहको नेतृत्वमा विरोध प्रदर्शन भएको थियो। सो प्रदर्शनमा सहभागी नारी चेतना समाजकी अध्यक्ष शोभा डंगोलसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

मधेस मिडिया हाउसका अध्यक्ष राजेश अहिराज मधेसको एउटा शक्ति सी चिनफिङको भ्रमणको विरोधमा सक्रिय भएको दाबी गर्छन्।

‘पहिचान नखुल्ने गरी मधेसको एउटा समूहले सी भ्रमणको समयमा प्रदर्शनहरू आयोजना गर्ने तयारी गरेको छ’, अहिराज भन्छन्, ‘छिमेकी मुलुकको राष्ट्र प्रमुखको भ्रमणलाई हामीले स्वागत गर्नुपर्दछ। देशभित्रको अन्तरविरोध देखाउँनु हुँदैन भन्ने मेरो मान्यता छ, तर मधेसका कतिपय साथीहरुलाई यो कुरा मन परेको छैन।’

चीनले मधेसमा पनि रेलमार्ग, हुलाकी सडक र कृषिको आधुनिकीकरण गर्ने परियोजना ल्याउनु पर्ने तर्क गर्दै उनले भने, ‘चीनले मधेसमा आयोजना ल्याएन भन्ने गुनासो छ।’

प्रदेश २ का कम्तिमा पाँचजना पूर्व र हाल प्रतिनिधि सभामा सदस्य रहेका व्यक्तिले निर्वासित तिब्बती धार्मिक नेता दलाई लामासँग भेटवार्ता गरेको सार्वजनिक भइसकेको छ। अहिराजका अनुसार मधेसमा १२ पटक भन्दा बढी चीनको झण्डा जलिसकेको छ।

प्रदेश २ सरकारले चीनबाट जर्सी गाई ल्याउने सहमती गरेलगत्तै गत चैतमा मधेसमा चीनविरुद्ध नारा लाग्यो। जनकपुर र सप्तरीको राजविराजमा चीनविरोधी नारा लागेको थियो। सम्झौता गर्ने प्रदेश सरकारलाई दबाब दिनुको साटो युवाहरू सोझै चीनविरुद्ध लच्छित गर्न अग्रसर भएका थिए।

‘तेस्रो मधेस आन्दोलनको बेला काठमाडौंलाई झुकाउन मधेसले नाकाबन्दी लगाएको थियो तर चीनले काठमाडौंलाई १३ लाख लिटर प्रेटोल उपहार दिएर हाम्रो आन्दोलन फेल बनाइदियो’, राजपा अध्यक्ष मण्डलका एक सदस्य अनिल झाले भनेका छन्, ‘यो कुरा मधेसी जनताले बिर्सेका छैनन्।’

ठाकुरले चीनले मधेसलाई विकास र सहयोगका दृष्टिकोणले नहेरेको हुनाले सांकेतिक रुपमा विरोध गरेको दाबी गरे। उनले त्यस्ता विरोध कहाँ कहाँ हुन्छन् भन्ने खुलाउन चाहेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .