ad ad

राजनीति


वनमन्त्रीलाई संसदीय समितिको निर्देशनः चेपाङको घरमा आगो लगाउनेलाई कारबाही गर्नुहोस्

वनमन्त्रीलाई संसदीय समितिको निर्देशनः चेपाङको घरमा आगो लगाउनेलाई कारबाही गर्नुहोस्

नेपालखबर
साउन १४, २०७७ बुधबार १४:१६,

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चितवनको कुसुमखोलामा चेपाङका घरहरुमा भएको आगजनीबारे छानबिन गर्न निर्देशन दिएको छ।

बुधबार समितिको बैठकमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतलाई बोलाएर घटनाको छानबिन गर्न समितिले निर्देशन दिएको हो। घटनाप्रति संवेदनशील बन्न पनि समितिले वनमन्त्री बस्नेतलाई निर्देशन दिएको छ।

बैठकका निर्णय सुनाउँदै समिति सभापति पूर्णकुमारी सुवेदीले यस्तो खालको घटना दोहोरिन नदिन र दोषिमाथि हदैसम्मको सजाय दिई पीडित पक्षलाई उचित क्षतिपूर्तिको न्यायोचित व्यवस्था गर्न निर्देशन दिइन्।

समितिले समाजिक वञ्चितिकरणमा रहेका र निकुन्जलाई नै आफ्नो जिविकोपार्जनको आधार बनाउँदै आएका निकुन्ज वरपर बस्ने बसोबासीहरुको व्यवस्थापन ६ महिना भित्र गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ।

मन्त्री बस्नेतले भने मानवीय त्रुटि हुन जाँदा कुसुम खोलामा घटना घटेको बताए।

मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा गठन गरेको समितिले प्रारम्भिक विवरण दिएको बताउँदै चेपाङ वस्तिमा गोठ नभई त्यहाँ रहेका ८ घर भत्काउने र जलाउने काम भएको उनले बताए।

भूमि व्यवस्थापनको काम अगाडि बढिरहेको अवस्थामा निकुञ्जका कर्मचारीले हात्ती लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानवीय भएको समेत मन्त्री बस्नेतले बताए।

उनले घटना छानबिन गर्न मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन आइनसकेको जानकारी समितिलाई गराए। मन्त्री बस्नेतले निकुञ्जका कर्मचारीले गरेको गल्ति ढाकछोप नगरिने प्रतिवद्धता जनाउँदै उक्त घटनालाई लिएर आफू गम्भीर रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .