सैनिक अदालतले पाँच सैनिक अधिकारीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ। समरी जनरल सैनिक अदालतले तीन सैनिक अधिकृत र अन्य दर्जाका दुई सैनिकलाई शुक्रबार कारबाही गरेको जंगी अड्डाले जनाएको छ।
सैनिक कल्याणकारी कोषबाट सञ्चालित सैनिक आवासीय मावि, भक्तपुरमा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरुमाथि कारबाही भएको हो।
सैनिक अदालतले महासेनाी भुपालमान अधिकारीलाई एक करोड ८५ लाख ४० हजार १०८ रुपैयाँ बिगो असुल्नुका साथै दुई वर्ष कैद गर्ने निर्णय गरेकाे छ। भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी उनलाई सेवाबाट हटाउने निर्णय पनि गरेकाे छ।
यस्तै प्रमुख सेनानी देवबहादुर क्षेत्रीमाथि दुई वर्ष बढुवा रोक्का गर्ने अनि चार लाख ४० हजार रुपैयाँ असुल्ने निर्णय भएको छ। हुद्दा यज्ञराज पोखरेलबाट तीन लाख ६० हजार असुल्ने अनि भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय पनि भएको छ। अर्का हुद्दा गणेशबहादुर अधिकारीको दुई वर्ष तलब वृद्धि रोक्ने फैसला भएको छ। उनीबाट १० हजार असुल्ने फैसला सैनिक जनरल समरी अदालतले गरेको छ।
लेखाका सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई नसिहत दिने निर्णय भएको छ। आर्थिक अनियमितताको आरोपमा मुछिएका अरु १३ जनाले सफाई पाएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सैनिक आवासीय महाविद्यालयमा अनियमितता भएको उजुरीपछि छानबिनका लागि सहायक रथीको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन भएको थियो।
प्रतिक्रिया