आइतबार हङकङस्थित पिपुल्स लिबरेसन आर्मी ग्यारिसनले एक भिडियो फुटेज सार्वजनिक गर्दै हङकङमा तैनाथ युद्धपोतलाई पनि दक्षिण चीन सागरको सैन्य अभ्यासमा सामेल गरेको जानकारी दिएका हुन्।
हङकङमा चीनले दुईवटा युद्धपोत तैनाथ गरेका छन्। दुईमध्ये एक हुईजाउ नामको युद्धपोत हाल दक्षिण चीन सागरमा सामेल गरिएको एससीएमपीले जनाएको छ।
शनिबार मात्र अमेरिकी नौसेनाले यूएसएस रोनाल्ड रेगन युद्धपोतसहित यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गरेका थिए। त्यसको भोलिपल्ट नै चीनले पनि सैन्य अभ्यास गरेको हो।
पछिल्लो सैन्य अभ्यास ताइवान र अमेरिकाबीचको बढ्दो सम्बन्धको विरुद्धमा भएको विज्ञहरु बताउँछन्। चीनले ताइवान आफ्नो भएको दाबी गरिरहँदा ताइवानले भने आफू स्वतन्त्र मूलुक भएको र त्यहाँ चीनको नीति नचल्ने ताइवानी राष्ट्रपति साइ इंग वेनको भनाइ छ।
उता चीनको चेतावनी बाबजुद पनि अमेरिकी नौसेनाले शनिबार दक्षिण चीन सागरमा सैन्य अभ्यास गरेका थिए।
दक्षिण चीन सागर विवादित जलक्षेत्र मानिन्छ। चीनले यस विवादित जलक्षेत्र दक्षिण चीन सागरमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ। तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।
(भिडियो)
चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।
अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको जनाएको छ।
चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँदै आएको छ।
अमेरिकाले भने आफ्ना सहयोगी राष्ट्रको सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको बताउँदै आएको छ।
अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।
अमेरिका लगायतका मुलुकले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्।
चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ। एजेन्सी
प्रतिक्रिया