ad ad

राजनीति


ओम्नीसँग औषधि खरिदबारे संलग्न कर्मचारीले संसदीय समितिमा दिए यस्तो स्पष्टिकरण

ओम्नीसँग औषधि खरिदबारे संलग्न कर्मचारीले संसदीय समितिमा दिए यस्तो स्पष्टिकरण

नेपालखबर
असार ३०, २०७७ मंगलबार १२:३०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन सचिव यादव कोइरालाले ओम्नी समूहबाट स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीको बचाउ गरेका छन्।

संघीय संसदमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा ओम्नी समूहबाट स्वास्थ्य सामग्री खरिद गर्न वार्ता गर्ने समितिमा कार्कीलाई संयोजक मात्रै तोकिएको भन्दै बचाउ गरेका हुन्।

उनले २०७६ चैत ११ गते कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्चस्तरीय समितिबाट निर्देशन आएपछि वार्ता कमिटि गठन गरिएको बताए। वार्ताका लागि स्वास्थ्य मन्त्रालयका १२औं तहका विशिष्ट कर्मचारी डा. रोशन पोखरेललाई जिम्मा दिइएको उनले बताए।

डा. पोखरेललाई जिम्मा दिएको काममा डा. कार्कीलाई संयोजकको रुपमा मात्र तोकिएको कोइरालाले स्पस्ट पारे।

उनले भने, ‘मन्त्रालयले उच्चस्तरीय निर्देशन प्राप्त गरिसकेपछि हाम्रो मन्त्रीज्यू पनि त्यतिखेर समितिमा हुनुहुन्थ्यो उहाँले हतार हतार सूचना निकाल्नुभयो। गोरखापत्रमा सूचना निकाल्नुभयो, पत्रपत्रिकामा सूचना निकाल्नुभयो। सबैतिर सूचना निकालिसकेपछि भोलिपल्ट वार्ता कमिटि गठन गरिएको छ। वार्ता कमिटि भनेको वार्ता गर्नको लागि हो। सबै अधिकार डीजी (स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक महेन्द्र श्रेष्ठ) लाई छ। तर वार्ता भनेको छलफल गर्नका लागि मात्रै हो।’

उनले अगाडि थपे, ‘डा. रोशन भनेको १२औं तहको विशिष्ट तहको कर्मचारी हो। विशिष्ट श्रेणिको कर्मचारीलाई हामीले जिम्मा दिएका छौं। सल्लाहकार डा. खेम कार्की विशेषज्ञ भएको कारणले गर्दा र उहाँ सरकारी कर्मचारी भएको कारणले गर्दा त्यो कामको लागि उहाँलाई पनि राख्नुभयो। उहाँलाई संयोजक भनेर राखेको छ। अब त्रुटि हुन सकेको होला। तर उहाँ सरकारी कर्मचारी भएको हुनाले रोशनलाई हामीले जिम्मा लगाएका थियौं। रोशनलाई जिम्मा लगाएकोमा उहाँले डा. खेम कार्कीलाई राखेर संयोजक मात्रै तोकेको देखिन्छ।’

lekha-samittee-3-30_1.jpgस‌ंसदकाे लेखा समिति बैठक

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार खेम कार्कीले आफू कुनै नियतवस वार्ता कमिटिमा नबसेको बताएका छन्। उनले स्वास्थ्य मन्त्रालयको आग्रहमा वार्ता कमिटिमा बसेको र निर्णय गर्ने सन्दर्भमा २५/३० मिनेट समयभन्दा आफू नबसेको प्रस्ट्याए।

उनले भने, ‘मलाई तपाईले संयोजन गरिदिनुहोस् न भन्ने अनुरोध आयो। उहाँहरुले मलाई किन संयोजक बनाउनुभयो सायद डीजी (महेन्द्र श्रेष्ठ) ले भन्नुहुन्छ होला किनभने उहाँ पनि त्यो वार्ता टोलिको एउटा सदस्य हो। उहाँहरुले मलाई भनेको कुरा तपाई चाहिँ एमबीबीएस पनि गर्नुभएको छ। त्यसैले क्लिनिकल कुराहरुदेखि लिएर व्यवस्थापनको कुरा पनि तपाईलाई आउने भएको हुनाले तपाई पनि यो वार्तामा बसिदिनुभयो भने सजिलो हुन्छ भन्ने कुरा आयो र म वार्तामा बसें।’

उनले वार्ताका क्रममा आफूले बाधा अड्काउ फुकाइदिएको र मूल्य घटाएकाे दाबी गरे।

कार्कीले भने, ‘वार्तामा दुईवटा टिमको तुलनात्मक चार्ट वहाँहरुले बनाएर ल्याउनुभएको थियो। त्यो वार्ताका दुईवटा पक्षहरुलाई त्यहाँ सँगै राखेर र हाम्रो वार्ताको टोलि बसेर हामीले वार्ता अगाडि बढायौं।वार्तामा हामीले तपाईंहरुले कति मूल्य घट्न सक्नुहुन्छ भन्ने नै प्रश्न हो दुईवटैलाई। एउटाले म यसमा घट्न सक्दिन भनेर भन्यो र अर्कोले धेरै नै मेहनत गरेपछि कोही न कोही त घट्नै पर्छ तपाईं दुईजना मध्ये १ जनाले ल्याउनै पर्ने हुन्छ त्यसकारणले गर्दा यो बाधा फुकाईदिनुस् भनिसके पछाडी एउटा टिमले कूलमा शुन्य दशमलव ५ प्रतिशत घटाउन सक्छु भन्ने कुराहरु गर्‍यो। त्यो गरिसकेपछाडी पोइन्ट फाइभ प्रसेन्ट भएपनि घट्यो अब सम्झौता गर्नपर्छ होला। त्यसैले पोइन्ट फाइभ प्रसेन्ट घटाएकोलाई सिफारिस गरिन्छ भन्ने हिसाबले हाे। यहि २५/३० मिनेटको संलग्नता हो मेरो। न त्यो भन्दा अगाडिको कुनैपनि कार्यविधिहरुमा मेरो संलग्नता छ न त्यसपछाडीको कुनैपनि कुराहरुमा संलग्नता छ।’

स्वास्थ्य सेवा विभागका तत्कालिन महानिर्देशक महेन्द्र श्रेष्ठले वार्ता कमिटिमा कसलाई राख्ने वा नराख्ने भन्ने कानूनी व्यवस्था नभएकाले कार्कीलाई जिम्मा दिइएको बताए। उनले कार्कीलाई संयोजक तोकिएको कमिटिले आयातकर्ता छनौट गर्ने जिम्मा मात्रै पाएको बताए। उनले बजेटको सुनिश्चितता नभएपछि क्याबिनेटबाट जानुपर्छ भन्ने भएको र क्याबिनेटले पहिला फिर्ता गरेको र पछि क्याबिनेटले दिएको स्वीकृतिबाट भुक्तानी दिएको बताए।

बैठकमा सांसदहरुले ओम्नी समुहबाट खरिद गर्न नियतबस निर्णय भएको हुनसक्ने बताएका थिए। सांसदहरुले खरिद गर्ने प्रक्रिया योजनावद्ध रुपमा भएको विषय उठेकाले थप अनुसन्धान हुनुपर्ने बताएका छन्।

उनीहरुले भ्रष्टाचार भएको कुरा उठिसकेकाले यसको छानबिनका लागि समिति गठन गर्न माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .