ad ad

राजनीति


मुलुक २०१७ साल पुष १ अघिको जस्तो अवस्थामा पुग्यो : मसाल

मुलुक २०१७ साल पुष १ अघिको जस्तो अवस्थामा पुग्यो : मसाल

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार १६:२३,

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले देशको अहिलेको अवस्था विस. २०१७ साल पुष १ अघिको जस्तो भएको बताएको छ।

महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार वक्तव्य प्रकाशित गरी देशमा प्रतिगामीहरुका गतिविधि बढ्दै गइरहेको भन्दै २०१७ साल पौष १ गते वा २०६१ माघ १९ गते भन्दा पहिलेको जस्तो स्थितिको सिर्जना हुँदै गएको जनाएका छन्।

२०१७ साल पुष १ गते विपि कोइराला नेतृत्वको तत्कालिन बहुमत प्राप्त सरकारलाई राजा महेन्द्रले अपदस्थ गरेका थिए भने २०६१ माघ १९ गते तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राजा ज्ञानेन्द्रले अपदस्थ गरेका थिए ।

‘आज देशमा प्रतिगामीहरुका गतिविधिहरु बढ्दै गइरहेका छन्। त्यसले गर्दा २०१७ साल पौष १ गते वा २०६१ साल माघ १९ गते भन्दा पहिलेको जस्तो स्थितिको सिर्जना हुँदै गइरहेको छ भन्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ’ सिंहले भनेका छन्, ‘त्यस प्रकारका गतिविधिहरुलाई हल्का रुपमा लिनु गम्भीर प्रकारको गल्ती, राजनीतिक अपरिपक्वता र अदुरदर्शिता तथा देश र जनताको लागि अत्यन्त घातक हुनेछ भन्ने हाम्रो पार्टीको ठहर छ। यो अवस्थामा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको लागि संघर्ष गर्नु राष्ट्रिय आवश्यकता बन्न गएको छ।’

मसालको आजै बसेको पीवीको भर्चुअल बैठकले ‘गणतन्त्र राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौँ’ भन्ने नाराका साथ देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने निर्णय पनि गरेको जनाइएको छ। यस्तै, भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर्न तथा संघीयता खारेजीका लागि पनि संघर्ष गर्नुपर्नेमा मसालले जनोड दिएको छ।

‘लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतीय साम्राज्यवादको अतिक्रमण, तराईको विखण्डनका लागि भइरहेको पृथकतावादी गतिविधि र सुस्ता सहित देशका कैयौँ भागहरुमा भारतद्वारा भएको सीमा अतिक्रमण समेतका कारणले राष्ट्रियताको रक्षाका लागि संघर्ष गर्नुपर्ने आजको राष्ट्रिय आवश्यकता भएको छ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘हामीले संघीयताका विरुद्ध पहिलेदेखि नै संघर्ष गर्र्द आएका छौँ। अब व्यवहारले नै त्यो देशका लागि राष्ट्रघाती, विकासका लागि ठूलो वाधा, जनजीवनको लागि पनि धेरै नै हानिकारक भएको कुरा प्रष्ट हुँदै गएको छ। त्यसकारण संघीयता तथा त्यसको प्रादेशिक संरचनालाई खारेज गर्न पनि संघर्ष गर्नु आजको तात्कालिक आवश्यकता भएको छ।’

मसालले देशमा भ्रष्टाचार र अव्यवस्था बढेको भन्दै गम्भीर चिन्ता पनि प्रकट गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .