ad ad

राजनीति


बादल ओलीको ‘एसम्यान’ मा बदलिएको प्रचण्डले किन चाल पाएनन्?

बादल ओलीको ‘एसम्यान’ मा बदलिएको प्रचण्डले किन चाल पाएनन्?

उजिर कार्की
पुस ९, २०७७ बिहिबार १६:१६,

प्रतिनिधिसभा विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ। यतिबेला थुप्रै नेता तथा कार्यकर्ता दोधारमा छन्– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको समूहमा जाने कि केपी शर्मा ओलीको समूहमा? केही दिन यस्तै दुविधाको सामना गरेर गृहमन्त्री रामबहादुर थापा बादलले अन्ततः ओलीलाई रोजेका छन्।

थापाको यो रोजाइले धेरैलाई आश्चर्यमा पारेको छ। किनभने लामो समयदेखि उनी प्रचण्डसँग राजनीतिक सहकार्य गरिरहेका थिए र केही वर्ष त्यसमा ब्रेक लगाएपनि उनी फेरि प्रचण्डसँगै पुगेका थिए। ०७४ को आम चुनावपछि बनेको ओली सरकारमा पनि प्रचण्डले थापाकै नेतृत्वमा पूर्वमाओवादी समूहलाई सरकारमा पठाएका थिए, जुन बेला एमाले र माओवादी अलग अलग थिए।

तर, सूक्ष्म रुपमा नियाल्ने हो भने थापाले धेरैअघि नै नेकपामा प्रचण्डको साथ छाडिसकेका थिए। पार्टीमा दुई पक्षबीच चलिरहेको शक्तिसंघर्षमा थापा मौन बसेको आरोप थियो। तर, वास्तवमा उनी मौन थिएनन्, खुरुखुरु ओलीको आदेश मानिरहेका थिए। थापाको नेतृत्वमा गृह मन्त्रालयले गरेका कामकारबाहीहरुलाई हेर्दा यो प्रस्ट हुन्छ।

सुरुमा गृहसचिव थिए ओलीका विश्वासपात्र प्रेम राई। उनीमार्फत नै ओली गृहमा हावी भएको र थापालाई काम गर्न नदिइएको भ्रममा रहे प्रचण्ड। त्यसैले पूर्वमाओवादी समूहले उनीमाथि प्रश्न गरेन। तर, राईको अवकासपछि पनि गृह मन्त्रालयमा ओलीकै बोलवाला चल्यो।

पछि महेश्वर न्यौपाने गृह सचिव बने। उनले पनि ओलीलाई सघाएको आरोप लाग्यो। अन्तरमुखी स्वभावका थापाको भूमिकामा माओवादी समूहले तब शंका गर्‍यो, जब ओली र प्रचण्डबीच सम्बन्ध चिसिँदै गयो। नेकपा विवाद सचिवालय बैठकमा प्रवेश गर्दा थापा ओलीको पक्षमा लागे।

प्रचण्डले थापासहित माओवादी समूहबाट सरकारमा सहभागी भएकालाई फिर्ता बोलाएर नयाँलाई मौका दिने तयारी गरे। खासगरी गत भदौको सहमतिपछि त्यो तयारी भयो। तर, ओलीले थापालाई तत्काल फेर्न चाहेनन्। जसले थापा र प्रचण्डबीचको दुरी झनै बढ्यो। थापा ओलीसँग नजिक हुँदै गए।

गृह मन्त्रालय आफ्नो समूहले चलाएपनि ओली नै हावी भएको र प्रचण्डको कुरा कार्यान्वयन हुन छाडेको पूर्वमाओवादी समूहमा चर्चा हुन थल्यो। करिब ८ महिनापहिले भएको १० डीआईजी बढुवामा समेत त्यसको असर देखिएको थियो।

ओलीले चाहेका डीआईजी अगाडि र प्रचण्डले रुचाएकाहरु पछाडि धकेलिए। अन्य सरुवा बढुवामा पनि यस्तै असर देखियो। गृहमन्त्री भने त्यतिबेला पनि मौन रहे। सरकारले केही समय पहिले एकजना एआईजीको दरबन्दी थप गर्‍यो। त्यसमा उपप्रधानमन्त्री ईश्वर पोखरेल हावी भएको चर्चा चल्यो।

उसो त थापाले कहिल्यै गृह मन्त्रालयको काममा ओलीले हस्तक्षेप गरेको बताएनन्। बरु, अरुले नै प्रधानमन्त्रीले हस्तक्षेप गरेको भनिदिए। नेकपाभित्रै चर्को विरोध हुँदा पनि ओलीले चाहेअनुसार नै एआईजी बढुवा भइ छाड्यो। राज्य व्यवस्था समितिमा जवाफ दिन उपस्थित भएका थापाले कुनै आपत्ति जनाएनन् र बढुवा प्रक्रियासम्मत रहेको जवाफ दिए।

थापाले ओलीको ‘एसम्यान’ जसरी काम गरिरहेपनि माओवादी समूह भने उनका बारेमा बिहीबारसम्म पनि प्रस्ट थिएन। थापाको–ओली निकटतालाई त्यो समूहले ओली हावी भएको र थापाले प्रतिकार गर्न नसकेको रुपमा बुझिरह्यो।

बादलको स्वभावले पनि त्यो भ्रमलाई बल पुर्‍यायो। उनी खुलेर बोल्दैनथे। काम भने ओलीकै इशारामा गरिरहेका थिए।

पछिल्लो समय दुवै समूहका भेलामा उनी उपस्थित भएनन्। तर जब बीचमा बस्ने समय सकियो, तब उनी ओलीतर्फ लागे। प्रचण्ड–माधव नेपाल समूहका मन्त्रीले राजीनामा दिँदा थापाले सरकार छाडेनन्।

यसले उनकै समूहलाई पनि चकित बनाएको छ। अन्तिम समयमा र निर्णायक अवस्थामा बादलले प्रचण्ड समूह नछाड्ने आँकलन त्यो समूहको थियो। तर थापाले धेरै पहिले रङ बदलेको भेउ उनीहरुले पाएनन्। अन्ततः प्रचण्डले जति जोड गरेपनि थापा फर्किएनन्।

बिहीबार ओली समूहको बैठकमा सहभागी भएका थापाले आफ्नै साथीहरुलाई ‘दुश्मनको जालमा परेको’ समेत भनिदिए। सुरुमा प्रचण्डबाट छुटेर वैद्यसँग पुगेका उनी समूह नै लिएर प्रचण्डसँग फर्किएका थिए। २०६९ सालमा पार्टी फुटेपछि प्रचण्डसँग छुट्टिएका थापा चार वर्षपछि २०७३ मा पुनः मिसिएका थिए। तर, प्रचण्डसँगको उनको पछिल्लो सहयात्रा पनि चार वर्षमै टुंगिएको छ।

थापानिकट मानिने ३६ जना केन्द्रीय सदस्य अहिले प्रचण्ड समूहमै छन्। जसको बलमा उनले पार्टीमा प्रभाव जमाएका थिए। आफ्नो हुल प्रचण्डसँगै छाडेर उनी एक्लै ओलीको गुँडतिर उडेका छन्। यो उडान उचित चाल हो कि महाभूल, त्यो भने भविष्यले नै बताउनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .