ad ad

राजनीति


बरियता विवाद: यस्तो थियो कुनै बेला ओलीको संकट

बरियता विवाद: यस्तो थियो कुनै बेला ओलीको संकट

मणि दाहाल
भदौ ३, २०७६ मंगलबार १०:१४,

नेकपाका आइतबार भएको सचिवालय बैठकले वरियता हेरफेरको निर्णय गर्‍यो। त्यसअनुसार तेस्रो स्थानमा रहेको माधवकुमार नेपाल चौथो स्थानमा पुगेका छन्। चौथो स्थानमा रहेका झलनाथ खनाललाई तेस्रो स्थानमा उक्लिएका छन्।

२०७४ जेठ ३ गते एकीकरण हुँदा नेपाललाई तेस्रो र खनाललाई चौथो बनाइएको थियो। तत्कालीन एमालेको निवर्तमान अध्यक्षमा हैसियतमा पार्टी वरियतामा दोस्रो नम्बरमा रहेको भन्दै खनालले दुई अध्यक्षभन्दा पछि तेस्रो नम्बर आफूले पाउनु पर्ने बताउँदै आएको थिए।

पार्टीको आन्तरिक समिकरणमा परिवर्तन भएपछि खनालको माग १५ महिनापछि पूरा भएको छ। नेकपा बन्नुअघिको एमाले र अन्य दलमा वरिष्ठता विवाद देखिएको यो पहिलो पटक भने होइन।

आठौं महाधिवेशनपछिका लामो समयसम्म प्रधानमन्त्री तथा अध्यक्षमा केपी शर्मा ओली पनि वरियताको विषयमा असन्तुष्ट थिए। बुटबलमा भएको आठौं महाधिवेशनमा अध्यक्षमा खनालसँग पराजित भएका ओलीको वरियताक्रम सचिवभन्दा पछि थियो। तत्कालीन अध्यक्ष खनालपछि तत्कालीन निवर्तमान महासचिवको हैसियतमा नेपाल दोस्रो वरियतामा थिए। त्यसपछि पदाधिकारीहरु रहेका थिए। गौतम तेस्रो नम्बरमा रहेका थिए । त्यसपछि मात्रै ओलीको वरियता आउँथ्यो।

तल्लो वरियतामा पछि परेका ओली पार्टीका सार्वजनिक कार्यक्रमहरुमा समेत धेरै देखा पर्दैनथे। जानैपर्ने कार्यक्रम भए पनि आसन ग्रहण सकिएपछि बीचमा मात्रै पुग्थे। कार्यक्रम चलिरहेको अवस्थामा जाँदा असन ग्रहणको कुनै समस्या हुँदैनथ्यो।

पहिलो संविधानसभाको कार्यकालको अन्त्यतिर तत्कालीन एमालेभित्र एकल जातीय पहिचानको विषयमा विवाद चर्किदै गर्दा अशोक राईहरुविरुद्ध गौतम र ओलीबीच सहकार्य भएको थियो। त्यतिबेला वरियतामा देखिएको विवादलाई समाधान गर्न गौतमले आफू चौथो वरियताको नेता भएको घोषणा गरेका थिए। उनको निर्णयबाट ओली तेस्रो स्थानमा पुगेका थिए।

वि.सं. २०५३ फागुन २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा तत्कालीन एमाले बामदेव गौतमको नेतृत्वमा सहभागी भएको थियो। सो सरकारमा एमालेबाट झलनाथ खनाल र राधाकृष्ण मैनाली सहभागी थिए । खनालले पार्टीमा मैनालीभन्दा बरिष्ठ रहेको र पहिले मन्त्री भइसकेको भन्दै वरिष्ठता सच्याउन लगाएका थिए।

‘स्थायी कमिटीले उमेर आधारमा वरिष्ठता निर्धारण गर्न निर्णय गरेको थियो। त्यसैअनुसार खनालभन्दा वरिष्ठतामा म अघि थिएँ। सपथग्रहणको १५ दिनपछि नयाँ वरिष्ठता कायम गरियो,’ राधाकृष्ण मैनाली भन्छन्, ‘कुर्सीको नम्बरले केही गर्दैन गर्नुपर्ने काम हो भन्दै मैले त्यसलाई स्वीकार गरेँ।’ चन्द नेतृत्वको सरकारमा पछिल्लो वरिष्ठताक्रममा खनाल पाँचौ र मैनालीलाई नवौं स्थानमा रहे। खनाल सूचना तथा सञ्चार र मैनाली स्वास्थ्यमन्त्री बनेका थिए।

कांग्रेस र तत्कालीन माओवादी पनि अछुतो छैनन्
वरिष्ठताको विवादमा पूर्व माओवादी पनि अछुतो छैन। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचमा तत्कालीन एकीकृत नेकपा माओवादीमा समेत देखिएको थियो। पहिलो नम्बरमा दाहाल र त्यसपछि मोहन वैद्य रहने विषयमा कसैमा विवाद थिएन। एकता केन्द्र र माओवादी मिलेर बनेको पार्टीमा श्रेष्ठलाई तेस्रो वरियता दिने गरी पार्टी एकीकरण गरिएको थियो। त्यसप्रति भट्टराईको आपत्ति रहेको थियो। पछि भट्टराईलाई तेस्रो वरिष्ठता दिएर मिलाइएको थियो।

वरिष्ठताको विवादबाट कांग्रेस पनि अछुतो छैन। पछिल्लो समयमा केन्द्रीय सदस्यहरु मिनेन्द्र रिजाल र प्रकाशशरण महतबीच त्यस्तो विवाद दिएको थियो। रिजालले महत र महतले रिजालभन्दा आफूलाई वरिष्ठ नेता हुनुपर्ने बताउँदै आएका छन्। सुशील कोइरालाको कार्यकाल भर दुवैले केन्द्रीय समितिमा बैठकका माइन्युटमा हस्ताक्षर नगरेरै बिताए।

कांग्रेसमा पनि गोपालमान श्रेष्ठले पूर्व महामन्त्रीभन्दा आफूलाई पुछारमा राखेको भन्दै आपत्ति जनाएका थिए। त्यसअनुसार उनी आफू वरिष्ठ भएको दावी गर्दथे। पूर्व उपसभापति रहेको भन्दै पदाधिकारीहरुभन्दा पछिको पहिलो नम्बरको केन्द्रीय सदस्य आफू हुनुपर्ने दाबी गरेका थिए। वरिष्ठ २२ केन्द्रीय सदस्यहरुलाई राखेर केन्द्रीय कार्य सम्पादन समिति बनाउने निर्णयपछि विवाद उत्पन्न भएको थियो।

वरिष्ठता निर्धारण गर्दा प्रकाशमान श्रेष्ठ, कृष्णप्रसाद सिटौलापछि श्रेष्ठलाई राखिएको थियो। तर श्रेष्ठले आफू पूर्व उप सभापति भइसकेको नेता भएको भन्दै पूर्व महामन्त्रीहरु श्रेष्ठ र सिटौलाभन्दा वरिष्ठता अघि हुनुपर्ने माग गरेका थिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .