ad ad

अन्तर्वार्ता


मेनपावर कम्पनी बन्द हुन नदिने हो भने धरौटी राखेको ५० लाख सरकारले सापटी दिनुपर्छ : अध्यक्ष गैरे (अन्तर्वार्ता)

मेनपावर कम्पनी बन्द हुन नदिने हो भने धरौटी राखेको ५० लाख सरकारले सापटी दिनुपर्छ : अध्यक्ष गैरे (अन्तर्वार्ता)

उजिर कार्की
साउन १४, २०७७ बुधबार १४:१०,

कोरोना संक्रमण बढ्न थालेपछि सरकारले गत फागुन २८ गतेदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउन बन्द गरेको थियो। अहिले बिदामा आएका श्रमिकलाई भने जान खुल्ला गरिएको छ। दैनिक एक सयदेखि २ सय जनासम्मले श्रम स्वीकृति लिइरहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

सरकारले चाटर्ड उडानमा फर्काउने निर्णय गरेपछि विदेशमा अलपत्र करिब ३५ हजार श्रमिक फर्किसकेका छन्। विदेशमै बिचल्ली भोगिरहेका श्रमिकको संख्या अझै ठूलो छ। तर नियमित अन्तर्राष्ट्रिय उडान बन्द हुँदा उनीहरु फर्किन सकेका छैनन्। वर्तमानमा श्रमिक र वैदेशिक रोजगार व्यवसायीले कस्तो समस्या भोगिरहेका छन् र त्यसको निकास के हुनसक्छ भन्ने विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेसँग गरिएको संक्षिप्त कुराकानीः

कोरोनाले वैदेशिक रोजगारीको क्षेत्रमा कस्तो असर परेको छ?
अहिले सबै देशमा कामदार पठाउन ठप्प छ। कोरोना महामारीका कारण फागुन २८ गतेदेखि नेपाल सरकारले श्रम स्वीकृति बन्द गर्‍यो। त्यसपछि बन्द भएको हो। हाम्रो कार्यालयमा काम गर्ने कर्मचारीको तलब, घरभाडाले गर्दा हामीलाई आर्थिक मार परेको छ।

केकस्ता समस्या छन्?
कार्यालय ताला लगाएका छौं। घरभाडा तिरिरहनु परेको छ। कर्मचारीलाई तलब खुवाएकै छौं। हामीलाई मर्का परेको छ। राज्यको ध्यानाकर्षण गराइरहेका छौं। कति दिन थेग्ने? वैदेशिक रोजगारीका सबै काम ठप्प छन्। हामी चल्ने कसरी?

त्यसैले हामीले राखेको नगद धरौटी एक वर्षसम्मका लागि सापटी स्वरुप दिन सरकारसँग माग गरेका छौँ। त्यसो भयो भने हामी यो पेसाबाट विस्थापित हुनु पर्दैन।

राज्यसँग ४ अर्ब ३१ करोड रुपैयाँ छ, धरौटीवापतको। एक वर्षका लागि सापटी दियो भने चलाउन सक्छौं। बैंक ग्यारेन्टी छँदैछ। सबै दिनुपर्छ भन्ने पनि छैन, आवश्यकता अनुसार लिन्छौं। अर्थमन्त्रीलाई भेटेर कुरा राखिसकेका छौं। उहाँले समस्या फुकाउने र प्रधानमन्त्रीलाई कुरा राख्ने बताउनु भएको छ। हामी लिखित माग राख्छौं। वर्षमा सय कामदार नपठाए पनि नवीकरण गरिदिने निर्णयले ५ सय १३ व्यवसायी जोगिएका छन्। तर यो व्यवस्था सधैंका लागि ल्याउनुपर्छ भन्ने हाम्रो माग हो।

bishnu_gaire1.jpg

तपाईंहरुले पठाएका श्रमिकलाई चाहिँ अहिले कस्तो अप्ठेरो परेको छ, ख्याल गर्नु भएको छ?
हामीले गत वर्ष ३ लाख ६५ हजारजति श्रमिक पठाएका थियौँ। यो बीचमा जति जानुभएको छ, उहाँहरुले पूरा काम गर्न पाउनुभएन। कम्पनीले विस्तारै काम दिने अवस्था छ। रोजगारदातालाई हामीले पत्रचार गरेका छौं। कम्पनी नै नचलेको अवस्थामा सरकारसँग मिलेर हामी फर्काउँछौं। सरकारले राहत दिनु पर्छ भन्ने हाम्रो माग हो। पछि वैदेशिक रोजगार खुलेपछि हामीले उहाँलाई प्राथमिकता दिएर पठाउँछौं। स्वरोजगार गर्नेहरुलाई पनि राज्यले लगानी गरिदिनुपर्छ। जबसम्म वैदेशिक रोजगारी पूर्णरुपमा सञ्चालन हुँदैन, तबसम्म राज्यले श्रमिकलाई सम्बोधन गर्नुपर्छ। वैदेशिक रोजगार र घरेलु रोजगार दुवैतर्फ हाम्रो तर्फबाट सहकार्य गर्न र सहयोग गर्न हामी तयार छौं।

तर, विदेशमा दशौँ हजार श्रमिक बिचल्लीमा परेका छन्। तिनलाई ल्याउन खासै तदारुकता देखिएको छैन नि?
सरकारले कोभिड १९ व्यवस्थापन गर्न भनेर ९ सदस्यीय समिति गठन गरेको थियो, वैदेशिक रोजगार विभागका महानिर्देशकको संयोजकत्वमा। त्यसमा हाम्रो संघ पनि सामेल छ। आपतमा परेका श्रमिकलाई कम्पनीले र सरकारले पनि विमान चार्टर गरेर ल्याउनुपर्छ। त्यसका लागि आर्थिक अवस्थालगायतलाई विचार गरेर श्रमिकको वर्गीकरण गर्नुपर्छ भनेर हामीले नै कुरा उठाएका हौँ। सरकारले सम्बोधन गर्‍यो र लागू भएको छ। तर वैदेशिक रोजगारीमा नगएकालाई यो क्षेत्रमा राख्नु हुँदैन।

हामीले पठाएकामध्ये २५ देखि ३० प्रतिशतको रोजगारी गुम्दैछ। ठूला कम्पनीले कम तलबमा काम गर भनिरहेका छन्। कतिपय साना कम्पनीका रोजगारदाता नै भागेका छन्। त्यसरी रोजगारदाता नै सम्पर्कविहीन भएकालाई नेपाल ल्याउने, स्वेच्छाले त्यहीँ काम गर्न चाहनेलाई काम गर्न दिने र आउने चाहनेलाई आउन दिने व्यवस्था गर्नुपर्छ। यसमा बोर्डको पैसा खर्च गरेर ल्याउनुपर्छ भनेका थियौँ। आइसकेकालाई आधा पैसा दिने निर्णय भएको छ।

बिचल्लीमा परेका, करार अवधि सकिएकालाई कसरी ल्याउने भन्ने विषयमा पनि छलफल भइरहेको छ। उनीहरुलाई ल्याउनका लागि ७५ करोड छुट्याइएको छ। संस्थाले पठाएका कामदारको संस्थाले पनि रेकर्ड राख्नुपर्छ। आफूले पठाएको श्रमिकको अवस्था के छ, कति बिचल्लीमा परेका छन्। कति फर्किए यो विषयमा पनि हामीले छलफल गरिरहेका छौं। दूतावासले फर्काएका कामदारबारे भने हामीलाई जानकारी छैन।

bishnu_gaire2.jpg

विदेशमै रहेका श्रमिकको भविष्य अब के हुन्छ? के भन्छन् त्यहाँका रोजगारदाता?
मलेसियाका रोजगारदाताले ‘रिप्लेसमेन्ट जब’ अर्थात् गुमेको रोजगारीको सट्टामा अर्को काम दिने अवधारणा ल्याएको छ। कम्पनी बन्द भएका श्रमिकलाई अर्कोले लिन्छ। ६० प्रतिशत काम बन्द गरेर भएपनि अहिले श्रमिक रोक्ने र पछि पुनः पहिलेकै अवस्थामा फर्किने साउदीको कुरा छ। कतार र दुबईको पनि त्यति नराम्रो अवस्था छैन। तर जबसम्म कोभिडको खोप आउँदैन, तबसम्म वैदेशिक रोजगारीको भविष्य छैन। पछि माग बढ्ला तर, तत्काल पहिलेकै अवस्थामा फर्किने देखिँदैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .