ad ad

राजनीति


योगेश भट्टराईलाई असफल बनाउन सबै लाग्छन्ः रामकुमारी झाँक्री (अन्तर्वार्ता)

योगेश भट्टराईलाई असफल बनाउन सबै लाग्छन्ः रामकुमारी झाँक्री (अन्तर्वार्ता)

मणि दाहाल
साउन १८, २०७६ शनिबार १२:१६,

रामकुमारी झाँक्री सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा सांसद हुन्। देखेका कुरा स्पष्ट बोल्ने झाँक्री पछिल्लो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक रहँदै आएकी छन्। योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त भएपछि बिहीबार पनि झाँक्रीले सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिइन्। संसद र पार्टीमा कडा रुपमा प्रस्तुत भइरहेकी रामकुमारी झाँक्रीले पर्यटनमन्त्री योगेश भट्टराईको नियुक्तिमा पनि किन त्यस्तै प्रतिक्रिया दिइन्? नेपालखबरको प्रश्नमा पढौं झाँक्रीको जवाफः

त्यो स्ट्याटसमा त्यस्तो अनर्थ, बेअर्थ वा नकारात्मक अर्थ लाग्ने केही छ र? तर, शब्दको अभिधा, व्यञ्जना र लक्षणा विभिन्न अर्थ हुन्छ नै। त्यो शब्दशास्त्रीले जान्ने कुरा हो। त्यसलाई फरक–फरक रुपमा व्याख्या गर्न सकिन्छ।

तपाईंले अहिले सरकारमा जानु भनेको भुंग्रोमा पर्नु हो भनेर टिप्पणी गर्नु भएको छ। त्यस्तै हो त?
गत वर्ष सरकार गठन गर्दाको समयमा सरकारमा जाने मानिसका लोकप्रियताको पारो माथि थियो। जुनसुकै विचार राख्ने मानिस हुन वा जे सुकै मिसन राखेका सञ्चारमाध्यमहरु हुन्, सबैले यो पूर्ण बहुमत प्राप्त गरेको कम्युनिस्ट पार्टीको सरकार, स्थिर सरकार भनेर धेरै अपेक्षा गरेका थिए। यो धेरै हाइहाई भएको सरकार हो। अहिले एक वर्ष हुँदा यसको डिग्री घट्दै–घट्दै गएको छ। पार्टीका कोही पनि नेताहरू आफ्नो पार्टीको लोकप्रियता घटेको कुरा सुन्न चाहँदैनन्। मैले राम्रो भनिदिनुपर्छ, सरकार ठीक छ भनेर भनिदेओस् भन्ने एकथरी चाहन्छन्। तर, म समाजको यथार्थमा बाँच्न चाहन्छु।

हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारी दाइको असामयिक निधन भएपछि पर्यटन मन्त्रालय पाँच महिना खाली भयो। यसमा यति धेरै विकृति बढ्यो कि त्यत्रो तामझाम र हल्लाखल्लासहित ल्याएको वाइडबडी जहाज आज बिजनेस नपाएर ग्राउन्डेड भएर बसेको छ। डलरमा तलब खुवाउने गरी चाहिनेभन्दा बढी संख्यामा पाइलटहरु राखिएको छ। त्यसको बेथितिको के के कुरा गर्ने, किस्ता बुझाउने हालतमा वायु सेवा निगम छैन। तोकिएको ठाउँमा उडाउन सकेको छैन। विमास्थलको अवस्था त्यस्तै छ। प्रधानमन्त्रीलाई यो कुरा पहिल्यै थाहा हुनुपर्ने हो। यति ढिलो गरी जिम्मेवारी दिने कुरा गर्नुभयो।

योगेश भट्टराई दाइसँग सोसल मिडियामा अघिपछि नक्कली कुरा गर्नेभन्दा मेरो सम्बन्ध फरक हो। विगत २४ वर्षदेखि आन्दोलनका सजिला वा अफ्ठ्यारा दिनहरूमा हामी सँगसँगै छौं। त्यसैले दाइले के गर्नसक्नु हुन्छ, हुन्न भन्ने हामीलाई थाहा छ। तर, काम गर्ने वातावरण छ कि छैन भन्ने मुख्य प्रश्न हो। त्यही कुरालाई मात्रै अभिव्यक्त गरेकी हुँ मैले।

असहज भनेको भित्र वा बाहिर कसबाट हुने हो?
आमरुपमा सरकारसँग होप (आश) कम भएको स्थिति छ। दोस्रो पर्यटन मन्त्रालयको अवस्था पनि लथालिङ्ग छ। यसअघि आएका गुनासा के हुन भने बालुवाटारबाट सबै कर्मचारीको ‘माइक्रो म्यानेजमेन्ट’ हुन्छ। ‘फस्टक्लास अफिसर’ पनि उतैबाट सारिन्छ। मन्त्रीको सल्लाहबिना सचिवहरु हेराफेर गरिन्छ। कतिपय स्थानमा राजनीतिक नियुक्ति दिने कुरामा बालुवाटार नै सल्लाहकार हुन्छ भनेर सुनिआइएको कुराले कतै योगेश दाइलाई त्यस्तै अप्ठेरो त गराउन खोजेको होइन भन्ने शंका हो।

तपाईंको आशय उहाँलाई असफल गराइन्छ भन्ने हो?
योगेश दाइ भुंग्रोबाट निस्कन सक्ने मानिस हो। तर, अब असफल बनाउन सबै तत्व लाग्छन्। यो चाहिँ सत्य हो।

सरकार वा मन्त्रीहरूलाई पार्टी भित्रैबाट बढी असहयोग हुने गरेको चर्चा छ नि?
सरकारले पार्टीबाट सहयोग कहाँ लिएको छ र? घर–घरमा सहयोग गर्छु भन्दै जाने कुरा पनि भएन। पार्टीमा ८ लाख सदस्यको शक्ति छ, त्यो कहाँ प्रयोग भएको छ? सरकारले पार्टी चलाएको छ भनेर भन्दै आएकी हुँ। पार्टीको ठूलोे शक्तिको प्रयोग सरकारले गरेकै छैन। एक जनाले सोच्ने र पाँच जनाले ताली बजाउने काम भएको छ। सरकारमा बस्नेले सहयोग खोजेकै छैनन्। हामीले अफ्ठ्यारोमा परेपछि पुनर्विचार गरौँ भनेर भनेको हो। संसदमा ठिक ढंगले छलफल भएन भने स्थगन गरौँ। राम्रोसँग तयारी गरौँ भनेर हामीले गत सालदेखि जिम्मेवार रुपमा भन्दै आएका छौँ। म पनि जिम्मेवारीपूर्ण कुरा गर्ने मानिस हुँ। धेरै मानिसले मेरो स्ट्यासको कुरालाई उछालेका छन्, जे हो सत्य त्यही हो।

संसदमा सरकारको व्यापक विरोध हुँदै आएको छ। सत्तारुढ दलकै सांसदहरुले रोस्टममा मौन धारणा गर्नेदेखि बजेट फिर्ता गर्ने समेत कुरा गरेका छन् त?
पार्टी र सरकारको संसदमा कसैले विरोध गरेको छैन। सरकारमा भएका केही मानिसको प्रवृत्तिको खुलेर विरोध भएको छ। सरकारमा गएका केही प्रवृत्ति, शैली, चिन्तनको विरोध भएको हो। पहिलो बजेटबाट नै यस्तो हुँदै आएको छ। विरोधका धेरै कारण छन्।

जनताको अपेक्षामा सरकार अनुत्तीर्ण भएको हो?
सार्वजनकि रुपमा भन्दा मैले मेरो सरकारले राम्रो गरेको छ भन्नुपर्छ। यो मैले भोट हाल्ने कुरा होइन। कार्यकर्ताका हिसाबले मैले सरकारका विषयमा टिप्पणी गर्न आवश्यक छैन होला। तर, जनताले आफैँ भन्नुहोला नि। प्रजातन्त्रमा सबैलाई भन्ने छुट छ। सांसद भएर जनताका हिसाबले जे हो त्यो लेखिसकें। पार्टीको केन्द्रीय सदस्य र सांसदको हिसाबले पनि त्यति भन्न मिल्छ। जुन निर्णय प्रक्रियामा स्वामित्व छैन त्यस विषयमा भन्न मिल्छ।

आलोचना धेरै भयो। पार्टी र सरकारमा सुधार गर्नुपर्ने विषयहरु के के हुन त?
सबैभन्दा पहिलो कामको न्यायोचित विन्यास हुनुपर्छ। सबैलाई न्यायोचित जिम्मेवारी दिएर पार्टी सञ्चालन हुनुपर्छ। पार्टी चलाउने भनेको सदस्यता शुल्क उठाउने, नवीकरण गर्ने, गुटबन्दी गर्ने, भोट माग्ने, बाक्सा थाप्ने, चुनाव जित्ने मात्रै होइन होला।

पार्टीभित्र विचारधाराको काम पनि गर्नुपर्छ। राजनीतिक काम पनि गर्नुपर्छ, रुपान्तरणका कयौं काम पनि गर्नुपर्छ। समष्टिगत रुपमा पार्टी सञ्चालनको विषय राम्रो भयो भने पार्टीले निर्णय गरेर सरकार राम्रोसँग सञ्चालन हुने हो। पार्टीले निर्णय गरेर सरकार सञ्चालन भयो भने पक्कै पनि त्यसमा लाखौँ कार्यकर्ताको स्वामित्व स्थापित हुन्छ। सरकारले गरेका सबै कुराको स्वामित्व पार्टी सदस्यले लिन्छन्। जनता र सरकारबीचको पुलका रुपमा पार्टी सदस्यले नै काम गर्छन्। त्यो अवस्था सिर्जना भयो भने राम्रो हुन्छ।

हामीसँग समय गुज्रिसकेको होइन, अझै बाँकी छ। डेढ वर्ष मात्रै गुजार्यौं अझै साढे तीन वर्षको समय हामीसँग छ। नेतृत्वले चाहने हो भने सुधारेर अगाडि बढ्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .