नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल (औपचारिक रुपमा घोषणा हुन बाँकी) ले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका छन्।
शनिबार सबै जिल्लाको मतगणना सकिएको र आफ्नो जित सुनिश्चित भएपछि विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनै पनि कुरामा दलीय एजेन्डाको प्रभाव पर्न नदिने बताएका हुन्। यस्तै श्रमजीवि पत्रकारहरुको हक हितका मुद्दाहरुलाई अगाडि लैजाने सम्बन्धमा आफूले कहीँकतै सम्झौता नगर्ने प्रतिवद्धता पनि जनाए।
यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिवद्धता जनाएका छन्। उनले महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि बताए।
महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेसनिकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्रनिकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूहनिकट प्रेस चौतारी सहित ११ संगठनको तर्फबाट रहेको थियो।
महासंघको अध्यक्षमा नेकपा एमालेको ओली समूहनिकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लवनिकट जनपत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो। त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिए।
प्रतिक्रिया