ad ad

राजनीति


प्रक्रिया र मापदण्ड अनुसार स्वास्थ्य सामग्री खरिद गरिएको होः सेना

प्रक्रिया र मापदण्ड अनुसार स्वास्थ्य सामग्री खरिद गरिएको होः सेना

नेपालखबर
जेठ २८, २०७७ बुधबार ११:२२,

नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको दाबी गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाले चीनबाट जी टू जी प्रक्रियाबाट खरिद गरिएका स्वास्थ्य सामग्री पारदर्शि रुपमा ल्याएको दाबी गरेको हो। 

कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारले चैत १६ गते स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएको थियो। सेनाले चीनबाट ल्याएका स्वास्थ्य सामग्री यसअघि ओम्नी समूह र स्वास्थ्य सेवा विभागले खरिद गरेका भन्दा महंगो परेको समाचार बाहिरिएपछि सेनाले ध्यानाकर्षण भएको जनाएको छ।

नेपाली सेनालाई विवादमा ल्याउने किसिमले समाचार आएको सेनाको ठहर छ।

‘राष्ट्रिय संकटको यस विषम् परिस्थितीमा राष्ट्रिय एक्यवद्धता हासिल गर्न राष्ट्रिय शक्तिका सम्पूर्ण श्रोतहरुलाई समन्वयात्मक र एकजुट रुपमा परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्त्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरुको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैमा अत्यन्त गम्भिर विषय हो’, सेनाले भनेको छ।

सरकारले स्वास्थ्य सामग्री र उपकरण रक्षा मन्त्रायलमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सिफारिसको आधारमा खरिद गर्न सेनालाई जिम्मा दिएको थियो।

तत्कालिन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीहरुको चरम अभाव भएको अवस्थामा समेत पारदर्शिताका साथै उच्चस्तरीय मितब्ययिता अपनाएको सेनाको दाबी छ।

सम्बन्धित देशको सरकारी प्रतिनिधी मात्रको प्रयोग गरी कमिशनरहित रुपमा प्रत्यक्ष कारोबार गरिएको र अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्ने रणनीति अपनाएको सेनाको दाबी छ।
आन्तरिक खरिद निर्देशिका समेत जारी गरेको र सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद २ को नियम १६ मा आधारित रही स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय तथा आमन्त्रित विज्ञहरु सम्मिलित खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरी खरिद कार्य सम्पन्न गरिएको सेनाले जनाएको छ ।

‘अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारमा गुणस्तर प्रमाणित गर्न नसकिने बिभिन्न सामग्रीहरु फरक फरक मूल्यमा उपलब्ध भैरहेको अवस्थामा नेपाली सेनाले फिल्डमा खट्टिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत अन्य ब्यक्तिहरुको सुरक्षालाई समेत सर्वोपरी राखी चीन सरकारबाट चैत्र २८ गतेबाट लागू गरिएको नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेसन बमोजिमको मान्यता प्राप्त सामग्रीहरु मात्रै आयात गर्ने ब्यवस्था मिलाईएको छ’ सेनाले उल्लेख गरेको छ।

अहिलेको अवस्थामा माग र आपूर्तिको फरक परिवेश र गुणस्तर जस्ता विषयहरु तुलना गर्न नसकिने सेनाको भनाई छ। पारदर्शिताको लागि चीन सरकारबाटै तोकिएको सरकार नियन्त्रित कम्पनी चाइना सिनो फार्मा इन्टरनेशनल कोप्रेसनबाट प्राप्त सरकारी मूल्यसूचिलाई नेपाल सरकारका सम्बद्ध सबै निकायहरुसँग समन्वय र सहमती लिई नेपाल सरकारको स्वीकृत प्राप्त भए पश्चात खरिद गरिएको सेनाले जनाएको छ। सेनाले खरिद गरेका सामग्रीहरु हाल बिभिन्न प्रदेशहरुमा बितरण भइरहेको छ।

सिनो मार्फासँग सेनाले सवादुई अर्व बराबरको ३ सय ४२ टन स्वास्थ्य सामग्री खरिद गरेको हो। यी मध्य अधिकांश स्वास्थ्य सामग्री आइसकेको र बाँकी यहि साता आइसक्ने सैनिक प्रवक्ता विज्ञान देव पाण्डेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .