उपत्यकामा निषेधाज्ञाको तेस्रो हप्ता चलिरहँदा सेयरबजारमा भने उच्च परिमाणको कारोबार भइरहेको छ।
आज पनि २ अर्ब ६३ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज नेप्से परिसूचक भने शून्य दशमलव १५ अंकले ऋणात्मक हुनपुगेको छ तर १ सय ८६ कम्पनीको ९३ लाख कित्ता सेयर बिक्री भएको छ। नेप्सेका अनुसार दिनभरिमा ३९ हजार २ सय ५ पटक खरिदबिक्री भएको छ।
आज पनि १२ समूहको कारोबार भएको छ। तीमध्ये होटल, फाइनान्स, निर्जीवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फन्डको कारोबार सूचक बढेको छ।
पुनर्बीमाको सेयर हारालुछ
आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। कम्पनीको आज एकैदिन ४१ करोड ५७ लाखको सेयर किनबेच भएको छ। त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको पनि १३ करोड ४ लाखको सेयर खरिदबिक्री भएको छ। यसबाहेक आज नेको इन्स्योरेन्सको ९ करोड ४७ लाखको, नेपाल बैंकको ८ करोड ९८ लाखको र अरुण कावेली पावर लिमिटेडको ८ करोड ६ लाखको सेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको पनि ७ करोड ८७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ।
कमाउने लगानीकर्तामा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता अगाडि छन्। उनीहरुले आज ८२ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। यसबाहेक अरुण कावेलीका लगानीकर्ताले १५ रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरका लगानीकर्ताले ४८ रुपैयाँ कमाउँदा जोशी हाइड्रोपावरका लगानीकर्ताले ६ रुपैयाँ, घलेम्दी हाइड्रोका लगानीकर्ताले ५ रुपैयाँ आम्दानी गरेका छन्।
आज गुमाउने लगानीकर्ताले अधिकतम ६.९९ प्रतिशतसम्म गुमाएका छन्।
प्रतिक्रिया