साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन्। पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन सुरु गरेका हुन्।
उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा लगाएका छन् । यसभन्दा अघि विभिन्न पेशा तथा व्यवसायमा आबद्ध उनीहरु आफ्नै लगानीमा गाउँमै स्वरोजगार हुने उद्देश्यले माछापालन सुरु गरेका हुन्।
पौरखी माछापालन समूह नामको आधिकारिक संस्था दर्ता गरेर सुरु गरिएको पोखरीमा पहिलो चरणमा २२ हजार माछाका भुरा हालिएको संस्थाका सचिव सन्तराज राईले बताए। ‘अहिले एउटा माछा आधा केजीसम्मको भएको छ’, उनले भने, ‘आगामी भदौ पहिलो हप्तादेखि बिक्री गर्ने योजना बनाएका छौँ ।’
प्रतिव्यक्ति एक हजार आठ सय रुपैयाँका दरले लगानी गरेर सुरु गरिएको माछापोखरीमा अहिले रहरलाग्दा किसिमको माछा देख्न सकिन्छ। व्यावसायिकरूपमा लगाइएको माछा हेर्न स्थानीयदेखि बाह्य कृषकसमेत आउने गरेको उनीहरुको भनाइ छ। प्रत्येक दिन बिहान, दिउँसो र बेलुका गरी दिनमा तीनपटक घाँस लगाउनुका साथै हेरचाह गर्ने व्यवस्था मिलाइएको संस्थाका अध्यक्ष महेन्द्र राईले बताए। ‘अहिले हामी आफैँले समय मिलाएर हेरचाह गर्दै आएका छौँ’, उनले भने, ‘आगामी दिनमा अन्य युवालाई समेत रोजगारी दिने उद्देश्यले थप विस्तार गर्ने तयारी गरिएको छ ।’
चौध रोपनी क्षेत्रफल जग्गा रहेको उक्त ठाउँमा अहिले पहिलो चरणमा सात रोपनी जग्गामा मात्र पोखरी निर्माण गरेर माछापालन गरिएको छ। अहिलेसम्म कसैको सहयोगविनै सुरु गरिएको माछापालन व्यवसायलाई आगामी भदौसम्ममा थप विस्तार गर्ने तयारी गरिएको समूहले जनाएको छ।
प्रतिकिलो ४ सय ५० देखि ५ सय रुपैयाँसम्ममा पोखरीमै बिक्री हुने उक्त कमनकार्प र ग्रासकार्प प्रजातिको माछा रतन्छाका सबै भू–भागमा हुने साकेला गाउँपालिकाका कृषि प्राविधिक गणेश राईले बताए। “रतन्छामा भौगोलिकरूपमा पारिलो घाम र पर्याप्त पानीको स्रोत तथा माछाका लागि उपयुक्त घाँस पाइन्छ’, उनले भने, ‘स्थानीय युवाले शुरु गरेको व्यावसायिक माछापालन छोटो समयमै प्रभावकारी बन्दै गएको छ ।’
स्थानीय युवा आफैँले कुटो र कोदालो प्रयोग गरेर निर्माण गरिएको माछापोखरीमा अहिलेसम्म नगद लगानी रु एक लाख ५० हजार मात्र भएको जनाइएको छ । उनीहरुले दुई वर्षअघि व्यावसायिक माछापालनका लागि पोखरी निर्माण शुरु गरे पनि गत वर्ष मात्रै सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित मत्स्यपालन तथा प्रवद्र्धन केन्द्रबाट खरीद गरेर ल्याइएको भुरा लगाएका हुन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने रतन्छाका स्थानीयवासीले यसअघिदेखि नै आ–आफ्नो घर नजिकै पोखरी निर्माण गरेर माछापालन गर्दै आएका छन् । उनीहरुले लामो समयदेखि माछापालन व्यवसाय गर्दै आए पनि संस्थागतरूपमा दर्ता गरेका थिएनन् ।
माछाका लागि उर्वरभूमि रहेको रतन्छालाई माछाको स्रोत केन्द्र बनाउने लक्ष्यका साथ गाउँपालिकाले योजना बनाएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए। गाउँपालिका प्रमुख खड्काका अनुसार रतन्छामा यस वर्ष मात्रै दुई लाख बढी कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा वितरण गरिएको छ।
प्रतिक्रिया