ad ad

राजनीति


आफैँले बोकेको बम पड्किएर किन बारम्बार मारिन्छन् विप्लव कार्यकर्ता?

आफैँले बोकेको बम पड्किएर किन बारम्बार मारिन्छन् विप्लव कार्यकर्ता?

मणि दाहाल
साउन ५, २०७६ आइतबार ९:५१,

जेठ १२ मा काठमाडौंको सुकेधारा र घट्टेकुलोमा एकै समयमा विष्फोटका घटनाहरु भए। यी २ विस्फोमा चार जनाको मृत्यु भयो। मारिने सबै नेत्रविक्रम चन्द नेतृत्वमा नेकपाका कार्यकर्ता थिए। त्यसको ५२ दिनपछि कैलालीको धनगढीमा विष्फोट हुँदा एक जनाका मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

विस्फोटमा कार्यकर्ता राजेश भनिने रामबहादुर सिंहको मृत्यु भएको विप्लव नेकपा सेती–महाकाली ब्युरो इञ्चार्ज निर्माणले शुक्रबार विज्ञप्ति निकालेर जानकारी गराएका छन्। सिंहलाई पार्टीले सहिद घोषणा गरेको बताउँदै उनले भनेका छन ‘पार्टी कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा सिंहको मृत्यु भयो।’

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि मारिने ९ कार्यकर्तामध्ये ५ जनाको मृत्युको कारण आफूसँगै रहेको अस्त्र हो। बाँकी प्रहरी ‘इन्काउन्टर’मा मारिएका बताइएको छ।

दुई महिनाभित्रै भएको धनगढी घटनाले विप्लव समूहको कमजोरीलाई उजागर गरेको छ। त्यसले उनीहरुको रणनीतिको परिवर्तनको संकेत पनि गरेको छ। यी घटनाहरुले उनीहरुमा यथेष्ठ तालिम प्राप्त जनशक्ति अभाव रहेको देखिएको छ।

नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारी विप्लव समूहसँग यथेष्ठ तालिम प्राप्त जनशक्तिको अभाव र शहर केन्द्रित रणनीति अभावले विष्फोटबाट आफैँले क्षति ब्यहोर्नु परेको बताउँछन्।

‘उनीहरुमा यथेष्ठ तालिम प्राप्त मानिसको अभाव रहेको देखिन्छ’ भण्डारी भन्छन्, ‘शहर केन्द्रीत हुँदा विष्फोट पदार्थहरुलाई एकै स्थानमा लामो समय राखिराख्न अफ्ठ्यारो हुन्छ। त्यसैले ठाउँ सारिरहनु पर्ने हुन्छ। त्यो समयमा विष्फोटको खतरा रहन्छ।’

ललितपुर नख्खुमा रहेको एनसेल मुख्यालयमा गरिएको बम विष्फोट घटनापछि २०७५ फागुन २८ गते सरकारले विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सुरक्षा मामिलाको जानकार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उप कार्यकारी निर्देशक इन्द्रा अधिकारी प्रतिबन्धित नेकपामा समन्वय अभाव स्पष्ट देखिएको बताउँछिन्।

‘काठमाडौंमा भएका विष्फोटको घटनामा पनि प्राविधिक त्रुटिकै कारण भएको आएको थियो। धनगढीमा ओसार पोसार गर्ने क्रममा भएको देखियो। तालिमप्राप्त व्यक्ति हुन्थे भने विष्फोटक पदार्थलाई कसरी ह्याण्डिल गर्ने विषयमा समस्या हुदैनथ्यो’, उनी भन्छिन्, ‘एकातिर तालिमको अभाव देखिन्छ भने अर्कोतिर संगठनभित्र पनि समन्वय अभाव प्रस्ट देखिन्छ।’

तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह शुरु गर्दा गाँउबाट शहर घेर्ने रणनीति लिएको थियो। विप्लव समूहले त्यस्तो घोषित नीति नभए पनि शहर केन्द्रीत सशस्त्र संघर्ष भइरहेको घटनाक्रमहरुले देखाउँछन्।

‘माओवादी सशस्त्र द्वन्द्वको समयमा पहिलो ढाडमा टेकेर टाउको हान्ने रणनीति थियो। अहिले टाउकै(शहर) मा आक्रमण गर्ने रणनीति लिएका छन्’, पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक भण्डारी भन्छन्।

अहिले विप्लव समूहले एकीकृत जनक्रान्तिको नीति अख्तियार गर्दै आएको छ। जसमा दीर्घकालीन सशस्त्र विद्रोह र शहर केन्द्रीत जनसंघर्षलाई जोड दिइएको छ। रुसमा मजदुर र चीनमा किसानले क्रान्ति गरे। माओवादी गरिबी र पिछडिएको क्षेत्रमा केन्द्रित रहे। विप्लवको नीति किसान र मजदुरको अतिरिक्त शहरी मध्यमवर्गलाई लक्षित गर्दै क्रान्ति गर्ने भन्ने छ। गतिविधि शहरमा गर्ने र ब्याकअप गाउँलाई बनाउने उसको कार्यनीति छ।

राष्ट्रिय अनुसन्धान विभागका पूर्व नायव महानिरीक्षक अर्जुन केसी अस्त्र सञ्चालनसम्बन्धी अपरिपक्कताको कारण यस्तो घटनाहरु हुने बताउँछन्। ‘हिजो तालिम दिएर आज हतियार बोकाउँदा दुर्घटना हुने सम्भावना बढी हुन्छ। अन्य कुरामा ज्यान जाँदैन तर अस्त्रले ज्यानै लिन्छ’, उनी भन्छन्।

सरकारले प्रतिबन्धको घोषणा गरेपछि विप्लवका ५ सय ५० भन्दा बढी कार्यकर्ताहरु पक्राउ परेका छन्। शीर्ष नेतृत्वमा रहेका हेमन्तप्रकाश ओली सुदर्शनसहितका अन्य नेता कारागारमा छन्। बलियो जनधार नभइसकेको पार्टीका लागि यी पक्राउ र मुद्दा आफैँमा अप्ठ्यारो परिस्थिति हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .