ad ad

राजनीति


मल नल्याएर कारबाहीमा परेको शैलुङ र केही ठेकेदारलाई भौतिक मन्त्रालयले पनि गर्‍यो कडाइ

मल नल्याएर कारबाहीमा परेको शैलुङ र केही ठेकेदारलाई भौतिक मन्त्रालयले पनि गर्‍यो कडाइ

नेपालखबर
असोज ९, २०७७ शुक्रबार १२:२०,

समयमा मल नल्याएका कारण हालै कृषि मन्त्रालयको कारबाहीमा परेको शैलुङ समुहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत उसले लिएका ठेक्का छिटो पुरा गर्न कडाइ गरेको छ।

ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनसहित उपत्यकाका सडक ठेक्का लिने अन्य कम्पनीमाथि काम समयमा सक्न मन्त्रालयले ताकेता बढाएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सार्वजनिक सूचना प्रकाशित गर्दै अधिकारीको शैलुङ र अन्य ठेकेदार कम्पनीलाई सात दिनभित्र काम सक्ने आधार प्रस्तुत नगरे ठेक्का तोडिने र कालोसूचीमा राख्ने जनाएको छ।

आयोजनाले बुधबार सूचना प्रकाशित गरी चावहिल–जोरपाटी–साँखु तथा ललितपुरको ढोलाहिटी–सुनाकोठी–चापागाउँ रोड बिस्तारसम्बन्धी काममा ताकेता गरेको छ।

चावहिल–साँखुको ३.६ किलोमिटर सडक युनाइटेड बिल्डर्स एण्ड इन्जिनियरिङ प्राली र ढोलाहिटी–चापागाउँको ३.२ किलोमिटर सडक निर्माणको ठेक्का शैलुङ र दिवा निर्माण कम्पनीले संयुक्त ठेक्का लिएका छन्।

Chabahil SankhuRoad

युनाइटेड सकुन्तला हिराचन र शैलुङ शारदाप्रसाद अधिकारीको कम्पनी हो। अधिकारी सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्ने घरधनी हुन्।

‘कम्पनीले तदारुकताका साथ काम गर्‍यो भने लकडाउनका कारण थपिएको अवधीमा काम सकिने अवस्था छ,’ काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले नेपालखबरसँग भने, ‘कम्पनीहरुले आयोजनालाई स्रोत र साधन परिचालनको विश्वासिलो आधार प्रस्तुत गर्नुपर्छ। अन्तिम समयमा आएर केही काम गरेको जस्तो गर्ने र ठेक्का अवधि थप्ने कार्य अब मान्य हुँदैन। हामी ठेक्का तोडेर कारबाही प्रक्रियामा थाल्छौं।’

चावहिल–जोरपाटी–साँखुको सडक विस्तारको ठेक्का २०७२ कार्तिक १३ गते लागेको थियो।

युनाइटेडले तोकिएको समयमा काम सकेको भए साढे दुई वर्षअघि नै सो सडक निर्माण भैसक्नु पर्थ्याे।

आयोजना प्रमुख अधिकारीले सो कम्पनीले अहिलेसम्म ८० प्रतिशत मात्रै काम सम्पन्न गरेको बताए।

‘यो कम्पनीले आज (शुक्रबार) पत्र पठाएर भोली (शनिबार)बाट काम सुरु गर्ने र समयमा सक्ने जनाएको छ,’ अधिकारीले भने, ‘समयमा सक्ने आधार देखिएन भने ठेक्का रद्द गरेर धरौटी जफत गर्ने र कालोसूचीमा राख्नका लागि प्रक्रियाअघि बढ्छ।’

पछिल्लो पटक भएको सम्झौताअनुसार सो कम्पनीले चैत मसान्तसम्म निर्माण कार्य पुरा गरिसक्नु पर्ने थियो।

तर सरकारले लकडाउनका कारण सबै निर्माण कार्यहरु सक्ने समयमा ६ महिना थपिदिएको थियो।

त्यसअनुसार सो कम्पनीले असोज ३० गतेसम्म त्यहाँको निर्माण सम्पन्न गरिसक्नु पर्ने छ।

‘बाँकी रहेको काम कम्पनीले चाह्यो भने सक्नसक्छ’ आयोजना प्रमुख अधिकारीले भने ‘समयमा काम सकेर कारबाहीबाट जोगिने वा कारबाहीमा परेर कम्पनीलाई व्यावसायिकरुपमा धरासायी बनाउने भन्ने त्यो उनीहरुको कुरा हो।’

सो कम्पनीले ८० प्रतिशत कामको ३२ करोड ४५ लाख रुपैयाँ भुक्तानी भने लिइसकेको अधिकारीले बताए। ठेक्का पाउनासाथ पाइने मोविलाइजेसन खर्च वापत् ७८ लाख रुपैयाँ कटौति हुन बाँकी छ।

ढोलाहिटी–चापागाउँ सडक
शैलुङ र दिवा निर्माणले संयुक्त रुपमा निर्माण ठेक्का लिएको ढोलाहिटी सुनाकोठी चापागाउँ सडक निर्धारित समयमा निर्माण सुरु गरेको भए दुई वर्षअघिनै सम्पन्न भैसक्ने थियो। अन्तिम पटक समय थपिएको समयको म्याद पनि असार ३० गते गुज्रिसकेको छ। लकडाउनका कारण थपिएको म्याद पुस मसान्तसम्म छ।

सो खण्डको ३.२ किलोमिटर लामो सडकको निर्माणकार्य ती कम्पनीले २३ करोड ३१ लाख ४६ हजारमा ठेक्का हात पारेका थिए।

आयोजना प्रमुख अधिकारीका अनुसार अहिले त्यहाँको काम ४० प्रतिशत मात्रै सकिएको छ।

‘सुरुमा जग्गा प्राप्तिका लागि केही समस्या उत्पन्न भएको थियो। तर कलंकी–नागढुंगाको सडक निर्माणलाई समेत ध्यान दिँदै सरकारले प्राप्त भएको जग्गामा मात्रै सडक बनाउने भनेर त्यो समस्या सुल्झाइसकेको हो। त्यसैले गर्न चाहने हो भने काम गर्नका लागि कुनै गाह्रो छैन। दैनिक रुपमा काम गर्ने हो भने मंसिरको १५ गतेसम्म काम सकिन्छ।’

अधिकारीले कुनै ठेक्कामा ६ महिनाको अबधि तोकिएको छ भने ठेकेदारहरुले ५ महिना काम नगरेर अन्तिम एक महिना काम गर्ने र त्यसपछि समय थप्नका लागि दबाब दिने प्रवृत्ति रहेको बताए।

अधिकारीकाअनुसार अहिलेसम्म सो सडक आयोजनाबाट ठेकेदारले ७ करोड ८२ लाख रुपैया भुक्तानी लगिसकेको छ।

कुनै ठेक्का हात पार्नासाथ कुल ठेक्का रकमको १० प्रतिशत पैसा पाउने व्यवस्थाअनुसार शैलुङ र दिवा निर्माणले मोविलाइजेसनका लागि २ करोड ५५ लाख रुपैयाँ सुरुमै लिएका थिए।

‘हामीले सूचना जारी गरेपनि उहाँहरु सम्पर्कमा आउनु भएको छैन,’ अधिकारीले भने।

शैलुङ ठेकेदार कम्पनी न्यून रकममा सडक निर्माणको ठेक्का हात पार्ने र समयमा निर्माण सम्पन्न नगर्ने कम्पनीको रुपमा बदनाम छ।

कृषि मन्त्रालयले पनि समयमा रासायनिक मल नल्याएको भन्दै शैलुङ कम्पनीको धरौटी जफत गरेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।

यसैबीच क्षेत्रीय सडक कार्यालय हेटौडाले समयमा ठेक्का पुरा नगर्ने २१ वटा कम्पनीलाई एकै पटक कारवाही गरेको छ।

बुधबार पत्रिकामा सूचना प्रकाशित गरेर २१ वटा सडक आयोजनाको ठेक्का तोडिएको र धरौटी जफत गरिएको र कालोसूचीमा राख्ने काम अघि बढाएको कार्यालयले जनाएको छ।

त्यसैगरी सडक डिभिजन कार्यालय लाहानले पनि १२ वटा सडक निर्माण आयोजनाका ठेकेदार कम्पनीहरुलाई समयमा काम नसकेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको छ।

सो कार्यालयले किन कारबाही नगर्ने भन्दै कम्पनीहरुलाई स्पष्टिकरण सोधेको हो।

गत महिना वार्षिक सडक निर्माण समीक्षा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सबै डिभिजन प्रमुखहरुलाई यसबारे निर्देशन दिएका थिए।

उनले समयमा काम नसक्ने कम्पनीलाई कारवाही गर्न मन्त्री र सचिवको आदेश आवश्यक नपर्ने र कानुनमा भएको अधिकार प्रयोग गरेर दण्ड र पुरस्कार दिन निर्देशन दिएका थिए।

नेम्वाङले कुनै ठेकेदार कम्पनीले समयमा काम नगरेको भए डिभिजन प्रमुखहरुले नै कानुनबमोजिम कारबाही गर्न सक्ने र राम्रो काम गर्नेलाई पुरस्कृत पनि गर्नसक्ने बताएका थिए।

त्यसपछि सडक कार्यालयहरुले समयमा निर्माण नसक्ने कम्पनीमाथि कारबाही प्रक्रिया सुरु गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .