ad ad

राजनीति


केसीको राजनीतिक चरित्रमा ब्यक्तिगत आक्षेपले कुनै आँच पुर्‍याउँदैनः मसाल

केसीको राजनीतिक चरित्रमा ब्यक्तिगत आक्षेपले कुनै आँच पुर्‍याउँदैनः मसाल

नेपालखबर
असोज १०, २०७६ शुक्रबार १३:३८,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले विभिन्न पत्रपत्रिकामा नेता चित्रबहादुर केसीको चरित्रमाथि आक्षेप लगाउने प्रयत्न गरेको भन्दै आपत्ति प्रकट गरेको छ।

केसीका विरुद्ध प्रचार गरिने कुनै व्यक्तिगत आक्षेपले उनको राजनीतिक चरित्र र नैतिकतामा आँच पुर्‍याउन नसक्ने पनि मसालले प्रष्ट पारेको छ।

केही दिन अघि कतिपय सञ्चारमाध्यमले ‘चित्रबहादुर केसीले आफ्ना नातीहरुलाई जापान पठाउनका लागि बाबुआमा नै परिवर्तन गरिदिएको’ भन्ने समाचार प्रकासित गरेका थिए।

शुक्रबार पार्टी महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकासित गरी नेपालको प्रजातान्त्रिक र वामपन्थि आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका केसीको ब्यक्तिगत कुरा उछालेर राजनीतिक चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन्। नेपालको राजनीतिमा वा कम्युनिस्ट आन्दोलनमा व्यक्तिगत आक्षेपहरू लगाएर चरित्र हत्या गर्ने कार्य लामो समयदेखि हुँदै आएको बताउँदै महामन्त्री सिंहले त्यस्ता आक्षेपले केसीको निश्कलंक छवीमाथि कुनै असर पार्न नसक्ने बताएका हुन्।

वक्तव्यमा भनिएको छ, ‘नेपालको राजनीतिक र कम्युनिस्ट आन्दोलनमा का। के।सी।को अत्यन्त उज्ज्वल चरित्र रहेको छ। पञ्चायती तानाशाही कालदेखि नै देशमा चल्दै आएका सबै जनतान्त्रिक र वामपन्थी सङ्घर्षहरूमा उहाँको लामो, महत्वपूर्ण, सक्रिय र जुझारू भूमिका रहँदै आएको छ। नेपालमा लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतका पक्षमा वा सङ्घीयताका विरुद्ध तथा जनजीवनसित सम्बन्धित विभिन्न प्रश्नहरूमा उहाँको महत्वपूर्ण योगदान रहँदै आएको छ। संसदमा र सरकारमा गएको बेलामा कैयौँ नेताहरूको राजनीतिक पतन हुने गरेका थुप्रै उदाहरणहरू हाम्रा अगाडि छन्। त्यो अवस्थामा पनि उहाँले आफ्नो निष्कलङ्क चरित्रको प्रदर्शन गर्नुभयो र देशको राजनीतिमा उहाँले आदर्श छवि स्थापित गर्नुभयो। त्यस प्रकारको पृष्ठभूमिमा उहाँका विरुद्ध प्रचार गरिने कुनै व्यक्तिगत आक्षेपले उहाँको राजनीतिक चरित्र र नैतिकतामा आँच पुर्‍याउन नसक्ने कुरा प्रष्ट छ।’

महामन्त्री सिंहले नेपालको राजनीतिमा वा नेपालको कम्युनिस्ट आन्दोलनमा पनि व्यक्तिगत आक्षेपहरू लगाएर चरित्र हत्या गर्ने कार्य लामो समयदेखि हुँदै आएको बताउँदै भनेका छन्, ‘कसैका विरुद्ध राजनीतिक रूपले सङ्घर्ष गर्न नसकेपछि व्यक्तिगत कुराहरू उठाएर वा चरित्रहत्या गर्ने तरिकालाई लेनिनले सिद्धान्तहीन र अराजनीतिक तरिका बताएका छन्। त्यस प्रकारको अभ्यास नेपालको वामपन्थी आन्दोलनमा पनि बारम्बार गरिंदै आएको छ। त्यो सिद्धान्तहीन र अराजनीतिक तरिका अहिले का केसीका सन्दर्भमा पनि देखा परेको छ। हामीले त्यस प्रकारको प्रयासलाई कडा शब्दमा भत्र्सना गर्दछौँ।’

देशी वा विदेशी प्रतिक्रियावादी शक्तिका विरुद्ध केसीले लगातार सम्झौताहीन प्रकारले विरोध वा भण्डाफोर गर्ने नीति अपनाउँदै आएकाले उनीहरू केसीका विरुद्ध अत्यन्त असन्तुष्ट र क्षुब्ध बनेको, संघीयताको लगातार र कडा विरोध गर्ने गरेको हुनाले उनको हत्या गर्ने धम्की समेत दिइएको र प्रतिक्रियावादीहरूले उहाँलाई उपप्रधानमन्त्रीबाट वर्खास्त गर्न संसदमा आवाज उठाएको कुरा पनि आम रूपमा थाहा भएको कुरा पनि सिंहले स्मरण गराएका छन्।

खासगरी भारतीय ‘साम्राज्यवाद’ले केसीको चरित्र हत्या गरेर राजनीतिक जीवन नै समाप्त पार्न खोजेको भन्दै महामन्त्री सिंहले त्यस्ता आक्षेपहरुबाट केसीलाई कुनै असर नपर्ने बरु आउने दिनमा राजनीतिमा केसीको भूमिका अझ प्रभावकारी बन्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .