नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टी फुट्छ की भन्ने चिन्ता नलिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। ४२ औं पुष्पलाल स्मृति दिवसका अवशरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले कसैले पार्टी फुटाउन खोजे उ एक्लिएर जाने तर पार्टी कहिले पनि नफुट्ने उनले बताए।
उनले भने, ‘पार्टी फुट्नेवाला छैन। कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर पार्टी फुटेर जानेवाल छैन। फुट्नेवाला छैन। कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भनेपनि डरले थर थर काँप्नुपर्ने आवश्यकता छैन।’
उनले आफूलाई सर्वोपरी ठान्ने व्यक्ति र प्रवृति आफैँ पतन भएर जाने टिप्पणी गरेका छन्।
नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफूलाई सर्वोपरी ठान्नेहरु आफैँ पतन भएर जाने र त्यो प्रवृति पनि पतन हुने टिप्पणी बताए।
विधिको पालना गरी संगठनलाई सुचारु गर्न सके सबै कुरा गति र स्वभाविक प्रकृयामा अगाडि बढ्ने उनको भनाई थियो।
नेता नेपालले भने, ‘विधिको पालना गरिएन भने, ‘आइएम द स्टेट’ ठानियो भने, आफूलाई सर्वोपरी ठान्न थालियो भने, आफूलाई मात्र केन्द्रविन्दुमा राख्न थालियो भने, आफू बाहेक दुनियाँमा कसैको केही अर्थ छैन भन्ने ठान्न थालियो भने त्यस्तो अहंकारको भावनामा चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृतिको पतन हुने बाहेक अर्को केही पनि हुँदैन।’
नेता नेपालले त्यस्तो प्रवृतिमा कोही चुर्लुम्म डुबेको छ भने समयमै जोगिनुपर्ने पनि बताए।
उनले भने, ‘त्यस्ता विचार र प्रवृतिमा यदि हामी केही चुर्लुम्म डुबेका छौँ भने त्यसबाट जोगिन समय छ तर समय धेरै ढिला हुन थालेको छ।’
नेता नेपालले पार्टी भित्रको समस्या छलफल गरेर हल गर्ने अधिकतम प्रयास भइरहेको समेत बताएका छन्। पार्टीका लागि व्यक्ति प्रधान नभएर विधि र पद्धति प्रमुख कुरा भएको उनले बताए।
विधि र पद्धतिको आधारमा सबैले पार्टी बहुमतले गरेको निर्णय मान्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘म मान्दिन, म मान्न बाध्य छैन आदी इत्यादी भन्न कसैले पनि पाउँदैन। त्यो छुट पाइँदैन। मलाई लाग्छ फेरि पनि बुद्धि सबैमा पलाउने छ।’
नेता नेपालले सबैलाई समयमै जिम्मेवार हुन पनि आग्रह गरेका छन्। सबैले आ—आफ्ना कमि कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्ने बताए। सबैले आफ्नो भूमिका सम्झेर कमजोरी सुधार गर्दै अगाडि बढ्न सके विचार, संगठनका हिसाबले पार्टी बलियो हुने उनको भनाई छ। श्रेष्ठता व्यवहारमा देखाउन सकिएमात्रै कम्युनिष्ट पार्टीको औचित्य सावित हुने उनले बताए।
प्रतिक्रिया