ad ad

राजनीति


खुलेन पशुपति, टाढैबाट दर्शन गरेर फर्किए नरवणे

खुलेन पशुपति, टाढैबाट दर्शन गरेर फर्किए नरवणे

उजिर कार्की
कात्तिक १९, २०७७ बुधबार १२:५८,

तीन दिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले पहिलो दिन धार्मिक कार्यक्रममा बिताएका छन्।

श्रीमती विना नरवणेसहित मध्यान्ह काठमाडौं ओर्लिएका सेनाध्यक्ष नरवणे त्यहाँबाट होटल सोल्टी पुगेका थिए। त्यसअघि विमानस्थलमा वलाधिकृत रथी प्रभुराम शर्माले स्वागत गरेका थिए।

होटल सोल्टीमा केही समय बिश्राम गरेपछि उनी वशन्तपुर क्षेत्रको भ्रमणमा निस्किए। त्यहाँ कुमारी मन्दिरको दर्शन गरेर पशुपतितर्फ गए। तर नरवणेले पशुपति मन्दिमा भने प्रवेश पाएनन्। उनले पशुपतिमा साँझको आरति भने अवलोकन गरेका थिए।

कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द गरिएको छ। जुन नरवणेको भ्रमणका क्रममा समेत खुल्ला गरिएन। वागमति पारीबाटै दर्शन गरेर नरवणे होटलमा फर्किएको सैनिक श्रोतले जनाएको छ।

नरवणे ढाका टोपी र ढाकाकै खादा लगाएर धार्मिकस्थलको भ्रमणमा निस्किएका थिए।

उनको भ्रमणका क्रममा नेपाली सेनाको टोलीले विशेष सुरक्षा दिइरहेको छ। यस्तै बाहिरी भागमा नेपाल प्रहरी परिचालित छन्।

नेपाली सेनाको महारथीको सम्मान ग्रहण गर्न औपचारिक भ्रमणमा आएका नरवाणेको बिहीबारबाट औपचारिक भेटघाट समेत सुरु हुने छ।

बिहीबार बिहान उनले टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै जंगी अड्डाको निरीक्षण गर्ने छन्।

narabane-pashupati.jpg

नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलका अनुसार निरीक्षणपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल हुनेछ।

प्रधानसेनापतिसँगको छलफल लगत्तै नेपाली सेनाका उच्च अधिकारीहरुसँग छोटो भेटघाटको कार्यक्रम रहेको छ। भेटघाट सम्पन्न भएपछि भारतीय सेनाको तर्फबाट नरवणेले नेपाली सेनालाई सहयोग स्वरुप चारवटा एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन्।

ती सामग्री एउटा फिल्ड अस्पताल बराबरका हुने सैन्य श्रोतले जनाएको छ।

त्यसपछि नेपालस्थित भारतीय दूतावासमा रहेर उनले केही भेटघाट कार्यक्रम गर्नेछन्। बिहीबार दिउँसो ४ बजेतिर राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम छ।

त्यसलगतै शीतल निवासमै राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटघाट गर्नेछन्।

pashupati-naravane.jpg

शीतल निवासको कार्यक्रम सकिएपछि भारतीय सेना प्रमुख नरवणेको सम्मानमा प्रधानसेनापति थापाले रात्रिभोजको आयोजना गर्नेछन्। रात्रिभोजसँगै बिहीबारको कार्यक्रम सम्पन्न हुनेछ।

शुक्रबार बिहान उनले आर्मी कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनपछि दूतावासमा फर्किएर केही भेटघाट गर्नेछन्।

शुक्रबार दिउँसो रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने र मौसम अनुकुल भएमा माउण्टेन फ्लाइट गर्ने समेत तयारी नेपाली सेनाले गरेको छ।

शुक्रबार नै उनी स्वदेश फर्किनेछन्।

यता नरवणेको नेपाल भ्रमणका क्रममा २१ दलीय गठबन्धनले भने माइतीघरमा विरोध प्रदर्शन गरेको छ। उनीहरुले केहीबेर विरोध प्रदर्शन गरेका काठमाडौंका प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए।

भारतले नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र मिचेर सडक निर्माण गरेपछि नेपालले सो भूमिसमेत समेटेर नयाँ नक्सा जारी गरेको विषयलाई उनले ‘कसैको उक्साहटमा गरेको’ भन्ने अभिव्यक्ति दिएपछि नेपालमा उनको विरोध भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .