ad ad

राजनीति


प्रदेश ५ का चार कोभिड अस्पतालमा करारमा ६ सय जनशक्ति थपिँदै

प्रदेश ५ का चार कोभिड अस्पतालमा करारमा ६ सय जनशक्ति थपिँदै

प्रकाश न्यौपाने
भदौ १८, २०७७ बिहिबार १०:११,

प्रदेश ५ सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालहरुमा जनशक्तिको चरम अभाव भएपछि करारमा नियुक्तिको तयारी गरिएको छ। जनशक्तिको अभावमा आईसीयू सञ्चालनमा समेत स्वास्थ्यकर्मी उपलब्ध छैनन्।

बिहीबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले चारवटा कोरोना अस्पतालमा ५ सय ८३ जना स्वास्थ्यकर्मीलाई नियुक्ति गर्ने निर्णय गरेको छ।

सामाजिक विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले एकैपल्ट यतिधेरै स्वास्थ्यकर्मी करारमा नियुक्त गर्ने निर्णय गरेको हो। स्वास्थ्यकर्मी नियुक्तिका लागि ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ निकाशा समेत गरिएको छ। यो रकम करारमा नियुक्त हुने स्वास्थ्यकर्मीको तलब भत्तामा खर्च गरिने छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका लागि १ करोड ७५ लाख ११ हजार ९ सय ६०, केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी दाङमा १ करोड ५६ लाख ७२ हजार ३ सय ६०, भीम अस्पताल भैरहवामा ६४ लाख ४७ हजार ९ सय ६० र भेरी अस्पताल बाँकेमा १ करोड ४० लाख ७२ हजार ६ सय ४० गरी कुल ३ करोड ९६ लाख ३२ हजार २ सय ८० निकासा गर्ने निर्णय समेत गरेको छ। निकासा गरिएको रकमले करारमा नियुक्त स्वास्थ्यकर्मीलाई तीन महिना तलबभत्ता दिन पुग्छ।

मन्त्रिपरिषद् बैठकले चार कोरोना विशेष अस्पतालमा पूर्वाधार विकास गर्नेसमेत जनाएको छ। लुम्बिनी प्रादेशिक अस्पताल धागो कारखानाको क्षमता बृद्धि गरी आइसीयु १८, आइसोलेन वेड ३६, एचडि बेड २० गरी कुल ७४ बेड गराइने छ। यहाँ १८९ जना स्वास्थ्यकर्मी रहेनछन्।

यस्तै, केन्द्रीय आयुर्वेद दाङमा आइसीयु १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहने र यहाँ १७१ स्वास्थ्यकर्मी राखिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

यस्तै, भीममा आईसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ रहने र यहाँ ७१ जना जनशक्ति, भेरी अस्पतालमा आईसीयु १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० रहने र यहाँ १५२ जना स्वास्थ्यकर्मी राख्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद् बैठकले भूमिगत जल सिचाईं आयोजना कार्यान्वयन कार्यविधि, २०७७ स्वीकृत प्रदान गरेको छ। विज्ञान प्रविधि तथा बहु प्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। यस्तै, प्रस्तावित नेत्रलाल अभागी रंगशाला निर्माणको योजना प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत कार्यान्वयन गर्न स्वीकृति प्रदान गरिएको छ।

यसैगरी प्रदेश निजामति सेवा अन्तर्गत स्वास्थ्य सेवा र इञ्जिनियरिङ सेवाका रिक्त पदहरुमा स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति दिएको छ। जसमा स्वास्थ्य सेवा तर्फका ७२ र इञ्जिनियरिङतर्फका ५३ जना छन्।

इन्जिनियरिङतर्फ हाइवे सिभिल १८, सेनेटरी १ विल्डिङ आर्किटेक्टर १३, जनरल सिभिल ५, मेकानिकल ५, इन्जिनियर सिभिल २, सिंचाई ८, हाइड्रो जिओलोजिस्ट १ जना गरी ५३ जना छन्। स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौं ४९, नर्सिङ अधिकृत सातौं ११, फिजिओथेरापिस्ट सातौं ५ र मेडिकल ल्याब टेक्नोलोजिष्ट ७ जना गरी ७२ जना छन्। प्रदेश सरकार बनेपछि पहिलोपल्ट प्रदेश लोकसेवाबाट कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .