ad ad

राजनीति


प्रचण्ड–नेपाल कति नजिक?

प्रचण्ड–नेपाल कति नजिक?

मणि दाहाल
असार २३, २०७६ सोमबार ६:३२,

 नयाँ वर्ष २०७६ सुरु हुनुभन्दा दुई दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड केवलकार चढेर चन्द्रागिरी पुगे। उनीहरुसँगै थिए सचिवालयहरु सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल।

काठमाडौं उपत्यको सम्पूर्ण दृश्य देखिने चन्द्रागिरीमा नेकपा नेतृत्व त्यतिबेला पुगेको थियो जतिबेला पार्टीभित्र जिल्ला, जनवर्गीय संगठनको एकीकरण पेचिलो बनिरहेको थियो। ती विषयमा सहमति बन्न सकिरहेको थिएन।

नेकपा शीर्ष नेताहरु त्यो रात चन्द्रागिरीमै बास बसे। राजनीतिक बैठक गरे। पार्टी एकीकरणलाई अघि बढाउन ओलीले प्रचण्डलाई त्यहाँ राखेको प्रस्ताव थियो, ‘जनवर्गीय संगठन र जिल्ला संगठनमा मिलेर जाऊ।’

बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई समावेश नगरिएको त्यो बैठक आफैँमा अर्थपूर्ण थियो। नेपाललाई बाहिरै राखेर अघि बढ्ने ओलीको प्रस्ताव प्रचण्ड मान्न तयार भएनन्।

पूर्व एमालेभित्र मापदण्डको विषयलाई लिएर नेपाल र ओलीबीच मतभिन्तना रहेको अवस्थामा प्रचण्डको यो निर्णयको ठूलो अर्थ थियो। यसको सिधा फाइदा माधवकुमार नेपाललाई भयो। उनले जिल्ला र जनवर्गीय संगठनहरु एकीकरण हुँदा आफ्नो पक्षमा तुलनात्मक रुपमा राम्रो पकड बनाउन सके।

असार ७ मा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवलायका बैठक बस्यो। त्यसको मुख्य मुख्य विषय थियो राजनीतिक प्रतिवेदन सार्वजनिक गर्ने। बैठकमा अध्यक्ष ओलीले प्रस्ताव ल्याए, ‘एकता महाधिवेशनसम्मका लागि पार्टीको दस्ताबेजमा जनताको बहुदलीय जनवाद(जबज) नै लेखेर जाने।’ त्यतिबेला बैठकमा ओलीसँग उप प्रधानमन्त्री ईश्वर पोखरेलको मात्रै थिए। प्रचण्डलाई निस्तेज पार्न ओलीले रणनीतिक रुपमा त्यो प्रस्ताव ल्याएका थिए। पार्टी एकीकरण हुने समयमा माधव नेपाल स्वयं जबजको पक्षमा दृढ देखिएका थिए। यो प्रस्तावमा नेपालको समर्थन रहने ओलीको आँकलन थियो। तर यो पटक नेपालको अडान बद्लियो। एकीकरण समयमा जबजको पक्षमा उभिने नेपालले ओलीलाई साथ दिएनन्। उनी प्रचण्डको पक्षमा उभिए। नेपालको निर्णयले अन्ततः नेकपा ‘समाजवाद उन्मुख जनताका जनवाद’मै फर्कियो।

विषयवस्तुलाई आधारित भएर हेर्दा प्रचण्ड र नेपालबीच निकटा देखाउने यी दुई उदाहरण हुन्। प्रचण्ड–नेपाल निकटताको यो विषय नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई झस्काउने मुख्य विषय पनि हो।

एकीकृत पार्टीलाई तीन ध्रुवबाट दुई बनाउन प्रयास भइरहँदा नेकपाभित्र दाहाल र नेपालबीच सहकार्यका विषयहरु विस्तारित हुँदै गएका हुन्। संगठनमा नेपाल अनुकुल हुने मापदण्ड तयार गर्न प्रचण्डले गरेको सहयोग र राजनीतिक दस्तावेजमा प्रचण्डले पाएको साथले सत्तारुढ पार्टीभित्र नयाँ राजनीतिक ध्रुवीकरणमा अर्थपूर्ण पस्थिति बन्दै गएको छ।

सरकारप्रति घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दै गएको प्रतिकुल परिस्थितिले ओलीको शक्ति दुवैतिर ह्रास हुँदै गएको देखाउँछ। शक्तिशाली हुँदा आफ्नो सानो गुटबाट सञ्चालित हुने ओली पछिल्लो समय पार्टी पंक्तिको आवाज सुन्न बाध्य भएका छन्। यसकै परिणामस्वरुप गत हप्ता पार्टी एकीकरणपछि पहिलो पटक नेकपा सांसदहरुले आफ्नो भनाइ संसदीय दलमा राख्ने मौका पाए।

यहाँ रोचक पक्ष के छ भने प्रचण्ड र नेपाल दुवै नेता पार्टी अध्यक्षका आकांक्षी हुन्।

‘प्रचण्डको साथ नभएको भए नेपालले जिल्ला नेतृत्वबारे उठाएको विषय पारित हुने सम्भावनै थिएन’, नेकपाका एक स्थायी कमिटी सदस्यले नेपालखबरसँग भने।

‘नेपालले बरिष्ठताका आधारमा जिल्ला नेतृत्व दिनुपर्ने अडान राख्दै आउनु भएको थियो। अध्यक्ष दाहालले त्यसलाई समर्थन गरिदिँदा त्यो पारित हुनसक्यो,’ नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘यसले दुवै नेताहरुबीच निकटता बढाएको छ।’

जिल्ला एकीकरणको समयमा पूर्व एमालेको भागमा परेको ४४ अध्यक्षमा ओली समूहका २५ र नेपाल समूहका १५ जना परेका थिए। ३३ सचिवमा ओलीनिकट ८ जना रहँदा नेपालनिकट २२ जना परे। दुवै पदको हिसाबमा ओली–नेपालको हाराहारी सन्तुलन छ। चार अध्यक्ष र तीन सचिव भने तटस्थ छन्। यसअघि प्रदेश पदाधिकारी चयनमा भने नेपाल पक्षको सहभागिता कमजोर थियो।

पूर्व माओवादीतर्फ ३३ अध्यक्ष र ४४ सचिवमा अध्यक्ष प्रचण्ड पक्षधर क्रमशः २७ र ३५, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ निकट ५ र ९ जना छन्। प्रवक्ता नारायणकाजी श्रेष्ठनिकट अध्यक्ष एक जना परे पनि सचिवमा कोही समेटिएनन्।

त्यसअघि जिल्ला नेतृत्वमा भाडबण्ड मिलाउन पटक–पटक कोसिस हुदा ओलीको प्रस्ताव अस्वीकृत भएको थियो। ओलीको प्रस्ताव जस्ताको तस्तै प्रचण्डले स्वीकार गरेको भए नेपाल पक्षले ३ जिल्लामा अध्यक्ष, ६ जिल्लामा सचिव मात्र पाउने स्थिति थियो।

‘बेवास्ता गर्न सक्ने अवस्था छैन’
ओलीविरुद्ध प्रचण्ड र नेपाल एकजुट भएर अघि बढ्दै गए पनि नेकपाभित्र एकले अर्कोलाई पूरै बेवास्ता गरेर जानेसक्ने अवस्था भने छैन। ‘ओलीसँग मिलेर अघि नबढ्दासम्म पार्टी एकीकरणको विषय पूरा गर्न सकिँदैन’ पूर्व माओवादीका एक स्थायी कमिटीका सदस्य भन्छन्, ‘माधव नेपालको साथ छाड्ने हो भने आफैँ सकिने अवस्था आउन सक्छ। दुवैतिर सन्तुलन बनाएर अघि बढ्नु पर्ने अवस्थामा छ।’ उनका अनुसार वार वा पारको अवस्था सिर्जना गरेर हिँड्न अहिलै नै कठिन छ।

पछिल्लो समयमा ओलीसँग दस्तावेज र शान्ति प्रक्रियाका बाँकी विषयहरुलाई टुंग्याउने विषयमा सहमति भएपछि ओली र प्रचण्डबीचको बढ्दो दूरी केही मथ्थर भएको छ। पार्टी एकीकरणका बाँकी रहेको विषय र आगामी महाधिवेशनलाई समेत असर गर्ने केन्द्रीय नेताहरुको जेम्मवारी बाँडफाँटको विषयमा भने निर्णय हुन बाँकी छ।

‘शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने विषय र दस्तावेजका विषयमा दुवै नेताहरुबीच सहमति भएको छ। यसले बढ्दो दूरीलाई ब्रेक लगाएको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘सहमति भैसकेको विषयलाई लिएर दुई तीन दिनभित्र सचिवालयको बैठक बस्दैछ। त्यो बैठकले ती विषय पारित गर्नेछ अनि जिम्मेवारी बाँडफाँटका विषयमा आउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .