भारत र चीनबीच तनाव बढेसँगै भारतीय सेनामा कार्यरत गोर्खा सैनिकप्रति नेपालमा चासो बढेको छ।
पूर्वी लद्दाखमा सोमबार भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको छ। चीनले आफ्नोतर्फको हताहतीको विवरण सार्वजनिक गरेको छैन। सो स्थानमा भारतको बिहार रेजिमेन्टका सैनिक र चिनियाँ सैनिकबीच रक्तपातपूर्ण भीडन्त भएको थियो।
भिडन्त भएको लद्दाख क्षेत्रमा गोर्खा सैनिक पनि तैनाथ छन्। यद्यपी अहिलेसम्म नेपालीको मृत्यु भएको अप्रिय खबर सुन्नु परेको छैन।
घरविदामा आएर महामारीका कारण रोकिएका गोर्खा सैनिकलाई तत्काल आफ्नो पल्टनमा सम्पर्क गर्न भारतले आन्तरिक सर्कुलर गरेको छ। लकडाउन खुकुलो भएसँगै उनीहरु फिर्ता भएका छन्।
भारतीय सेनामा कार्यरत नेपालका पूर्व सैनिकहरुको संगठन संयुक्त भूतपूर्व सैनिक तथा प्रहरी कल्याणकारी महासंघका अध्यक्ष धनबहादुर थापाले तनाव बढेको समयमा सैनिकहरुलाई पल्टनमा फिर्ता बोलाउनु सामान्य विषय भएको बताए।
‘अहिले भारत–चीनबीच जुन रुपमा तनाव बढेको छ, भारतले घर विदामा आएका गोर्खालीहरुलाई फिर्ता बोलाएको हुनुपर्छ। यो सामान्य प्रक्रिया हो,’ थापाले भने, ‘पहिले पनि तनाव बढेको बेला बोलाउँदै आएको छ।’
थापाले गोर्खाली सैनिकहरु भारतको सीमा क्षेत्रमा तैनाथ हुँदै आएको बताए।
‘म आफैँ सीमा क्षेत्रमा तैनाथ भएको थिएँ,’ थापाले भने, ‘भारतीय सेनामा रहेका गोर्खालीहरुले संसारको सबैभन्दा अग्लो स्थानमा रहेको युद्धभूमि सियाचिनमा समेत लडेका छन्।’
नेपालले छिमेकमा हुने युद्धमा तटस्थ नीति अपनाउँदै आएको छ। तर, नेपाली युवाहरु भने हरेक युद्धमा भारतका तर्फबाट लडिरहेका छन्, ज्यान गुमाइरहेका छन्।
‘भारत र अन्य छिमेकी देशहरुबीच भएको युद्धमा नेपालले तटस्थ नीति लिँदै आएको छ,’ परराष्ट्र मन्त्रालयका पूर्वसचिव मधुरमण आचार्यले भने।
भारत र चीनसँगको युद्धमा गोर्खा सैनिक लड्दै आएका छन्। अहिले पनि भारत र पाकिस्तानबीचको नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल)मा हुने गोलाबारीमा समेत गोर्खाली मारिने गरेका छन्।
‘नेपालमा गोर्खा भर्ती औपनिवेशिक विरासतको रुपमा रहेको छ। नेपालले तटस्थ नीति लिए पनि भारतको हरेक युद्धमा गोर्खाली लडेका छन्,’ लेखक झलक सुवेदी भन्छन्, ‘अहिलेको तनाव धेरै बढ्छ जस्तो लाग्दैन। यो भारत र चीन दुवैको हितमा छैन। तर युद्ध भइहालेको अवस्थामा गोर्खालीहरु पहिलो पंक्तिमा परिचालन हुन्छन्।’
सुवेदीको गोर्खा सैनिककै विषयमा ‘बेलायती साम्राज्यका नेपाली मोहरा’ पुस्तक प्रकाशित छ।
भारत र पाकिस्तानबीच कम्तीमा चार पटक युद्ध भए। ती सबैमा गोर्खाली सेना लडेका थिए। भारत र पाकिस्तानीबच सन् १९४७–४८ र सन् १९६५ मा कस्मिर युद्ध, सन् १९७१ मा बंगलादेश स्वतन्त्रताको युद्ध र सन् १९९९ मा कारगिल युद्ध भएको थियो।
त्यसैगरी, सन् १९६२ मा भारत र चीनबीच युद्ध भएको थियो। सो युद्धमा पनि गोर्खा सैनिक प्रयोग भएका थिए।
‘त्यो युद्धमा गोर्खालीको मृत्यु भएको थियो। केहीलाई युद्ध बन्दी बनाइएको थियो,’ सुवेदीले भने।
युद्धमा भारत चीनसँग पराजित भएको थियो र भारतीय सैनिकमा कार्यरत गोर्खालीहरु युद्धबन्दी बनाइएका थिए।
श्रीलंका गृहयुद्धमा शान्ति कायम गर्न भन्दै गएको भारतीय सैनिकको टोलीमा पनि गोर्खा सैनिक संलग्न थिए।
नेपाल, भारत र बेलायतबीच २००४ कात्तिक २४ मा भएको त्रिदेशीय सम्झौताअनुसार भारतीय सेनामा गोर्खाली सैनिक कार्यरत छन्। भारत स्वतन्त्रताको समयमा बेलायती सेनामा कार्यरत १० वटै रेजिमेन्ट बेलायतले लैजान चाहेको थियो। तर, पछि ४ वटा बेलायत र ६ वटा भारतले राख्ने सहमति भएको थियो।
गत वर्ष बेलायत भ्रमणमा जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिदेशीय सम्झौताको साटो द्वीपक्षीय सम्झौता गर्ने प्रस्ताव गरेका थिए। बेलायतसँग नेपालले द्विपक्षीय सम्झौताको प्रस्ताव गरेपनि भारतसँग यस विषयमा नेपालले कुरा गरेको छैन।
त्रिदेशीय सम्झौतामा गोर्खा सैनिक हिन्दु, निशस्त्र जनता र नेपालविरुद्ध प्रयोग नहुने उल्लेख छ।
हाल भारतीय सेनामा करिब ५० हजार गोर्खा सैनिक कार्यरत छन्।
Shares
प्रतिक्रिया